नेताले राजनीतिलाई पेसा बनाए : राजेन्द्र लिङ्देन

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले केही दलका नेताले राजनीतिलाई पेसा व्यवसाय बनाएका कारण यसप्रतिको विश्वास घट्दै गएको बताएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष लिङ्देनले राजनीतिलाई पेसा व्यवसाय बनाउनेहरू नराम्ररी परााजित हुने पनि बताए ।
उनले अव राजनीतिलाई कमाई खाने भाँडो बनाउनेहरू कांग्रेस, एमाले माओवादीको कित्तामा हुने र देश यथास्थीतिमा राख्नुहुँदैन भन्नेहरू आफ्नो पक्षमा रहने धारणा राखे । त्यस्तै उनले नेपालमा उत्पादन हुने बिजुली विदेशमा बेच्ने नभई मुलुकमा नै खपत गर्नुपर्ने उल्लेख गरे ।
बिजुलीको अधिकतम प्रयोग गर्न सक्ने मुलुक विकासको बाटोमा अघि बढ्ने र रोजगारी पनि बढ्ने उनकाे भनाई छ । उनले मुलुकको हितमा काम गर्न सक्ने राप्रपा बाहिरका व्यक्तिलाई पनि स्थानीय तहको निर्वाचनमा अवसर दिइने बताए ।
कार्यक्रममा विभिन्न दलबाट आएका कार्यकर्ताहरूलाई अध्यक्ष लिङ्देनले राप्रपा प्रवेश गराएका थिए ।








