लेटाङ घटना : कर्फ्यु उल्लंघन गर्ने १३ जना प्रहरीकाे नियन्त्रणमा

विराटनगर । मोरङको लेटाङमा एकजना प्रहरीको ज्यान जाने गरी भएको घटनामा संलग्न रहेको आशंकमा ६ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ ।

मोरङको लेटाङ नगरपालिका वडा नम्बर ५ मा रहेको शिक्षा विकास माविमा शिक्षकले विद्यार्थीमाथि यौन दुर्व्यवहारको विषयलाई लिएर स्थानीयको आक्रमणबाट एक प्रहरी जवानको ज्यान गएको थियो । स्थानीयको चक्कु प्रहारबाट प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएको हो ।

विद्यालयकै एक शिक्षकले कक्षा ७ मा अध्ययनरत १३ वर्षीय एक छात्रा विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको विरोधमा प्रहरी र स्थानीयवासी बिच झडप भएको थियो । अहिले त्यस क्षेत्रमा कर्फ्यु लगाइएको छ । बिहान ७ बजेदेखिको कर्फ्यु अहिले जारी छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले घटनामा संलग्न रहेको आशंकामा केही युवाहरुलाई पक्राउ गरीएको जानकारी दिए । त्यस्तै कर्फ्यु उल्लंघन गर्न खोज्ने १३ जनालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरी उपरीक्षक जिसीले बताए ।

लेटाङ नगरपालिका वडा नम्बर ५ को अवस्था नियन्त्रमा लिन मोरङ प्रशासनले बिहानैदेखि कर्फ्यु लगाएको छ । बिहान ७ बजेदेखि लागू हुने गरी वडा नम्बर ५ को सबै क्षेत्र, वडा नम्बर ३ र ४ को गंगेपुर र कमलपुर क्षेत्र, वडा नम्बर ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङ्गे खोला र पश्चिममा चिसाङ खोला क्षेत्रसम्मलाई कर्फ्यु लगाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *