निकाे नहुने सिकलसेलका बिरामी बढ्दै, लुम्बिनीमा मात्रै ३ हजारमा देखियो

काठमाडाैँ । रूपन्देही १ चैत्र लुम्बिनी प्रदेशमा सिकलसेल एनिमिया बिरामीको संख्या बढ्दाे अवस्थामा रहेको छ । नेपालमा सिकलसेल एनिमियाका रोगी ४ हजार रहेको र त्यसमा ७५ प्रतिशत अर्थात् ३ हजार लुम्बिनी प्रदेशमा रहेका छन् । लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयलेको आयोजनामा गरेको सिकलसेल एनिमिया तथा थालासेमिया रोग सम्बन्धि कार्यशाला गोष्ठीमा उक्त कुरा बताइएको हो ।
कार्यशाला गोष्ठीको एक समारोहका बिच लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री ईन्द्रजीत थारूले उदघाटन गरे । उद्घाटन समारोहमा बोल्दै मन्त्री थारूले यो रोगको लागी दीर्घकालीन रूपमा समाधान खोजेर अघि बढ्नु पर्ने बताए ।
उनले नीति बनेपनि कार्यान्वयन पक्ष फितलो रहेको बताउँदै अब नीतिमा सुधार गर्दे कडाईका साथ लागू गर्ने बताए । अहिले पनि थारू समुदायमा रोग पहिचान गर्न ल्याब सबै ठाउँमा नभएको तराईका जिल्ला अस्पतालमा सबैमा ल्याब स्थायीरूपमा नभएको लगायका समास्या रहेको बताए ।
बजेट जनशक्ति र स्थायी संरचना बनाउनुपर्ने र बच्चा जन्मनेबित्तिकै रोग पहिचाहन गर्नु पर्ने बताए भयो । लुम्बिनी प्रदेशमा १२ प्रतिशत थारू समुदाय रहेको बताउँदै परीक्षण जनचेतना र स्थायी संरचना आवश्यक रहेको बताउँदै मन्त्री थारूले संघीय सरकार प्रदेश सरकार र स्थानीय सरकार सबैको सहयोग आवश्यक रहेको बताए ।
संघीय स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीले प्रदेश सरकारले विशेष पहल गर्ने बताए । उनले संघीय सरकारले पनि काम गरेको बताउँदै यस वर्षपनि ४ करोड बजेट बिनियोजन संघीय सरकारले गरेको बताए । यस रोगबाट तत्काल मुक्त हुन नसकेपनि २/३ जेनेरेसनपछि निर्मूल बनाउन सकिने हुँदा अहिलेबाटै विशेष पहल गर्नु आवश्यक रहेको बताए ।
लुम्बिनी प्रेदेश स्वास्थ्यका स्वास्थ्य सचिव डा. विकास देवकोटालले यो जटिल विषय भएकोले काम भएपनि तत्काल नदेखिने भएकोले योजना बनाएर अघि बढ्नुपर्ने बताए । उनले गतवर्ष संघीय सरकारले बजेट विनियोजन गरेको भएपनि प्रदेश सरकारले खर्चगर्न नसकेको बताउँदै यस वर्षपनि संघीय सरकारबाट ४ करोड बजेट आएको बताए ।
उनले प्रदेश सरकारले पनि सिकलसेल एनिमिया तथा थालासेमिया रोगको लागि १५ लाख बजेट बिनियोजन गरेको बताए । डा. देवकोटाले भने बजेटका कारण रोग पहिचान र उपचारमा समस्या नहुने बताए । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले प्रदेशमा सिकलसेल एनिमिया तथा थालासेमिया रोगको अवस्था को बारेमा जानकारी गराए ।
गाेष्ठीका सहभागीहरूले थारू जातिमा मात्रै हुने वंशाणुगत रोग भएपनि पछिल्लो समय अन्य जातिमा समेत देखिन थालेकोले न्यूनीकरणका लागी सबैले ध्यान दिनुपर्ने बताए । सिकलसेल रोगका विषयमा विद्यालय स्तरमा पाठ्यक्रमको रूपमा लागू गर्नुपर्ने, रोगीहरूको आजीवन उपचारको व्यवस्था गर्नुपर्ने , थालासेमिया रोगीका लागि पनि अरूले जस्तै राहत सुविधा पाउने व्यवस्था मिलाउनुपर्ने बताए ।
भेरी अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले नेपालमा ४ हजार सिकलसेलका र १ हजार थालासेमिया रोगी रहेको बताए । भेरी अस्पतालबाट अहिलेपनि ८६६ जना रोगीले नियमितरूपमा औषधि लिइरहेकाे उनले बताए । वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले नेपालमा भएका सिकलसेलका बिरामीमध्ये ७५ प्रतिशत बिरामी लुम्बिनी प्रदेशमा भएकाे जानकारी दिए ।
प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयकी वरिष्ठ नर्सिड अधिकृत नेहा थापाले सिकसेल एनिमिया बिरामी गत वर्ष ८०२ रहेको भएपनि यस वर्षको चौमासिकमा ४२८ जना रहेको गत वर्ष अस्पतालमा भर्ना २९६ भएको र अहिलेको चौमासिकमा५२ जना भर्ना भैसकेको बताइन् ।
प्रदेशमा बिरामीको संख्या बढदो रहेको थापाले बताइन् । सिकलसेल एनिमिया र थालेसिया कस्तो रोगको परिचय, लक्षण, रोगलाई निराकरण गर्ने उपाय विषयमा अभिमुखिकरण गरिएको थियो ।
सिकलसेल एनिमिया के हो, किन हुन्छ ?
सिकलसेल एनिमिया रगतको रातो रक्तकोषमा हुने एक जैविक वंशाणुगत रोग हो । यो रोगले शरीरमा रगत बनाउने रातो रक्तकोषिकाको संख्या घटाउँदै लैजान्छ ।
सिकलसेल एनिमिया भएमा शरीरमा रगत बन्ने प्रक्रिया ढिलो हुन्छ । जसका कारण शरीरमा विभिन्न समस्या निम्तन्छ । एकपटक शरीरमा यो प्रणाली विकास भएमा एक देखि पचास वर्षसम्म पनि जुनसुकै समयमा रोगका लक्षण देखा पर्न सक्दछ ।
सामान्य अवस्थाको रातो रक्तकोषिका गोलो र चिप्टाे हुनुका साथै यसको आयु एक सय २० दिनको हुन्छ । जबकी सिकलसेल एनिमिया भएको व्यक्तिमा रक्तकोष हसिया आकारको–विकृत हुन्छ ।
यस्तो विकृत रक्तकोषको आयु पनि दश देशदेखि बीस दिनको मात्र हुन्छ । एकातिर रगत ढिला बन्ने र अर्कोतिर बनेको रक्तकोषको आयु छोटो हुँदाँ सिकलसेल एनिमिया भइसकेपछि शरीरको विभिन्न महत्वपूर्ण अंग र प्रणालीमा यसको प्रभाव देखिन थाल्दछ ।
कुन अवस्थामा लाग्न सक्छ ?
सिकलसेल एनिमिया बाल्यावस्थाबाटै देखिन शुरू हुने गर्छ । सिकलसेल भएमा रातो रक्तकोषको संख्या घट्ने हुँदा एनिमियाका लक्षण देखिनुका साथै बारम्बार संक्रमण भइरहने, शरीरको विभिन्न भागमा दुखाई महसुस हुने भएकोले यसले आजीवन सास्ती दिन्छ ।
सिकलसेल भएका व्यक्तिहरूमा शरीरका विभिन्न अंगहरूमा अक्सिजन सहितको रातो रक्तकोषहरू पर्याप्त मात्रामा पुग्न नसक्दा यसले फोक्सो, मिर्गौला, फियो तथा मस्तिष्क लगायतका अंगहरूमा क्षति पुर्याउनुका साथै स्वास्थ्यमा गम्भीर असर पुर्याउन सक्दछ ।
यसकै कारण फोक्सोमा रगत पुर्याउने नलीमा रक्तचाप बढ्दा हृदयाघत भई मानिसको मृत्यु समेत हुनसक्छ । संक्रमित व्यक्तिले काम गर्न पनि कठिन हुने भएको यसले व्यक्तिको आर्थिक अवस्थामा समेत नकारात्मक असर पार्ने गर्छ ।
कसरी बच्ने ?
सिकलसेल एनिमिया आफैँमा निको नहुने रोगहरू मध्येमा पर्दछ । यो रोग एकपटक लागेपछि निको नहुने भएकोले यो रोगबाट बच्ने एकमात्र उपाय भनेको नयाँ रोग लाग्नबाट बच्ने मात्र हो ।
कसलाई हुन्छ ?
परिवारमा श्रीमान र श्रीमती दुवै सिकलसेल एनिमियाबाट पिडित भएमा उनीहरूबाट जम्मने बच्चाहरूमा समेत सिकलसेल एनिमिया हुने सम्भावना अधिक हुने गर्छ । त्यसैले, उनीहरूमा रोग भएनभएको पहिचान गरेर मात्र विवाह गर्ने सल्लाह दिएको खण्डमा नयाँ पुस्ताहरूलाई सिकलसेल एनिमिया हुनबाट जोगाउन सकिन्छ । त्यसैले, यो रोगबाट जोगिनका लागि पनि पर्याप्त मामा जनचेतना फैलाउन आवश्यक छ ।








