कम्युनिष्ट एकता बेकारको कुरा हाे : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित्ने बताएका छन् ।
मंगलबार काठमाडौँमा अखिल नेपाल महिला संघको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई निर्वाचनमा कसैको साहारा आवश्यक नपर्ने र एक्लैलै ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित हासिल गर्ने बताए ।
त्यस्तै ओलीले कम्युनिष्ट नाम राख्दैमा वास्तविक कम्युनिष्ट हुन नसक्ने भन्दै वास्तविक कम्युनिष्ट हुन विचारमा स्पष्ट हुनुपर्ने जिकिर गरे । उनले केहि बुद्धिजीवीले कम्युनिष्टहरू नमिले समाप्त हुने भनेकोमा आपत्ति जनाउँदै कम्युनिष्ट एकता बेकारको कुरा भएको तर्क गरे ।
ताजा जनादेशमा जाने कुरालाई प्रतिगमन भन्दै केही स्वार्थी तत्वहरू लागेको र उनीहरू अहिले पतन भएको ओलीको भनाई छ । एमाले अध्यक्ष ओलीले सत्तागठबन्धनलाई कम्युनिष्ट विरोधी शक्तिको संज्ञा दिँदै परमादेशी र जनादेशी शक्तिबीच लडाई भइरहेको धारणा राखे ।
उनले वर्तमान सरकारका कारण मुलुकको राष्ट्रियता नै खतरामा परेको भन्दै यसका परिवर्तन अपरिहार्य रहेको बताए । उनले हाल उपाध्यक्ष र उपमेयरको भूमिका रहेका महिलालाई अध्यक्ष वा मेयर बनाउन आफू सकारात्मक रहेको तर यस विषयमा अस्वस्थ अभियान नचलाउन सुझाव पनि दिए ।
ओलीले महिलाको समान अधिकार र सहभागिताको विषयलाई एमालेले नै अघि बढाएको दावी गरे । सबै तहमा महिलाको ३३ प्रतिशतको अवधारणा पनि महिला संघले नै ल्याएको उनको भनाई छ ।









