महाकाली नदीमा धार परिवर्तन हुनेगरी भारतको तटबन्ध, स्थानीयद्वारा ढुंगा प्रहार

धनगढी । भारतले महाकाली नदीको धार परिवर्तन हुने गरी निर्माण गरिरहेको तटबन्धको काम नरोकिएपछि दार्चुलामा फेरि तनाव सृजना भएको छ ।

महाकाली नगरपालिका–४ स्थित महाकाली पारि एकलौटी तरिकाले नदीको धार परिवर्तन गर्न थालेपछि आक्रोशित भएका स्थानीयले शनिबार ढुंगा प्रहार गर्दै विरोध जनाएका छन् ।

स्थानीयले सदरमुकाम खलंगास्थित आफ्नो भूमिबाट ढुंगा प्रहार गरेका हुन् । यसअघि स्थानीयले तटबन्ध रोक्न दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराइसकेको थिए । सरकारको तर्फबाट पहल नभएको स्थानीयको भनाई छ । तटबन्ध निर्माणका विषयमा भारतीय पक्षले समन्वय नै नगरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले तटबन्ध निर्माणको बारेमा भारतीय पक्षसँग पटक पटक पत्राचार गरे पनि भारतले त्यसबारे कुनैपनि जानकारी वा जवाफ फर्काएको छैन ।

यसअघि गत फागुन अन्तिम साता पनि भारतले महाकाली नदीमा समन्वय नै नगरी तटबन्ध निर्माण गर्न भारतीय पक्षले महाकाली नदी नेपालतिर फर्काउन खोज्दा स्थानीय भारतीय र नेपाली पक्षबीच ढुंगा हानाहान भएको थियो । उनका अनुसार नेपाल भारत दुवै तर्फका सुरक्षाकर्मीको सहयोगमा जम्मा भएको भीड तितरवितर गरिएको थियो । त्यस पछि भारतीय पक्षले काम रोकेर जेसिबी फिर्ता लगेको थियो ।

भारतीय पक्षले पुरानो बाँधेको तटबन्धसँगै महाकाली नदीमा नेपालतर्फ ८ देखि १० मिटर चौडाइ र १० मिटर उचाइको तटबन्ध नर्माण गरिरहेको छ । भारतले तटबन्ध निर्माणपछि महाकाली नदी नेपालतर्फ फर्किने खतरा बढेको भन्दै स्थानीयबासी चिन्तित बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *