विराटनगरको मेयरमा मन्त्री पनि आकांक्षी

विराटनगर । प्रदेश १ को एक मात्र महानगरपालिका विराटनगरमा स्थानीय तह निर्वाचनको सरगर्मी शुरु भइसकेको छ । कांग्रेसको दबदबा रहेको विराटनगर महानगरमा मेयरको टिकट कसले पाउला भन्ने चर्चा हुन थालेको छ ।

महानगरको नेतृत्वका लागि स्थानीय र जिल्ला स्तरीय मात्र होइन केन्द्रीय स्तरकै नेताहरू पनि आकांक्षी देखिएका छन् । पूर्व मन्त्रीदेखि वर्तमान मेयरसम्मले टिकटका लाग आआफ्ना पार्टीमा लबिङ शुरु गरिसकेका छन् ।

कांग्रेसमा आकांक्षी नै आकांक्षी
५ वर्ष विराटनगरको नेतृत्व गरेका कांग्रेसका भीम पराजुली फेरि दोहोरिन चाहेका छन् भने उनले खास काम गर्न नसकेको भन्दै विकल्प खोज्नुपर्ने आवाज पार्टीभित्रै पनि उठ्न थालेको कांग्रेसका नेताहरू बताउँछन् । नेपाली कांग्रेस भित्र विराटनगरको मेयरका रूपमा नागेश कोइराला अगाडी रहेको कांग्रेस नेताहरूको भनाइ छ । कोइराला परिवारको वर्चस्व रहेकोले पनि विराटनगरमा कोइराला परिवार हाबी हुने आकलन गरिन्छ । कांग्रेस मोरङका उपसभापति रहेका कोइराला स्वयम आफूले टिकट पाउने सम्भावना ९९ प्रतिशत रहेको दाबी गर्छन् । उनलाई कांग्रेसका शेखर कोइरालाको समर्थन रहेको चर्चा पनि हुने गरेको छ ।

अर्की आकांक्षी हुन् वर्तमान उपमेयर इन्दिरा कार्की । उनी टिकट पाए चुनाव जित्ने दाबी गर्दै आएकी छन् । उपमेयर भएको बेला आफूले राम्रो काम गरी नागरिकको मन जितेको कारण आफू स्वाभाविक रूपमा मेयरको आकांक्षी भएको बताउँछिन् । आफूले टिकट पाउनुपर्ने उनको दाबी छ ।

विराटनगर उपमहानगरपालिका हुँदाका कार्यकारी अधिकृत र अहिले अवकाश प्राप्त गोपाल रेग्मी पनि मेयरका अर्का आकांक्षी हुन् । पार्टीको निर्णय कुरेर बसेका उनी टिकट पाए दीर्घकालीन योजना बनाएर नमुना विराटनगर बनाउने दाबी गर्छन् । लामो समय कर्मचारी क्षेत्रको नेतृत्व गरेकोले आफ्नो त्यो भिजन विराटनगर महानगरपालिकामा देखाउने मनसाय आफ्नो रहेको उनले बताए । विराटनगर उपमहानगरपालिको कार्यकारी अधिकृत हुँदा सडक चौडा बनाउने लगायतका धेरै काम शुरू भएको र अझै धेरै काम गर्न बाँकी रहेको र आफ्नो नेतृत्वमा त्यसलाई पूरा गर्ने चाहना रहेको उनी बताउँछन् ।

अर्का नेता हुन् अमृत अर्यालको नाम पनि मेयरको उम्मेदवारको आकांक्षीका रूपमा चर्चामा ल्याइएको छ । तर व्यक्तिगत रूपमा मेयरमा उठ्ने मनस्थितिमा नभएको उनी बताउँछन् । ‘पार्टीभित्र कुरा उठ्नु स्वाभाविक हो’, उनले मकालुखबरसँग भने, ‘सकभर पार्टीबाट अरूनै साथीहरूलाई उम्मेदवार बनाउनेतर्फ लाग्नेछु ।’

एमालेमा को को आकांक्षी ?
कांग्रेसलाई विराटनगरमा बलियो टक्कर दिँदै आएको एमालेले यसअघि विनोद ढकाललाई मेयरमा अघि सारेको थियो । यो पटक ढकाल नै उम्मेदवारका रूपमा दोहोरिने सम्भावना कम मात्र रहेको एमालेका नेताहरू बताउँछन् । अहिले एमालेका नगर अध्यक्ष सागर थापाको नाम बढी चर्चामा छ । तर चुनाव जित्नका लागि कुनै ‘हेबी वेट’ नेतालाई उठाउने तयारी पनि एमालेले भित्रभित्रै गरिरहेको बताइन्छ ।

पूर्व मन्त्री लालबाबु पण्डित र पूर्व प्रदेश मन्त्री जीवन घिमिरेलाई विराटनगरको मेयरका रूपमा चर्चामा ल्याइएको छ । पण्डितलाई स्थानीय तहमा ल्याउन नहुने केही नेताहरूले बताउँदै आएका छन् भने केहीले का‌ंग्रेसलाई हराउन उनलाई मेयरमा उठाउनुपर्ने केही नेताको भनाइ छ । यसबारे पण्डित स्वयमले भने केही बताएका छैनन् ।

त्यस्तै कोभिडको समयमा अत्यन्तै खटेर सङ्क्रमितको उद्धारमा लागेका र विद्यालयलाई झोला र किताबरहित बनाई आइसिटी मार्फत बढाउन सकिन्छ भन्ने योजनाका साथ अघि बढेका घिमिरेले पनि चुनाव जित्ने भन्दै अघि सार्ने तयारी पनि केही नेताको छ । घिमिरे महानगरपालिकाको मेयरमा जाने मनसाय नबनाएको भएपनि पार्टीले निर्णय गर्दा मेयरका लागि प्रतिस्पर्धामा जान स्वीकार गर्न सक्ने अवस्थामा रहेको उनी निकट नेताहरू बताउँछन् । एमाले नगर उपाध्यक्ष बाबुराम कार्कीलाई पनि मेयरको उम्मेदवारको रूपमा चर्चा गरिएको छ ।

माओवादीबाट दुई जना आकांक्षी
नेकपा माओवादी केन्द्रबाट मेयरको उम्मेदवारमा नमिना न्यौपाने र भोगेन्द्र यादवको नाम चर्चामा छ । न्यौपाने यस अघि उपमेयरमा पराजित भएकी हुन् । यादवले उम्मेदवारी दर्ता गराए पनि पछि फिर्ता लिएका थिए । उनीहरूमध्ये एक जनाले मेयरको टिकट पाउने सम्भावना छ । तर गठबन्धन हुने नहुने तय भइनसकेकाले पनि माओवादीको उम्मेदवारबारे धेरै चर्चा भएको सुनिँदैन । सत्तारुढ दलबीच चुनावी गठबन्धन भए विराटनगरमा का‌ंग्रेसले नै पाउने सम्भावना अत्यधिक छ ।

जसपाको अवस्था
विराटनगरमा जनता समाजवादी पार्टीको पनि राम्रो स‌ंगठन छ । अघिल्लो चुनावमा धेरै मत ल्याएकोले यो दलले कसलाई मेयर बनाउला भन्ने सबैको चासोको रूपमा लिएका छन् । अहिले प्रदेश स्वास्थ्य मन्त्री रहेका जयराम यादवको नाम पनि मेयरका रूपमा चर्चामा छ । यादव भन्छन्, ‘साथीहरूले मेयरमा उठ्नुपर्छ भन्नु भएको छ, उठेँ भने जितिन्छ तर अहिले नै यसै भन्न सकिन्न, छलफल हुँदैछ ।’ यस अघि मेयरका उम्मेदवार उमेश यादवलाई नै यसपटक पनि दोहोरिन सक्ने पनि जसपाका नेताहरू बताउँछन् ।

पछिल्लो समय उपेन्द्र यादवका छारा अमरेन्द्र यादवलाई पनि मेयरका रूपमा चर्चामा ल्याइएको छ । तर यो चर्चा पछि जसपाभित्र आन्तरिक विवाद शुरू भएको छ । जसपाका भूराज राईले पनि मेयरमा उम्मेदवार दिने भन्दै आएका छन् ।

नेकपा एकीकृत समाजवादीले भने अहिलेसम्म कसलाई उम्मेदवार बनाउने भन्ने यकिन गरिनसकेको भएपनि विराटनगरका पुराना नेता महेश रेग्मीले मेयरको लागि तयारी थालेको उनी निकटका नेताहरू बताउँछन् ।

२०७४ सालको निर्वाचनमा विराटनगरमा नेपाली कांग्रेसले बिना तालमेल चुनाव जितेको थियो । १ लाख १२ हजार मतदाता हुँदा मेयरमा कांग्रेसका उम्मेदवार भीम पराजुली २३ हजार ३१ मत प्राप्त गरी निर्वाचित भएका थिए । पराजुलीका निकटतम प्रतिद्वन्द्वी एमालेका विनोद ढकालले १७ हजार ३२१ मत प्राप्त गरेका थिए । तत्कालीन संघीय समाजवादी फोरम नेपालका उम्मेदवार उमेशकुमार यादवले १४ हजार ९५८ मत प्राप्त गरेका थिए ।

उपप्रमुखमा कांग्रेसकी इन्दिरा कार्की २० हजार १४६ मत प्राप्त गरी निर्वाचित भएकी थिइन् । संघीय समाजवादी फोरम नेपालसँग गठबन्धन गरेको नेकपा माओवादी केन्द्रकी नमिता न्यौपानेले ११ हजार ५२४ मत ल्याएकी थिइन् । एमालेसँग गठबन्धनमा रहेको लोकतान्त्रिक फोरमकी सूची चौधरीले १० हजार ५३६ मत प्राप्त गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *