तनहुँमा अल्ट्राम्याराथन, आर्मीका सुनुवारलाई उपाधि

पोखरा । तनहुँको व्यासमा आयोजित अल्ट्राम्याराथनको उपाधी नेपाली सेनाका वेदबहादुर सुनुवारले पाएका छन् । शनिबार भएको ४४ किलोमिटर दूरी उनले २ घण्टा ५८ मिनेट ७ सेकेण्डमा पूरा गरेका हुन् । पाचौँ संस्करणको उक्त प्रतियोगिताको विजेता सुनुवारले ८५ हजार ७८ रुपैयाँ पुरस्कार पाएका छन् । मानुङकोटदेखि पुलिमराङसम्म दौड आयोजना गरिएको थियो ।

प्रतियोगितामा नेपाली सेनाकै मोहनदेव जोशीले ३ घण्टा ५ मिनेट ५० सेकेण्डमा दौड पूरा गर्दै दाेस्राे भए भने सेनाकै नवराज साउदले ३ घण्टा ९ मिनेटमा दूरी पार गरेर तेस्राे भएका छन् । सुमन कुलुङ, प्रमिश गुरुङ, दुर्गाबहादुर बुढा, शेरबहादुर थारु र गोपाल तामाङ सान्त्वना पुरस्कार पाएका छन् । दाेस्राे हुनेले ६५ हजार ७८, तेस्राेले ५५ हजार ७८ र सान्त्वना हुनेले १६ हजार ७८ नगद पुरस्कार पाए ।

म्याराथनमा १ सय ७३ जना धावक सहभागी भएका आयोजकले जनाएको छ । मानुङकोटको पर्यटकीय महत्व र पुलिमराङको ऐतिहासिक महत्व जोड्नका लागि म्याराथनको आयोजना गरिएको नगर प्रमुख बैकुण्ठ न्यौपानेले बताए । सहिद गाउँको नामले परिचित तनहुँको व्यास नगरपालिका ८ पुलिमराङ अहिले पर्यटकीय गन्तव्य बनेको छ । २००७ साल र त्यसपछि भएका आन्दोलनका क्रममा प्रजातन्त्र स्थापनाकै लागि भिडेका कारण यो गाउँका ६ जनाले शहादत प्राप्त गरेको बताइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *