जीवनको उत्तरार्धमा जेष्ठ नागरिकलाई ‘खुसीको यात्रा’

धनगढी । अछामको साँफेबगर नगरपालिका वडा नम्बर १४ पातलकोटका ७५ वर्षीया लिला खड्काले काठमाडौँ, त्यहाँको प्रशिद्ध धार्मिकस्थल पशुपतिनाथ मन्दिर, पोखरालगायतका ठाउँहरूको नाम मात्रै सुनेकी थिइन् । उनले त्यहाँसम्म पुग्न पाइएला भन्ने सोचेको पनि थिइनन् । तर उनको सपना पूरा हुँदैछ ।

साँफेबगर नगरपालिकाले उनीसहित नगरका २८ जना जेष्ठ नागरिकलाई देशका विभिन्न स्थानका प्रशिद्ध धार्मिकस्थलको भ्रमण गराउँदैछ । जसको नाम दिइएको छ, ‘खुसीको यात्रा’ । जुन यात्रा मंगलबारदेखि शुरू भएको छ ।

‘जीवनको उत्तरार्धमा पनि घुम्न पाइएला र विभिन्न धार्मिकस्थलको दर्शन गरिएला भन्ने कल्पना पनि गरेकी थिएन,’ खड्का भन्छिन्, ‘अब कतिबेला काठमाडौँमा पुगेर पशुपति नाथको दर्शन गरूँला र अन्य ठाउँमा पनि पुगौँला भनेर खुल्दुली भएको भएको छ ।’

‘जेष्ठ नागरिकसँग नगरप्रमुख’ कार्यक्रम अन्तर्गत नगरपालिकाले जेष्ठ नागरिकलाई भ्रमण गराइरहेको हो । जीवनको उत्तरार्धमा नजिकको सरकारले वृद्धवृद्धालाई सम्झेकोमा उनीहरूले खुसी व्यक्त गरेका छन् । देशकै प्रमुख तिर्थस्थल पशुपतिनाथलगायतका धार्मिक स्थलको दर्शन गर्न जान पाएकोमा आफूसहित सबै वृद्धवृद्धाहरू खुसी भएको ७५ वर्षीय कृष्णबहादुर भाटको भनाइ छ । ‘राज्यले जेष्ठ नागरिकका लागि अहिलेसम्म भत्ताबाहेक अन्य केही व्यवस्था गर्न सकेको थिएन्,’ उनी भन्छन्, ‘अहिले साँफेबगर नगरपालिकाले भ्रमणमा लिएकोमा धन्यवाद छ । यो हामी वृद्धवृद्धाका लागि खुसीको कुरा हो ।’

जीवनको उत्तरार्धमा देशका धार्मिक स्थलको भ्रमणमा जानु पाउँदा खुसी महशुस भएको साँफेबगर नगरपालिका वडा नं। ९ बुढाकोटका पदमसिंह कुँवरले बताए । उनले स्थानीय सरकारले धार्मिक स्थलहरूको भ्रमणमा लिएर वृद्धवृद्धालाई सम्मान गरेको बताए ।

यो भ्रमण जेष्ठ नागरिकको सम्मान र उनीहरूको रहर पूरा गर्नका लागि ‘खुसीको यात्रा’ अभियान थालिएको साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले बताए । उनले भ्रमणका क्रममा वृद्धवृद्धाहरूले देशको राजधानी देख्न पाउनुका साथै पशुपतिनाथलगायतका धार्मिकस्थलहरूको दर्शन गर्ने पाउने बताए । उनका अनुसार बृृद्धबृद्धाहरूलाई डोटीको शैलेश्वरी मन्दिर, डडेल्धुराको उग्रतारा मन्दिर, नेपागञ्जको बागेश्वरी मन्दिर, लुम्बिनी, नवरपरासीको मन्दिर, पशुपतिनाथको दर्शन, केबुलकारको यात्रा, काठमाडौँबाट फर्कदा पोखरा, बुटवल, सुर्खेतको भ्रमण गराइने छ ।
ज्येष्ठ नागरिकलाई देवतासरह सम्मान दिनुपर्छ भन्ने सन्देश साँफेबगर नगरपालिकाको रहेको भन्दै नगर प्रमुख कुँवरले यसले परिवार र समाजमा पनि खुसियाली ल्याउने विश्वास व्यक्त गरे । यो भ्रमणले वृद्धवृद्धाहरूले देशको अवस्थाको बारेमा पनि जानकारी पाउने नगर प्रमुख कुँवरले बताए ।

वृद्धवृद्धाहरूलाई धार्मिकस्थलको भ्रमण यात्राका लागि विदाई गर्दै नगरपालिकाकी उपप्रमुख विर्मलादेवी बुढ्थापाले जीवनको उत्तरार्धमा भएको भ्रमणले उनीहरूमा सकारात्मक उर्जा थपिने बताइन् । वृद्धवृद्धालाई जीवनको उत्तरार्धमा मेरो कोही छैन भन्ने भावना नराख्न आग्रह गर्दै उनले भनिन्, ‘तपाईंहरूको साथमा हामी छौं । नगरपालिका छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *