होलीकै दिन भएको थियो बालिकामाथि यौन दुर्व्यवहार, यसअघि कागज गरेर उम्केका थिए शिक्षक पौडेल

विराटनगर । होलीको दिन थियो । लेटाङ नगरपालिका वडा नम्बर ५ को शिक्षा विकास माविका शिक्षक मनोज पौडेल आफैँले पढाउने गरेको विद्यार्थीको घरमा पुगे । सबै होलीमा रमाई रहेका थिए । उनी कक्षा ७ मा पढ्ने विद्यार्थीलाई पानी खान मागे । पानी खाने निहुँमा बालिकाको घरमा छिरेका शिक्षक पौडेलले बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लाग्यो ।

होलीको दिन भएको त्यो घटना विद्यालय खुलेपछि आइतबार सार्वजनिक भयो । बिहानै विद्यालयमा आएका विद्यार्थीले शिक्षक पौडेललाई कारबाही गर्नु पर्ने मागसहित निवेदन दिए । सहायक प्रधानाध्यापकमार्फत आएको निवेदनका बारेमा विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद मिश्रले विद्यार्थीलाई सोधे । प्राप्त प्रमाणसहित उनले लेटाङ नगरपालिकाका उपप्रमुख कृष्णकुमारी निरौला र वडा नम्बर ५ का अध्यक्षलाई जानकारी गराए ।

बिहान ११ बजेदेखिको छलफलमा पालिकाका उपमेयर, वडा अध्यक्ष, प्रधानाध्यापक र सहायक प्रधानाध्यापकसहितले शिक्षक पाैडेललाई राजीनामा दिन लगाउने र थप कारबाहीका लागि प्रहरीकाे जिम्मा लगाउने मौखिक सहमतिमा पुगेको थियो । ‘प्रहरीलाई जिम्मा लगाउने तयारी भइरहेको थियो,’ विद्यालयका प्रधानाध्यापक मिश्रले भने, ‘दिउँसो १ बजेतिर बच्चालाई खाजा लिएर आएका आमाहरुले आक्रमण गर्न थाल्नु भयो, त्यसपछि अवस्था बिग्रँदै गयो ।’

शिक्षक पौडेलले आफूले कुनै दुर्ब्यवहार गरेको स्वीकार नगरेपछि बिहान ११ बजेदेखि शुरु भएकाे छलफल १ बजे मात्र मौखिक सहमतिमा पुगेको प्रधानाध्यापक मिश्रले मकालुखबरलाई बताए । १ बजे आएका आमाहरुले आक्रमण गर्न थालेपछि विद्यार्थी पनि भड्किएको र अनियन्त्रित हुँदै गएपछि प्रहरीलाई खबर गरिएको विद्यालयले जनाएको थियो ।

प्रधानाध्यापकमाथि समेत सुरक्षा खतरा बढेपछि उनी दिउँसो साढे ३ बजेतिर त्यहाँबाट बाहिरिएका थिए । साँझ साढे ५ बजेतिर विद्यालय व्यवस्थापन समितिका सदस्यहरूसँगै उनीसहितको टोली फेरि विद्यालयमा गएको थियो ।

जाने क्रममा आफूहरुमाथि चौतर्फी आक्रमण भएकाे उनले बताए । ‘हामी विद्यालयमा छिर्ने बित्तिकै जथाभाबी कुटे,’ प्रअ मिश्रले भने, ‘हेलमेट र ढुङ्गा प्रहार गरेपछि टाउको फुटेर म ढलेँ ।’ विद्यालयभित्र रहेका उनीहरूलाई बाहिरबाट पटक पटक पेट्रोल बम प्रहार भएको उनको दाबी छ । कोही भागेको कोही लुकेर ज्यान बचाएका थिए भने उपप्रमुख निरौला विद्यालयको छतमा गएर जोगिएको प्रत्यक्षदर्शी शिक्षकहरू बताउँछन् । बाहिर आगजनी, तोडफोड उग्र बन्नुका साथै साँझ ७ बजेपछि स्थिती नियन्त्रण बाहिर गएको थियो ।

साँझ ७ बजे सशस्त्र प्रहरी पुगेपछि विद्यालय भित्र रहेकालाई उद्धार गर्ने प्रयास भएको उपप्रमुख निरौलाले बताइन् । ‘४ बजेसम्म पनि विद्यालय तोडफोड भएको थिएन,’ प्रत्यक्षदर्शी शिक्षकले भने, ‘नचिनेका अभिभावकहरू बाहिरबाट धेरै आएको देखिन्थ्यो ।’

आक्रमणकारीले २ वटा मोटरसाइकल जलाएको र केही तोडफोड गरेका थिए । क्यान्टिनमा आगजनी गरेका थिए । कक्षा कोठा र ल्याबमा भएको स्मार्ट बोर्ड, कम्प्युटर लगायतका सामाग्रीमा क्षति पुगेको विद्यालय प्रशासनले जनाएको छ ।

स्थिति असामान्य बन्दै गएपछि करिब ७/८ सय जनाको समूहमा आएका स्थानीयले प्रहरीमाथि आक्रमण गरेको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । स्थानीयले चक्कु प्रहार गर्दा प्रदेश प्रहरी गणमा कार्यरत उर्मिला श्रेष्ठको मृत्यु भएको छ । खोटाङ घर भएकी श्रेष्ठको शव अहिले कोशी अस्पताल विराटनगरमा राखिएको प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीन राईले जानकारी दिए ।

ढुङ्गा र घरेलु हतियारको समेत प्रयोग गरेर प्रहरीमाथि आक्रमण भएको सुरक्षा स्रोतको भनाई छ । घटनामा २९ जना प्रहरी र ४ जना स्थानीयबासिन्दा घाइते भएको प्रजिअ दाहालले बताए । मोरङका एसपी जनार्दन जिसी समेत घाइते भएका छन् । उनको छाती र हातमा चोट चोट लागेको छ ।

मध्यरातसम्म तनावग्रस्त रहेको लेटाङ-५ को अवस्था नियन्त्रणमा लिन मोरङ प्रशासनले बिहानै देखि कर्फ्यु लगाएको छ । बिहान ७ बजेदेखि लागू हुने गरी वडा नम्बर ५ को सबै क्षेत्र, वडा नम्बर ३ र ४ को गंगेपुर र कमलपुर क्षेत्र, वडा नम्बर ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङ्गे खोला र पश्चिममा चिसाङ खोला क्षेत्रसम्मलाई कर्फ्यु लगाएको हो ।

यसअघि पनि यस्तै अभियोग लाग्दा कागज गरेर उम्केका थिए शिक्षक पौडेल

यसअघि २०७४ सालमा पनि शिक्षक पौडेलमाथि यस्तै अभियोग लागेको र त्यसबेला उनलाइ सम्बन्धित विद्यार्थीका खुट्टा ढोगेर माफी मगाइ कागज गराएर छाडिएको विद्यालयका शिक्षकहरू बताउँछन् । उनले त्यसबेला ‘आइन्दा यस्तो काम नगर्ने र गरे जस्तोसुकै कारबाही भोग्न तयार रहेको’ भनेर कागज गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *