दिनेश काेइराला भन्छन्- पवित्र गठबन्धनभित्र अपवित्र ‘स्वार्थ’ लुकेकाे छ

काठमाडाैँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश काेइरालाले पवित्र गठबन्धनभित्र अपवित्र ‘स्वार्थ’ लुकेकाे बताएका छन् । शुक्रबार केन्द्रीय समिति बैठकमा सहभागी हुने क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै काेइरालाले यस्ताे बताएका हुन् । ‘गठबन्धन आफैँमा पवित्र शब्द हाे,’ काेइरालाले भने— ‘गठबन्धन, सहकार्य अनि एकता भनेकाे पवित्र नै हाे । तर, पवित्र गठबन्धनभित्र अपवित्र स्वार्थ लुकेकाे हुन्छ ।’

यस्तै उनले यत्तिबेला नै कांग्रेसले एक्लै लड्नुपर्ने बताएका छन् । ‘नेकपा पनि फुट्याे, एमाले पनि फुट्याे,’ उनले भनेका छन्, ‘यत्तिबेला पनि कांग्रेसले एक्लै लड्दैन भने कहिले लड्छ ?’ स्थानीय तहहरूमा आवश्यकताअनुसार गठबन्धन भएपनि केन्द्रबाटै त्याे लादिनु नहुने उनकाे भनाइ छ ।

यस्तै उनले चितवनमा कांग्रेस-माओवादीबीच गठबन्धन नहुने बताए । काेइराला ०७४ सालमा भरतपुर महानगरपालिकाकाे टिकट खाेसिएका नेता हुन् । दर्जनाैं नेताहरूमध्ये मेयरमा छनाैट भएका उनले ४८ घण्टा नबित्दै टिकट फिर्ता गर्नुपरेकाे थियाे । केन्द्रमा सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति बनेपछि माओवादी केन्द्रकाे भाग परेकाे भरतपुरमा यसपटक भने कांग्रेस एक्लै लड्ने काेइरालाकाे भनाइ छ । ‘कि त माओवादीले ०७४ मा गल्ती भयाे; अब निसर्त: सहयाेग गर्छाैँ भन्नुपर्‍याे । नभए त गठबन्धन हुँदैन,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 10 =