निर्वाचनमा हाेमिँदै विप्लव, हाेला माओवादीसँग तालमेल ?

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा स्थानीय निर्वाचन सहभागी हुने कि नहुने भन्नेबारे बहस शुरू भएको छ । शुक्रबारदेखि कपिलवस्तुमा शुरू भएको केन्द्रीय समिति बैठकमा यही विषयलाई मुख्य एजेन्डा बनाइएको छ । बैठकमा महासचिव विप्लवले राजनीतिक प्रस्ताव पेश गर्दै भनेका छन्— ‘स्थानीय निर्वाचनको उपयोग गरौँ र पार्टीका एजेन्डाहरूलाई स्थापित गर्ने काम गरौँ ।’

यसअघि दुई दिनसम्म चलेको स्थायी समिति बैठकमा पनि यसबारे लामै छलफल भएको स्थायी समिति सदस्य धर्मेन्द्र बाँस्तोलाले स्वीकारे । यद्यपि निष्कर्षमा पुग्न भने बाँकी रहेको उनले बताए । ‘छलफल भएको हो, तर निष्कर्षमा पुग्न केही समय लाग्छ,’ बाँस्तोलाले मकालुखबरसँग भनेका छन् ।

निर्वाचनमा जाने प्रस्ताव पारित भए विद्राेह गर्छाैँ ।

स्थायी समिति बैठकमा महासचिव विप्लवले स्थानीय निर्वाचनको उपयोग गरेर जानुपर्ने भनेर राखेकाे प्रस्तावमा प्रवक्तासमेत रहेका स्थायी समिति सदस्य खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले भने सहमति जनाएका थिए । दुई स्थायी समिति सदस्यहरू बाँस्तोला र हेमन्तप्रकाश वली ‘सुदर्शन’ भने साे प्रस्तावकाे विपक्षमा थिए । पाँच सदस्यीय स्थायी समितिमा सन्तोष बुढामगर भने तटस्थ रहेका छन् ।

आजबाट शुरू भएको केन्द्रीय समिति बैठकमा पनि शीर्ष नेताहरूले आ–आफ्नो अडान नछाडेको एक केन्द्रीय सदस्यले बताए । ‘मुख्यतः बैठकमा स्थानीय निर्वाचनमा जाने कि नजाने भन्नेबारे छलफल भयो र त्यसबारे भोलि झनै प्रष्टसँग छलफल होला । तर, आजको बैठकमा शीर्ष नेतहरूले आ–आफ्नै अडानमा रहेका थाहा पाइयो । यसबारे निकास खोज्छौँ,’ ती सदस्यले भनेका छन् । उनकाअनुसार भोलिको बैठकबाट पार्टी यस विषयमा निष्कर्षमा पुग्नेछ ।

यद्यपि आजको बैठकमा धेरै नेताहरूले पार्टी अहिल्यै निर्वाचनमा जान नहुने बताएका छन् । संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादबारे जनमत संग्रहको माग गर्दै आएको नेकपाका अधिकांश नेताहरूले भनेका छन्— ‘अहिल्यै निर्वाचनमा नजाऔँ, केही समय पर्खेर हेरौँ । पार्टीको राजनीतिक आवश्यकता रह्यो भने बल्ल जाऔँ, नभए नजाऔँ ।’

माओवादीसँग मिलेर निर्वाचनमा जाने ?

यसअघि नेकपाका शीर्ष नेताहरूले माओवादी केन्द्रका नेताहरूसँग चरणबद्ध रूपमा छलफल गरेका छन् । यसअघि महासचिव विप्लव र माओवादी केन्द्रका नेता कृष्णबहादुर महराबीच भेटवार्ता भएको थियो । उक्त भेटमा दुई नेताहरूबीच मिलेर स्थानीय निर्वाचन होमिनेबारे छलफल भएको स्रोतले बतायाे । ‘सहमति भने जुरेन भनेर उहाँहरूले ब्रिफिङ्ग गर्नुभयाे,’ एक केन्द्रीय सदस्यले भनेका छन्, ‘तर, छलफललाई सकारात्मक रूपमा लिइएकाे र अझै अर्काे चरणमा छलफल हुनसक्ने बताउनुभयाे । फेरि संवाद हाेला या नहाेला, हेर्न बाँकी छ ।’

भेटमा विप्लवले महरालाई ‘कति सिट हामीलाई दिने ?’ भनेर प्रश्न गरेका थिए । जवाफमा महराले त्यो प्राविधिक विषय रहेकाे र पहिले सैद्धान्तिक तथा वैचारिक तालमेल हुनुपर्ने औंल्याएका थिए ।

माओवादीसँग मिलेर निर्वाचनमा जाने हो तपाईंहरू ? भन्ने मकालुखबरको जिज्ञासामा स्थायी समिति सदस्य बाँस्तोलाले भनेका छन्— ‘हामीले अहिल्यै त्यस्तो भनेका छैनौँ ।’ निर्वाचनमा जाने महासचिव विप्लवको प्रस्तावको विपक्षमा रहेका उनले थपे— ‘हामी पहिले निर्वाचनमा जाने कि नजाने भन्नेबारे नै निष्कर्षमा पुग्छौँ र त्यतातर्फ सोच्छौँ । अहिल्यै नै यसबारे म बाेल्दिनँ ।’

निर्वाचनमा पार्टी जाने भए माओवादीसँगको चुनावी तालमेल टाढाको विषय नभएको उनको भनाइ छ । ‘यद्यपि हामी पहिले निर्वाचनमै नजाने भन्नेमा छौँ । चुनावी तालमेल दोस्रो कुरा हो,’ बाँस्तोलाले भनेका छन् ।

यसअघि नेकपा नेताहरूले माेहन वैद्य ‘किरण’नेतृत्वकाे क्रान्तिकारी माओवादीसँग पनि चुनावी तालमेल गरेर निर्वाचनमा हाेमिन प्रस्ताव गरेका थिए । तर, वैद्यले प्रस्ताव नस्वीकारेकाे नेताहरूले बताएका छन् । जनवादी क्रान्तिबाट मात्रै समाजवादसम्मकाे यात्रा गर्न सकिने बताउँदै आएका वैद्यले भनेका थिए— ‘न जनमत संग्रहबाट समाजवाद आउँछ, न शान्तिपूर्ण बाटाेबाट समाजवाद आउँछ । यसका लागि जनवादी क्रान्ति आवश्यक छ । हाम्राे पार्टी अहिल्यै निर्वाचन जाँदैन, निर्वाचन जानु भनेकाे पूँजीवादी दलाल संसदीय व्यवस्थामा भाग लिनु हाे ।’

यसपछि विप्लवले माओवादी केन्द्रका नेताहरूसँग सम्पर्क बढाएका हुन् ।

निर्वाचनमा जाने प्रस्ताव पारित भए पार्टी फुट्न सक्ने

अधिकांश केन्द्रीय सदस्यहरूको मत भने ‘निर्वाचनमा जानुहुन्न’ भन्नेमा छ । उनीहरूले कुनै पनि हालतमा निर्वाचनमा जाने प्रस्ताव पारित हुन नहुने अडान राखेका छन् । यसबारेमा भोलिको बैठकमा छलफल हुने र आफ्नो कुराहरूलाई स्पष्ट रूपमा अघि सार्ने उनीहरूको तयारी छ ।

कतिपय नेताहरूले निर्वाचनमा जाने प्रस्ताव पारित भए पार्टी फुट्ने चेतावनीसमेत नेतृत्वलाई दिएका छन् । एक सदस्यले भनेका छन्, ‘केही कमरेडहरूले निर्वाचनमा जानै नहुने र निर्वाचनको कुरासमेत गर्न नहुने अवस्थामा पार्टी छ भनेर भन्नुभएकाे छ । पार्टी आफ्नो ठाउँमा बस्नुपर्छ र वैज्ञानिक समाजवादको कुरा गर्नुपर्छ, जनमत संग्रहको कुरा गर्नुपर्छ भनेर भन्नुभएको छ । यसबारेमा भोलिको बैठकमा कुराकानी हुन्छ । यसबारे हामीले प्रष्टसँग आफ्नाे कुरा राख्नेछाैँ ।’

निर्वाचनमा जान नहुने समूहको नेतृत्व स्थायी समिति सदस्यद्वय धर्मेन्द्र बाँस्तोला र हेमन्तप्रकाश वलीले गरिरहेका छन् । यो समूहले निर्वाचनमा जाने प्रस्ताव पारित भए पार्टीमा विद्रोह नै पनि गर्नसक्ने चेतावनी दिइरहेका छन् । एक नेताले भनेका छन्, ‘त्यसो भए विद्रोह नै पनि गर्छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *