वसन्तपुरमा राष्ट्रिय झण्डा राख्ने योजना विवादमा

काठमाडाैँ । विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रमा काठमाडौँ महानगरपालिका सार्वजनिक निर्माण विभागको आठवटा राष्ट्रिय झण्डा राख्ने योजना विवादमा परेको छ ।
सिमेन्ट र छड प्रयोग गरेर निर्माण शुरू गरेसी योजना विवादमा परेको हो । विश्व सम्पदा सूचीमा सिमेन्ट र छड प्रयोग गरेर निर्माण शुरू गरेसी स्थानीयले विराेध गरी निर्माण कार्यमा अवराेध गरेका थिए । अवराेध र विवाद बढे सँगै महानगरपालिका कि उपमेयर हरिप्रभा खड्गीले आज निर्माणाधीन क्षेत्रको अवलोकन गरेकी छन् ।
‘यो निर्माण शुरू भएको म आफूलाई कुनै जानकारी छैन । सार्वजनिक निर्माण विभागले महानगरको बोर्ड बैठकमा यो विषयमा कुनै कुरा राखेको मलाई थाहा छैन । स्थानीयले मलाई खबर गरेसी आफूले निर्माण स्थगित गर्न लगाएको उपमेयर खड्गीले अबलोकनको क्रममा भनिन् । यो विषयमा पुरातत्व विभागले समेत निर्माण कार्य नगर्नु भनी महनगरपालिकालाई पत्र समेत पठाइसकेको उपमेयर खड्गीले जानकारी दिइन् ।
मेयर विद्यासुन्दर शाक्यको एकलौटी निर्णयले कंक्रिटको संरचना बनेको भन्दै उपमेयर खड्गीले सोमबारबाटै निर्माण कार्य रोकिएको बताइन् ।
उनले भनिन्, ‘यो महानगरको निर्णय होइन, मेयर सा’बको एकलौटी निर्णय हो । सम्पदा क्षेत्रमा यसरी कंक्रिटको संरचना निर्माण गरिनुहुन्न’, उनले भनिन्,‘हामीसँग पनि सल्लाह छैन, प्रवक्तालाई पनि थाहा छैन। मेयर सा’बले विवेक पुर्याउनुभएन ।’
यदि नियम मिचेरै निर्माण शुरू भएको प्रमाणित भए कारबाही हुन्छ त भन्ने मकालु खबरको प्रश्नमा उपमेयर खड्गी भन्छिन्, ‘यसबारे म मेयरसापसँग कुरा गर्छु, यदि विश्व सम्पदाको नियम विपरीत कसैले निर्माण अनुमति दिएको वा बिना अनुमति निर्माण शुरू गरेको हो भने कार्बाहीको प्रक्रियामा जान्छु ।’
युनेस्को विश्वसम्पदाले पनि यो निर्माणको विषयमा चासो देखाइसकेको उपमेयर खड्गीले बताइन् ।
तस्वीरः










