देउवाको कार्यशैलीबाट शेखर कोइराला पक्ष असन्तुष्ट

पार्टीमा परामर्शबिनै नेविसंघ र तरुण दलको अध्यक्ष नियुक्त गरेकोप्रति आपत्ति

काठमाडौँ । बुधबार नेपाली कांग्रेसका दुई भातृसंस्था नेविसंघ र तरुण दल अध्यक्षमा क्रमशः डुजाङ शेर्पा र विद्वान गुरुङ मनोनीत भए । सभापति शेरबहादुर देउवाले मनोनयन गरेको विषय डा. शेखर कोइराला पक्षका लागि भने सरप्राइज भएको छ ।

सभापति देउवाले दुई भातृसंस्थामा अध्यक्ष मनोनयन गरेको पत्र तयार भइरहँदा शेखर पक्ष भने आन्तरिक छलफलका लागि बैठक बसिरहेको थियो । उक्त समूहको एजेन्डामा पनि भातृ संस्थामा गर्नुपर्ने मनोनयनका विषय परेको थियो । बैठकमा भातृसंस्थाका तदर्थ समिति गठनमा सबैलाई समेटेर लैजानुपर्ने निष्कर्ष निकालिरहँदा दुई भातृसंस्थामा भने अध्यक्ष मनोनीत भइसकेका थिए ।

दुई भातृसंस्थाको नेतृत्व चयनमा सभापति देउवाले परामर्श नगरेकोप्रति कोइराला पक्षले आपत्ति जनाएको छ । ‘भ्रातृ संस्थाको नेतृत्व चयन गर्दा सभापतिले परामर्श गर्ने भनी कार्यसम्पादन समितिमा निर्णय भएको हो,’ एक केन्द्रीय सदस्यले भने, ‘को व्यक्ति चयन भयो भन्नेमा हाम्रो आपत्ति छैन । पार्टीमा परामर्श नै नगरी मनोनीत गरेकोमा सबैको असन्तुष्टि रहेको छ ।’

आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको फरक समूहलाई पनि विश्वासमा लिनुपर्नेमा देउवा एक्लै हिँड्न खोजेको कोइराला पक्षको आरोप छ । ‘१४औँ महाधिवेशनमा सभापतिलाई मत नदिनेहरूलाई पार्टीमा कुनै पनि स्थान नदिने नीति उहाँले अंगीकार गर्नुभयो,’ बैठकमा सहभागी ती नेताले भने, ‘संस्थापन इतरका नेता तथा कार्यकर्तालाई छानीछानी किनारा पार्ने काम भएको छ । यो विषयमा केन्द्रीय समितिको बैठकमा पनि सशक्त कुरा उठाउँछौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *