माग पूरा नभए ग्यास, पेट्रोलियम र ढुवानी बन्द गर्ने व्यवसायीको चेतावनी

रुपन्देही । पश्चिमाञ्चल क्षेत्रका एलपी ग्यास, पेट्रोलियम र ट्याङकर ब्यवसायीहरुले आफूहरुको ६ बुँदे माग पूरा नभए बिक्री तथा ढुवानी सेवा ठप्प पार्ने चेतावनी दिएका छन् । ती व्यवसायीहरुको संगठन राष्ट्रिय पेट्रोलियम व्यवसायी संस्थागत समन्वय समितिले नेपाल आयल निगम केन्द्रीय कार्यालय समक्ष प्रस्तुत गरेका माग पूरा गराउन घोषणा गरेका आन्दोलनका कार्यक्रम शसक्त बनाउने भएका छन् ।

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका सचिव तथा आन्दोलन परिचालन समितिका संयोजक हिमाल गैरेको समन्वयमा पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनको सभाहलमा बुधबार आयोजित छलफल कार्यक्रममा सहभागी ग्यास, पेट्रोलियम र ट्यांकर व्यवसायीले माग पूरा गराउन आन्दोलनका कार्यक्रम प्रभावकारी र शसक्त बनाउने बताएका हुन् ।

कार्यक्रममा राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले आयल निगमसमक्ष प्रस्तुत गरेका ६ बुँदे माग र आन्दोलनका कार्यक्रमप्रति लुम्बिनी प्रदेश ग्यास उद्योग समन्वय समिति, पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसन र पश्चिमाञ्चल ट्यांकर व्यवसायी संघले ऐक्यवद्धता जनानाएका छन् । माग पूरा नभएसम्म यस क्षेत्रमा ग्यास तथा पेट्रोलियम पदार्थको विक्री वितरण तथा ढुवानी पूर्णरुपले बन्द गर्ने निर्णय गरेका छन् ।

छलफलमा नेपाल एलपी ग्यास उद्योग संघका वरिष्ठ उपाध्यक्ष शंकरप्रसाद श्रेष्ठ, पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसन आन्दोलन परिचालन समितिका संयोजक हिमाल गैरे, पश्चिमाञ्चल ट्यांकर व्यवसायी संघका महासचिव भूपराज अर्याल, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन केन्द्रीय सदस्यहरु राजु न्यौपाने, हरिराम कसौधन, दीपक भट्टराई, आन्दोलन परिचालन समितिका सदस्य वीरेन्द्र यादव, लोकप्रसाद भुसाल, ट्याङ्कर व्यवसायी संघका सह महासचिव प्रेम घर्ती मगरलगायतले उक्त ६ बुँदे माग चाँडै पूरा गर्ने सरकारसँग माग गरे ।

उक्त ६ बुँदे माग पत्रमा राष्ट्रिय पेट्रोलियम ब्यवसाय संस्थागत समन्वय समितिले निगम समक्ष तत्काल पेट्रोलियम ऐन बनाई लागु गर्न माग गरिएको छ । त्यस्तै, आयल निगमको एलपीजी र विक्रेता विनियमावली तथा ढुवानी नियमावली सम्वन्धित ब्यवसायी संस्थाको प्रतिनिधि सहितको सहभागितामा परिमार्जन र शंसोधन गर्नुपर्ने, यातायात क्षेत्रमा लागु गरेको वैज्ञानिक भाडादर पेट्रोलियम ढुवानीमासमेत लागु गर्नुपर्ने माग गरेको छ ।

यस्तै पेट्रोलियम विक्रेताले प्रतिशतमा पाउँदै आएको कमिशन स्थगन गरिएकाले स्थगन गरिएकै मितिदेखि लागु हुनेगरी साविकको व्यवस्था अनुसार कायम गर्न तथा पेट्रोलियम विक्रेताले प्राप्त गर्नुपर्ने प्राविधिक नोक्सानी नापतौल तथा गुणस्तर विभागका महानिर्देशकको संयोजकत्वमा गठित अध्ययन समितिको प्रतिवेदन अनुसार लागु गर्नुपर्ने माग गरिएको छ ।

डिजेलको मूल्य अत्याधिक वृद्धि भएता पनि एलपी ग्यास ढुवानी गर्ने बाह्य तथा आन्तरिक साधनको भाडा समायोजन नभएकाले तत्काल भाडा समायोजन गर्न तथा आगामी दिनमा डिजेलको मूल्य अनुपातमा बढ्दा बढ्ने र घट्दा घट्ने गरी स्वचालित ढुवानी भाडा कायम गर्ने ब्यवस्था लागु गर्न माग गरिएको छ ।

समन्वय समितिले निगम समक्ष प्रस्तुत गरेका माग पूरा नभए २० चैतदेखि चरणवद्ध आन्दोलन गर्ने घोषणा गरेको छ ।

यस क्षेत्रका एलपी ग्यास, पेट्रोलियम र ट्याङ्कर व्यवसायीले बुधबार नै मागहरु पूरा गराउन आग्रह गर्दै र माग पूरा नभए आन्दोलन सशक्त वनाउने जानकारीसहितको ज्ञापन पत्र रुपन्देहीका प्रमुख जिल्ला अधिकारी र नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुखलाई बुझाएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + seven =