जग्गाको मालिक बन्ने भएपछि भूमिहीन खुसी

धनगढी । कैलाली गाउँपालिकाले भूमिहीन सुकुम्बासीलाई जग्गाको मालिक बनाउने कार्य अन्तर्गत ऐलानी, प्रति जग्गा उपभोग गरिरहेको प्रमाण (निस्सा) वितरण गर्ने कार्य शुरू गरेको छ । राष्ट्रिय भूमि आयोगसँग भएको सम्झौता बमोजिम गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाको निस्सा वितरण कार्य शुरू गरेको हो ।

गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी र उपाध्यक्ष लक्ष्मी सात्गौंवाले धबार वडा नम्बर ७ स्थित हौसलपुर र मोहनपुर गाउँका भूमिहीन, अव्यवस्थित बसोबासीलाई निस्सा गरे । ऐलानी, पर्ती जग्गा वषौंदेखि उपभोग गर्दै आए पनि लालपूर्जाबिहीन भएका स्थानीयवासीहरूलाई जग्गाको मालिक बनाउनका लागि नै पहिलो चरणमा निस्सा वितरण शुरू गरिएको गाउँपालिकाका अध्यक्ष चौधरीले बताए ।

उनले भूमिहीनलाई जग्गा उपभोग गरिरहेको प्रमाणका रूपमा गाउँपालिकाले निस्सा वितरण गरेको बताए । यो जग्गाको लालपूर्जा नभई जग्गा उपभोग गरिरहेको प्रमाण भएको भन्दै उनले भने, ‘जग्गाको नाप, नक्सा अब यहि निस्साको आधारमा हुन्छ ।’

उनले यसपछि यही निस्साकै आधारमा संघीय सरकारले पछि जग्गाको लालपूर्जा दिने भए । जग्गा सम्बन्धी सबै विवाद समाधान होस भनेर गाउँपालिकाले निस्सा दिएको उनले बताए ।

यस्तै गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौंवाले जग्गाको निस्सा प्राप्तीपछि अब ऐलानी, प्रती जग्गा ढुक्कका साथ उपभोग गर्न सकिने बताइन् । ‘अब यो जग्गा मेरो हो भनेर ढुक्कका साथ भोगचलन गर्नुहोस्,’ उनले भनिन्, ‘यसपछिको प्रक्रियामा जग्गाको लालपूर्जा पनि पाइनेछ ।’ वडा नम्बर ७ का वडा अध्यक्ष कमलप्रसाद चौधरीले निस्सा पाउने सबैका लागि ऐतिहासिक दिन रहेको बताए ।

उनका अअनुसार गाउँपालिकाले पहिलो चरणमा हौसलपुरका २८ र मोहनपुरका ६० गरी ८८ परिवारलाई जग्गाको निस्सा वितरण गरेको छ । निस्सा पाएपछि स्थानीय खुसी भएका छन् । आफूले ४० वर्षदेखि १७ कट्ठा ऐलानी जग्गा उपभोग गर्दै आएका हौसलपुरका सोहनलाल चौधरीले त्यो जग्गा आफ्नो नाममा बनाउने प्रक्रियामा गएपछि खुसी लागेको बताए ।

‘ऐलानी जग्गा खनजोत गरेको तीन पुस्ता भइसक्यो’, उनले भने । ‘तर, अहिलेसम्म जग्गा आफ्नो नाममा छैन । अब लालपूर्जा पाउने प्रक्रियामा गएपछि खुसी लागेको छ ।’ हौसलपुरकै मिना चौधरीले जग्गाको निस्सा पाउँदा खुसी लागेको बताइन् । ‘१४÷१५ कट्ठा ऐलानी जग्गा उपभोग गरिरहेको प्रमाण पाउँदा खुसी लागेको छ,’ उनले भनिन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर ऐरले जग्गाको लालपूर्जा पाउनका लागि १० वर्षदेखि भोगचलन गरेको हुनुपर्ने र वडा कार्यालयमा कर बुझाइएको हुनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *