पुनः वाम एकता : चर्चा मात्र कि सम्भव पनि ?

काठमाडौँ । नेपालका वामपन्थी दलहरू जुट्नभन्दा फुट्नमा कहलिएका छन् । तर धेरैलाई चकित बनाउँदै ०७४ सालमा नेपालका दुई ठूला वामपन्थी दलहरू नेकपा (एमाले) र नेकपा (माओवादी) बीच चुनावी तालमेल हुँदै पार्टी एकीकरकण नै भयो । तर, मिलेर ०७४ सालकाे राष्ट्रिय निर्वाचन लडेपछि दुईतिहाइ नजिक जनमत बटुलेका यी दुई दलबीचको एकता फेरि विभाजनमै पुगेर टुङ्गियाे । उनीहरू अन्ततः पूर्ववत् अवस्थामै फर्किए । मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी [नेकपा] फुट्यो र पुनः एमाले र माओवादी केन्द्र पुनः ब्यूँतिए ।

अहिले यी दुई दल ‘पानी बाराबार’ कै अवस्था छन् । दलका शीर्ष नेतादेखि तल्लो तहसम्मको तिक्तता अलिकति पनि कम भएको छनकसम्म पाइँदैन । सभा/सम्मेलनहरूमा एमाले अधयक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिने गरेकाे अभिव्यक्तिहरूले यसको पुग्दो प्रमाण दिन्छन् । उसाे त यत्ति हुँदाहुँदै पनि पछिल्लो समय पुनः वाम एकताको चर्चा सतहमा आएकाे छ । खासगरी माओवादी केन्द्रका केही नेताहरू र एमालेकै घनश्याम भुसाललगायतका नेताहरूले यसकाे उठान गरिरहेका छन् ।

हिजाेकाे वाम एकता गल्ती थिएन, एकता टुट्नु ‘ब्लन्डर’ भयाे ।

जसै ०७४ सालको एकता पनि आफ्नै पहलपछि सम्भव भएको दाबी गर्दै आएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फेरि पनि यसतर्फ जानुको विकल्पसमेत नभएको बताउँदै आएका छन् । चैत ३ गते सुर्खेतमा प्रचण्डले भनेका थिए— ‘तत्काल एमालेसँग एकताको सम्भावना छैन । तर, राजनीतिमा असम्भव भन्ने पनि केही हुँदैन । एमालेसँग एकता हुँदैन, तालमेल नै हुँदै भन्नेचाहिँ हुँदैन । यो टाढाको कुरा होइन ।’

भलै धेरैले प्रचण्डले यो भनाइ गठबन्धन गर्न नहुनेमा जोड दिँदै आएका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालगायतका नेताहरूलाई ‘एमालेसँग माओवादी मिल्न सक्ने सम्भावना छ’ भन्ने देखाउनलाई हतियारका रूपमा बोलेको अर्थमा बुझेका छन् ।

हुन त एमाले-माओवादीका प्रायः शीर्ष नेताहरूले वाम एकता टुट्नुलाई ‘ब्लन्डर’ भन्ने गरेका छन् । सबै नेताहरूको वाम एकताबारेको निष्कर्ष यही भएपनि उनीहरूले पुनः जोडिनेतर्फ भने सोचेको पाइँदैन । नेताहरूले ‘वाम एकता गल्ती थिएन’ भन्दै आए पनि अब यसको बिसौनी कहाँ भन्नेचाहिँ ठम्याउन सक्दैनन् ।

यसअघि माओवादीलाई आठौं राष्ट्रिय महाधिवेशनको शुभकामना दिन प्रज्ञा प्रतिष्ठान पुगेका एमाले महासचिव शंकर पोखरेलले भनेका थिए— ‘हिजोको वाम एकता कुनै पनि हालतमा गल्ती थिएन । कसरी हामी छुट्यौँ, त्यसमा समीक्षा गर्न जरुरी छ ।’ महासचिव पोखरेलको यो भनाइमा ऐक्यबद्धता जनाउँदै प्रचण्डले भनेका थिए, ‘शंकरजीले एकदमै सही भन्नुभयो, अब फेरि त्यतातर्फ किन हामीले नसोच्ने ?’

माओवादी संसदीय दलका नेता देवप्रसाद गुरुङ भन्छन्— ‘हामी हिजो एकठाउँ थियौँ, राम्रो भएको थियो । आज फरक राजनीतिक धरातलमा उभिएका छौँ । तर वामएकता चाहिँ गलत थिएन । यही हाम्रो निष्कर्ष हो ।’ तर, यसपछि पुनः नेताहरूको ध्यान भने एकअर्कालाई गाली गर्नेतर्फ नै गइरहेकाे छ । त्यसयता अहिलेसम्म नेताहरू गालीकै तहमा छन् । उनीहरूले आ-आफ्नाे ध्यान आरोप/प्रत्यारोपमै आकृष्ट गरेका छन्, पुन: एकता गर्नुकाे साटाे ।

वाम एकता टुट्नु ‘ब्लन्डर’ भयो भन्ने साझा निष्कर्ष निकालेर पनि नेताहरूले यसतर्फ किन सोच्दैनन् त ? सचेतक गुरुङ अब पुनः एक हुने सम्भावना तत्कालका लागि नदेखिएकै कारण यसतर्फ नेतृत्वपङ्तिकाे ध्यान नगएकाे बताउँछन् । ‘यो खास नेतृत्वमा भर पर्ने कुरा हो । गठबन्धन गरेर, एकता गरेर एकैखाले शक्ति निर्माण गर्नु त कहिल्यै नराम्रो हुँदैन । अहिले तत्कालका लागि यसकाे सम्भावना देखिँदैन । त्याेखाले वातावरण छैन ।’

पछिल्लो पटक गत सोमबारको पाेलिट्ब्यूराे बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालमा आफूहरूबाहेक कुनै दल ‘वाम’ नभएकाले ‘वाम एकता’ को कुरा नै गलत भएको टिप्पणी गरेका थिए । बैठकमा घनश्याम भुसालहरूकाे वाम एकताकाे प्रस्तावकाे काउन्टरमा ओलीले यसाे भनेका थिए । ओलीले भनेकाे साँचाे हाे त भन्ने प्रश्नमा एक एमाले नेताले भनेका छन्— ‘त्याे सिर्फ एक तर्क हाे, दाबी हाे । यसलाई जसरी पुष्ट्याइँ गर्दा पनि भयाे । तर साेचेर जाने हाे भने धेरै ठाउँहरू छन् । यसमा नेतृत्वपङ्तिले नै साेच्ने हाे भन्ने लाग्छ ।’

०००

माओवादी अध्यक्ष प्रचण्डले कांग्रेसको नेतृत्वमा सरकार बनाएर आफू खुसी नभएको बताउँदै आएका छन् । यसबीचमा प्रचण्डले एमाले अध्यक्ष ओलीसँग पनि छलफल गरेका थिए । उनले विगतमा भएका कमीकमजोरीलाई सच्याउँदै पुनः मिलेर जानुको विकल्प नरहेको बताएका थिए । तर, ओलीसँगै उनीनिकटका नेताहरूले भने प्रचण्डकाे याे प्रयासलाई फरक रूपमा बुझेका छन् । उनले एकता गरेर जानेगरी वार्ता नगरेकाे एमाले नेताहरूकाे आराेप छ । एमाले उपमहासचिव विष्णु रिमालले भने, ‘उहाँ राम्रोगरी पुनः एकतामा बाँधिएर जानलाई सल्लाह गर्न आउनुभएकै होइन जस्तो लाग्छ । उहाँको नियत अरु नै हुन सक्छ ।’

अर्का उपमहासचिव प्रदीपकुमार ज्ञवाली ‘वाम एकता’ काे कुरा प्रचण्डको घुर्की मात्रै रहेको बताउँछन् । ‘उहाँ (प्रचण्ड) को एमालेसँग पुनः एकता गरेर जानुपर्छ भन्ने अभिव्यक्ति नै कपटपूर्ण हो,’ मकालुखबरसँग उपमहासचिव ज्ञवालीले भने, ‘उहाँले त्यो खासमा मिल्नलाई भनेकै होइन । त्यो त कसरी भड्काउन सकिन्छ भनेर मात्रै यसो भन्दै हुनुहुन्छ उहाँ ।’

प्रचण्ड र माधवकुमार नेपालको अहिलेको पहिलो राजनीतिक एजेन्डा नै एमाले सिद्ध्याउने भएको दाबी गर्दै उनले भने, ‘उहाँहरूले एमालेलाई समाप्त पार्नका लागि ठूलो जनशक्ति तयार पारेको देखिन्छ । तर, एमालेले आफ्नै बलबुताले चुनावमा बहुमत ल्याउँछ । हामीले एकल बहुमतका कुरा गरेका छाैँ ।’

भविष्यमा वाम एकता हुनसक्ने कुरा छुट्टै रहेको उपमहासचिव ज्ञवालीको भनाइ छ । ‘भविष्यमा त जे पनि हुन सक्ला,’ उनले भने, ‘तर, अहिलेलाई भने माओवादीसँग तालमेल वा पार्टी एकता सम्भव छैन । यसको सम्भावना एमालेले देखेको छैन ।’ यद्यपि विगतमा भएको वाम एकता भने कहिल्यै गल्ती नभएको उनको निष्कर्ष छ, भन्छन्— ‘विगतमा भएको वाम एकता त गल्ती नै कसरी थियो र ? तर, त्यसलाई टिक्न नदिइकन जसरी भत्काइयो, प्रचण्ड, माधव नेपाल कमरेडहरूले दुईतिहाइ नजिकको सरकारलाई जसरी ढालेर केपी ओलीविरुद्ध वक्तव्यबाजी गर्नुभयो । त्योचाहिँ कहिल्यै राम्रो थिएन । वाम एकता भत्किएकोप्रति त नेताहरूलाई अझै दुःख छ ।’

एमाले संसदीय प्रमुख सचेतकसमेत रहेका नेता विशाल भट्टराई पनि एमालेले माओवादीसँग कुनै खालको गठबन्धन नगर्ने बताउँछन् । ‘यो पटकलाई सम्भावना छैन,’ उनले भने, ‘यसपटकको चुनावमा एमाले एक्लै सरकारमा जान्छ । कोहीसँग कुनैसँग एकता वा गठबन्धन गर्दैन ।’

माओवादीसँग भविष्यमा समेत एकता हुने सम्भावना रहेको उनको आकलन छ । उनी भन्छन्— ‘भविष्यमा पनि माओवादीसँग एकता हुने सम्भावना त कमै होला । अहिलेको अवस्थामा रहेर विश्लेषण गर्ने हो भने एकताको सम्भावना देखिँदैन ।’

०००

गत साेमबार बसेकाे एमाले पोलिट्ब्यूरो बैठकमा नेताहरू घनश्याम भुसाल र रघुजी पन्तले पुनः वाम एकताको प्रस्ताव गरेका थिए । भुसाल र पन्त दुवै गत असार २७ गते बनेको १० बुँदेमा सम्मिलित नेताहरू हुन् ।

तत्कालीन नेकपा पूर्ववत् अवस्थामा फर्किँदा यी दुई नेतासँगै अन्य ८ जना नेताहरू तेस्रो धारमा उभिएका थिए । नेकपाको एउटा धार ओलीले नेतृत्व गरेका थिए भने अर्को धार प्रचण्ड र माधव नेपालले नेतृत्व गरेका थिए । त्यसबेला यी १० नेताहरू कतै पनि उभिएका थिएनन् । यी १० नेताहरूले कुनै पनि हालतमा नेकपा पुन: अस्तित्वमा आउनुपर्ने बताउँदै आएका थिए ।

यसपछि साउन २३ मा सर्वोच्च अदालतले नै पार्टीलाई दुई फ्याक गरिदिएपछि एमालेकै कित्तामा उभिएका यी नेताहरू अहिले एमालेमै पनि फरक विचार राखिरहेका छन् । मंसिर १० देखि १८ गतेसम्म चलेको एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा समेत ओलीले यी भुसाललगायतका नेताहरूलाई ‘ग्र्यान्ड प्लानिङ्’ अनुसार नै हराइको आरोप लगाइएको थियो ।

साेमबारकाे बैठकमा पनि यी नेताहरूले पुनःवाम एकताको माग गरेका थिए । यसअघि नै भुसालले वाम एकताको आवश्यकता रहेको देखाउँदै एक लेख लेखेका थिए । त्यसपछि व्यङ्ग्य गर्दै ओलीले भनेका थिए— ‘कुनै कुनै विद्वानहरुले लेखिदिन्छन्, कम्युनिष्ट पार्टीहरू मिल्ने कि समाप्त हुने ? कम्युनिष्टका खोल ओडेका तथाकथित विद्वानले लेखिदिन्छन् र निराश पारिदिन्छन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *