मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिताको ट्रफी र खेल तालिका सार्वजनिक

धनगढी । कैलालीको धनगढीमा सोमबारदेखि सुरु हुने ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’को ट्रफी र खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले शनिबार धनगढीमा पत्रकार सम्मेलन गर्दै ट्रफी र खेल तालिका सार्वजनिक गरेको हो ।

यही चैत्र १२ गतेसम्म सञ्चालन हुने राष्ट्रिय भलिबल प्रतियोगिताको उद्धघाटन खेल लु्म्बिनी प्रदेश र विभागीय टोली त्रिभुवन आर्मीबीच हुने परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहले बताए । प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागीय गरी १० टोलीको सहभागिता रहने सदस्य सचिव सिंहले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको तयारी पनि पूरा भएको छ । प्रतियोगिताको विजेताले नगद चार लाख, उपविजेताले दुई लाख, तेस्रो हुने टोलीले एक लाख र चौथो स्थान प्राप्त गर्ने टिमले ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद २० हजार तथा उदयमान खेलाडी, उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्सर, उत्कृष्ट सर्वर र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजारसहित पुरस्कृत गरिने सिंहले बताए । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद एक हजार पाँच सय नगदसहित पुरस्कृत गरिनेछ ।

परिषद्का सदस्य सचिव सिंहले प्रतियोगिता सर्वाधिक पुरस्कार राशिको भएको दाबी गरे ।

‘भलिबलका सबैभन्दा बढी खेलाडी सुदूरपश्चिम प्रदेशले नै जन्माएको छ,’ सिंहले थपे, ‘तर सुदूरपश्चिममै राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता हुन नसकेका कारण यसपटक आयोजना गर्न लागेका हौँ ।’

को–को परे सुदूरपश्चिमको टिममा ?
प्रदेश खेलकुद परिषद्ले एक महिनादेखि प्रतियोगितामा सहभागिता जनाउने सुदूरपश्चिम प्रदेशको टिमलाई बन्द प्रशिक्षणमा राखेको छ । प्रदेशको कप्तानको जिम्मेवारी महेश खत्रीले पाएका छन् ।

टिममा डम्मर भट्टराई, सन्तोष महता, प्रशान्त शाहु, निलम सिंह, दिनेश चन्द, सन्तोष खत्री, रोशन चन्द, सुरेन्द्र खड्का, सुरेन्द्र बिक, सुरेन्द्र भाट, विशाल भण्डारी, बलदेव धामी र वरुण ठगुन्ना परेका छन् । टिम प्रशिक्षकमा हिक्मतराज गिरी र व्यवस्थापकमा दिनेश गिरी रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *