चुनावमा माओवादी एक्लै लड्नुपर्ने पनि हुनसक्छ : प्रचण्ड

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावमा एक्लै पनि लड्नुपर्ने अवस्था पनि आउनसक्ने बताएका छन् ।

सोमबार धनगढीमा भएको राजनैतिक‐वैचारिक प्रशिक्षणमा बोल्दै उनले चुनावी तालमेल हुन्छ भन्ने कुरालाई दिमागबाट हटाएर तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए । उनले आफ्नै नीति, कार्यक्रमका आधारमा जित्ने गरेर चुनावको तयारी गर्न नेता कार्यकर्तालाई आग्रह गरेका हुन् ।

चुनावी तालमेल भए गठबन्धनकै दलसँग हुने र नभए एक्लै पनि लड्नुपर्ने अवस्था आउने उनको भनाई थियो । उनले गठबन्धनका दलले गठबन्धन बाहिरका दलसँग तालमेल गरे स्थानीय आवश्यकता अनुसार अन्य दलसँग तालमेल गरेर जान नेता कार्यकर्तालाई निर्देशन दिए ।

‘चुनावी तालमेल भए गठबन्धनकै दलसँग हुन्छ’, उनले भने, ‘केही गरेर गठबन्धनका दलले गठबन्धन बाहिरका दलसँग तालमेल गरे तपाईंहरू पनि जित्ने गरेर अन्य दलसँग तालमेल गर्दा हुन्छ ।’

यस्तै उनले संविधान, सङ्घीयता, गणतन्त्र उल्टाउन खोज्ने देशी विदेशी शक्तिले माओवादीलाई सिध्याउन खोजेको बताए । उनले आगामी चुनावमा पनि माओवादीलाई सिध्याउने प्रयास भैरहेको भन्दै जनताका बीचमा दुई महिना खटेर लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

यस्तै सुदूरपश्चिमका सवालमा बोल्दै अध्यक्ष प्रचण्डले समाजवादी क्रान्तिका लागि तयार रहन सुदूरपश्चिमका माओवादी नेताहरूलाई अपिल गरेका थिए ।

सुदूरपश्चिमको आवश्यकता परिपूर्तिका लागि यसलाई एउटा प्रदेश बनाइए पनि त्यतिले मात्रै नपुगेकोले समाजवादी क्रान्ति र समाजवादी यात्रा अपरिहार्य रहेको उनले बताए । सुदूरपश्चिम समाजवादको यात्रामा अगाडि बढ्न नसक्दासम्म सयौँ वर्षदेखिको विभेद कायम रहेको उनको भनाई थियो ।

प्रशिक्षण कार्यक्रमलाई माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट, सुदूरपश्चिम अध्यक्ष हरिप्रसाद चौधरी ‘उत्सव’, सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट लगायतकाले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *