प्रचण्डकाे ब्रिफिङ्ग- ‘हिजो शहीद बन्न झगडा गर्नेहरू आज पदका लागि झगडा गर्छन्’

काठमाडाैँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका नेता/कार्यकर्ताहरूमा विचलन देखिन थालेकाे बताएका छन् । काठमाडाैँमा आयाेजित पार्टीकाे आन्तरिक प्रशिक्षणलाई सम्बाेधन गर्दै प्रचण्डले यस्ताे बताएका हुन् । ‘युद्धको समयमा शहादत दिनका लागि तँछाडमछाड गर्दै झगडा गर्नेहरू नै आज पदका लागि मरिहत्ते गर्ने अवस्था पुगेकाे देख्छु,’ प्रचण्डले भनेका छन् ।
पार्टीमाे वैचारिक अस्पष्टतासमेत बढ्दाे रहेकाे प्रचण्डकाे ब्रिफिङ्ग थियाे । ‘अराजकता, गुटबन्दी बढ्दो छ । पदलोलुपता बढ्दो छ । यही पार्टी हो जहाँ युद्धको समयमा शहादत दिन जान पाइएन भनेर झगडा गर्नेको जमात हुन्थ्यो । अहिले पद पाइएन भनेर रुने, कराउने र भाग्नेको जमात भयो ।’ नेता कार्यकर्तामा देखिएको अवसरवादी प्रवृत्तिप्रति उनले आक्रोश पोखेका छन् । ‘अनौठो लाग्छ तिनै साथीहरू अहिले पद र पैसा नपाउँदा अर्कै ढङ्गले व्यवहार गर्छन्’, प्रचण्डले भनेका छन् ।
संगठनको स्थिति र नेता/कार्यकर्ताको वैचारिक स्तर तथा आचरण हेर्दा दिनप्रतिदिन कम्युनिष्ट आन्दोलनबाट विचलनतर्फ गएको महसुस भएको प्रचण्डको गुनासो थियो ।








