‘एकदिन विद्युत आपूर्ति बन्द हुँदा औद्योगिक क्षेत्र ठप्प हुने अवस्था कसरी आयो’

विराटनगर । नेपाल विद्युत प्राधिकरणको गतिविधि प्रति प्रदेश १ का उद्योगी व्यवसायीले आशंका व्यक्त गरेका छन ।

गत मंगलबार देखि ३ दिनसम्म भारतबाट आयातित विद्युत आपूर्ति अप्रत्यासितरूपमा बन्द भएको जनाई प्राधिकरणले उद्योगहरूमा विद्युत आपूर्ति ठप्प पारिदिनाले उद्योग कलकारखाना बन्द गर्नु परेको उनीहरूले बताए ।

शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै उद्योग परिसंघ, उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले विगत लामो समय देखि तरलताको चरम अभाव, परिवर्तित बैंकिङ नीति, वढदो व्याजदरले प्रभावित भइरहेको उद्योग व्यवसाय क्षेत्र, पूर्वसूचना विनानै अचानक विद्युत अवरुद्धहुँदा थप प्रताडित भएको उल्लेख गरेका छन् ।

‘पछिल्लो समयमा प्रायः दैनिक जसो सरकार तथा सम्बन्धित निकायका जिम्मेबार पदाधिकारीहरूबाट नेपालमा प्रशस्त विद्युत उत्पादन भइरहेको र उद्योग व्यवसायको माग बमोजिम विद्युत आपूर्ति हुन्छ भन्ने आश्वासन दिई लगानी बढाउन प्रेरित गरिएको थियो’, विज्ञप्तिमा भनिएको छ, ‘सोही आश्वासन बमोजिम नीजि क्षेत्रले पछिल्लो दिनमा औद्योगिक गतिविधि एवं लगानी बढाउदै लगेको अवस्थामा प्राधिकरणबाट भएको गतिविधिले केही सशंकित बनाएको छ ।’

हिजोसम्म मागे जति विद्युत दिन्छौ, हामी विद्युत निर्यात गर्ने अवस्था पुग्यौँ भन्ने तर आज भारतबाट एकदिन विद्युत आपूर्ति अवरुद्ध हुँदा सबै औद्योगिक क्षेत्र ठप्प पार्नुपर्ने अवस्थाले हाम्रो ऊर्जाको वास्तविक क्षमता उजागर गरेको उद्योगी व्यवसायीको गुनासो छ । सबै सम्बद्ध पक्ष जिम्मेबार भै तत्कालको ऊर्जा संकट समाधान गर्दै ऊर्जामा आत्मनिर्भर हुने गरि उत्पादन, पूर्वाधार तथा वितरण प्रणालीको चुस्त व्यवस्थापन गर्न सरकार तथा जिम्मेबार निकायलाई उनीहरूले अपिल गरेका छन् ।

उद्योग परिसंघका प्रदेश १ अध्यक्ष भिम घिमिरे, उद्योग संगठन मोरङका अध्यक्ष सुयेशराज प्याकुरेल र मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाले संयुक्त जारी गरेको बिज्ञप्तीमा औद्योगिक क्षेत्रमा ऊर्जा अभाव हुन नदिने र लोडसेडिङ नगर्ने प्रतिबद्धता प्राधिकरणबाट व्यक्त हुनुले भने केही आशा गर्ने ठाउँ रहनुले नीजि क्षेत्रको मनोवल उँचो बनाएको उल्लेख गरेका छन् । संकटपूर्ण अवस्थामा प्राधिकरणबाट नीजि क्षेत्रलाई ढाडस दिने काम भएको उनीहरूको भनाई छ।

साथै वर्तमान चूनौतिपूर्ण अवस्थामा सरकार, प्राधिकरण एवं सम्बन्धीत निकायले जिम्मेबारी एवं जवाफदेहिता बहन गर्दै विद्युत आपूर्ति अवरुद्ध भई उद्योग व्यवसाय ठप्प हुने अवस्थामा राष्ट्रले व्यहोर्नुपर्ने क्षतिलाई मध्यनजर गर्दै हाल देखिएको ऊर्जा संकटलाई अविलम्ब समाधान गरी उद्योगहरूमा निरन्तर विद्युत आपूर्तिको व्यवस्थाका लागि अनुरोध गर्दछौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *