मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन, पञ्चकोषी परिक्रमा सम्पन्न

जनकपुर । मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन शुक्रबार जनकपुरधाममा पञ्चकोषी (अन्तरगृह) परिक्रमा सम्पन्न भएको छ ।

अन्तरगृह परिक्रमामा लाखौँ श्रद्धालुहरूको सहभागिता रहेको देखिएको छ । अन्तरगृह परिक्रमा घुम्ने क्रम बिहीवार मध्यरातदेखि नै सुरु भएको थियो । परिक्रममा सहभागी श्रद्धालुहरूले सडकमै गरिब विपन्नलाई दान गरेका छन् । १५ दिने मिथिला माध्यमिकी परिक्रमामा सहभागी साधुसन्त एवं भक्तजनहरूको लावालस्कर हिजो साँझ जनकपुरधाम आइपुगेको थियो ।

शुक्रबार बिहान पञ्चकोशी (अन्तरगृह) परिक्रमा गरी परिक्रमामा सहभागीहरू आ–आफ्नो घर फर्किएका छन् । मिथिला मध्यमा परिक्रमामा सहभागी हुन नसक्नेले कम्तीमा अन्तरगृह घुम्नुपर्ने मान्यता छ । जनकपुरधामको अग्निकुण्डबाट किशोरीजी अर्थात् माता जानकी र कचुरी मठबाट मिथिला विहारी अर्थात् भगवान रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा मिथिला माध्यमिकी परिक्रमा विधिवत रुपमा सुरु भएको थियो ।

नेपाल भारत दुबै मुलुकको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सदभावको प्रतीक बनेको यस परिक्रमा यात्रामा नेपालको १३ तथा भारतको २ गरी जम्मा १५ वटा विश्रामस्थलहरू छन् । मिथिला महात्म्यअनुसार १८औं शताब्दीदेखि यो धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाका रुपमा मनाइँदै आएको हो ।

शुक्रबार अन्तरगृह परिक्रमा समापन भएकाले शनिवार मात्र जनकपुरधाममा होली पर्व मनाइनेछ । तर जनकपुरधाम बाहेक तराई मधेसका जिल्लाहरूमा शुक्रबार होली मनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *