को बन्ला चेल्सीको नयाँ मालिक ?

रसियाले युक्रेनमाथि गरेको सैनिक कारवाहीको प्रतिक्रियास्वरूप रुस र त्यहाँका नागरिकमाथि विश्वका धेरै देशहरूले विभिन्न किसिमका प्रतिबन्ध लगाए । बेलायती सरकारले इंग्लिश फुटबल क्लब चेल्सीका रसियन मालिक रोमन अब्रामोबिचमाथि लगाएको प्रतिबन्धलाई त्यसैको एउटा कडीका रूपमा लिन सकिन्छ । २४ फेब्रुअरीका दिन रुसले युक्रेनमाथि सैन्य कारवाही शुरू गरेको थियो ।

रुसले आक्रमणको क्रमलाई जारी राखेपछि १० मार्चका दिन बेलायतले चेल्सी फुटवल क्लवका मालिक अब्रामोबिच माथि प्रतिबन्ध लगाउँदै बेलायतमा भएको उनको सबै सम्पत्ति रोक्का गरिदिएको थियो । उनीमाथि यात्रा गर्नबाट समेत प्रतिबन्ध लाग्यो । रुसलाई युक्रेनमाथि आक्रमण गर्नका लागि आर्थिक सहयोग उपलव्ध गराएको गम्भीर आरोप उनीमाथि बेलायतले लगाएको छ ।

अब्रामोबिच माथिको प्रतिबन्धको सबैभन्दा ठूलो मार भने चेल्सी फुटबल क्लवले भोग्नुपर्ने देखिएको छ । अब्रामोबिचसँगै चेल्सी फुटबल क्लवमाथि पनि प्रतिबन्ध लागेपछि यसको बिक्री प्रक्रिया अगाडि बढाउन समेत मुश्किल देखिएको छ । यद्यपि चेल्सीका मालिक अब्रामोबिचले क्लब बिक्रीका लागि सार्वजनिक रूपमा आह्वान गरिसकेका छन् ।

चेल्सीको बैंक खाता समेत रोकिएका कारण अब बेलायती सरकारले बनाएको विशेषखाले ‘रसियन रेगुलेसन’ मातहत रहेर खेलाडी र कर्मचारीहरूको न्युनतम पारिश्रमिक उपलब्ध गराइनेछ । त्यसबाहेक क्लबले खेलाडी किन्न वा बेच्ने कुनै प्रक्रिया अगाडि बढाउन पाउनेछैन । अझ सिजनको अन्त्यमा खेलाडीहरूको करार नविकरण ‍गर्ने समयमा चेल्सीको समस्या झनै गहिरिन सक्नेछ किनभने केही प्रमुख खेलाडीहरूको सम्झौता यसै सिजनको अन्त्यमा समाप्त हुँदैछ । साथै चेल्सीको प्रायोजनसम्बन्धी केही सम्झौताहरू पनि यसबाट प्रभावित हुन सक्नेछन् ।

चेल्सीले आगामी दिनहरूमा खेल्ने खेलहरूमा कुनै रोकावट नभए पनि उसले नयाँ टिकट बेच्न पाउने छैन । पूरा सिजनको टिकट लिएकाहरूले मात्र आगामी खेल हेर्न रङ्गशालामा प्रवेश पाउनेछन् । त्यस्तै चेल्सीको कुनै प्रकारको खेल वा प्रचारसामग्री बेचबिखन गर्नमा समेत प्रतिबन्ध लगाएपछि अहिले युरोपियन च्याम्पियन टोली गम्भीर आर्थिक संकटमा परेको छ ।

प्राप्त सूचनाअनुसार चेल्सीको बिक्री प्रक्रिया शुरू भइसकेको छ । यस प्रक्रियामा झण्डै २ सय फरक–फरक व्यक्ति र समूहहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहभागी भएको हल्लाले समेत व्यापकता पाएको थियो तर विश्वका केही चर्चित घनाढ्यहरूसहित ६–७ जनाको नाम चेल्सीको सम्भावित उत्तराधिकारी रूपमा अहिले चर्चामा छ ।

अमेरिकन बेसबल लिग क्लब सिकागो कब्स्‌का स्वामित्व रहेको दी रिकेट्स फेमेली चेल्सी क्लब किन्न सक्ने एक प्रमुख उमेदवार रहेको बताइएको छ । उनलाई अमेरिकन हेज फण्ड लगानीकर्ता अर्बपति केन ग्रिफिनले साथ दिएको समाचार छ । अमेरिकाकै लक्जरी प्रपर्टी डेभलपर अर्बपति निक क्यान्डी पनि चेल्सीको सम्भावित खरिदकर्ताका रूपमा चर्चामा छन् । निक क्यान्डी चेल्सी क्लवको ‘डाईहार्ड फ्यान’ का रूपमा समेत प्रख्यात छन् ।

ब्रिटिश एयरवेजका पूर्वअध्यक्ष सर मार्टिन ब्रोटनले लर्ड सबास्टियन कोएको सहयोगमा चेल्सी खरिद प्रक्रियामा सहभागी भएको समाचार बाहिर आएको छ । अमेरिकाका रियलस्टेट टाइकुन अर्बपति टोड बोएलीसँगको साझेदारीमा स्वीस अर्बपतिद्वय हान्सजोर्ग वीस र जोनाथन गोल्डस्टेनले राखेको प्रस्ताव रोमन अब्रामोबिचले अझै स्वीकार नगरेको समाचार पनि बाहिर आएको छ ।

अर्का अमेरिकन अर्बपति एवं बेलायतका लागि पूर्व अमेरिकी राजदूत उडी जोन्सनको नाम पनि चेल्सी खरिद प्रक्रियामा जोडिएको छ । उनी अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष सहयोगी हुन् । यसबाहेक साउदी अरेबियाको राजपरिवार नियन्त्रित साउदी मिडिया ग्रूपले पनि चेल्सी क्लवमाथि विशेष चासो देखाइरहेको समाचार आए पनि सो समूहले चेल्सीको स्वामित्व पाउन कठिन रहेको विश्लेषण विज्ञहरूले गरेका छन् ।

सन् २००३ मा १.४० बिलियन पाउण्ड खर्च गरेर अब्रामोबिचले यो क्लब खरिद गरेको अनुमान गरिएको छ । अहिले चेल्सी फुटबल क्लवको ब्राण्ड भ्याल्यू र सम्पत्तिहरूको अध्ययन गरेर विश्लेषकहरूले यसको बिक्रीमूल्य ४ बिलियन डलरको हाराहारीमा राखिएको अनुमान गरेका छन् । तर क्लब बिक्रीबाट प्राप्त हुने पैसा रोमन अब्रामोबिच वा रसियाको हात पर्ने छैन भन्ने कुरामा बेलायती सरकारलाई अब्रामोबिचले आश्वस्त पारेपछि मात्र बिक्री प्रक्रिया अगाडि बढ्न सक्ने प्रावधानका कारण यो सम्पूर्ण प्रक्रिया नै तत्कालका लागि अनिश्चित देखिएको छ । तर बेलायत सरकार पनि ‘सर्प पनि मरोस् अनि लट्ठी पनि नभाँचियोस्’ भन्ने नीतिलाई आत्मसात गरेर मध्यमार्गको खोजीमा रहेको अनुमान गर्न गाह्रो हुन्न । स्राेतः INS न्युज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *