दक्षिण एसियाली महिला सम्मेलन सम्पन्न

काठमाडाैँ । दक्षिण एसियाली महिला सम्मेलन ६ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ ।

सम्मेलनमार्फत महिला र किशोरीहरूविरुद्धको हिंसा अन्त्यका लागि दक्षिण एसियाली महिला अधिकारकर्मीहरूले विश्वव्यापी सन्धिको आव्हान गरेका छन् ।

नेपाल, अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंकाका बरिष्ठ महिला अधिकारकर्मीहरू सहभागी दुई दिने सम्मेलनमा महिला र किशोरीविरुद्धको हिंसा अन्त्यका लागि नयाँ अन्तर्राष्ट्रिय मानकको लागि तत्काल आव्हान गर्ने सहमति भएको हो ।

राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला आयोग, महिला गैरसरकारी संस्था महासंघ र एभ्री वुमन संस्थाको संयुक्त आयोजनामा मंगलबारबाट काठमाडौँमा शुरू भएको दक्षिण एसियाली महिला सम्मेलनको दोस्रो दिन सम्मेलनमा उपस्थित प्रतिनिधिहरूले हिंसालाई सम्बोधन गर्न नयाँ र व्यापक बाध्यकारी मानकलाई तुरुन्तै लागू गर्न हरसम्भव प्रयासका लागि दक्षिण एसियाली राष्ट्रका सरकारहरूलाई आव्हान गरेका छन् ।

वर्तमान प्रणालीमा रहेको नियमात्मक, भौगोलिक र कार्यान्वयको खाडललाई पूरा गर्ने क्रममा विश्वव्यापी उपकरणले महिला तथा किशोरीविरुद्ध हुने हिंसा प्रतिको संरक्षण, रोकथाम, दण्ड र दृष्टिकोणमा परिवर्तन ल्याउने सम्मेलनको निष्कर्ष छ ।

सम्मेलनको समापन गर्दै सर्वोच्च अदालतकी न्यायधीश सपना प्रधान मल्लले महामारी र जलवायु परिवर्तनजस्ता प्रकोपबाट महिला र किशोरीहरूमाथि हुने असरलाई कम गर्न सहयोग पुर्याउने बताइन् ।

सम्मेलनले जारी गरेको घोषणापत्रमा महिला र किशोरीविरुद्ध हुने हिंसाको डरलाग्दो प्रभाव र त्यसमा पनि महामारीजस्ता प्रकोपले दक्षिण एसिया र विश्वमा नै झनै असर बढाउने कुरा पहिचान गरिएको छ ।

सम्मेलन मार्फत् मानव अधिकारको उल्लंघन र जनस्वास्थ्य संकटको सबैभन्दा गहिरो प्रभाव महिला र किशोरीमा हुने गरेको कुरालाई पनि जोड दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − fifteen =