नेपालमै गाडी उत्पादन गर्न कोरियाली कम्पनी मोट्रेक्सले फेरि देखायो चासो

बोर्ड कार्यालयका अधिकारी भन्छन्– महिनाभित्रै टुंगो लाग्ने सम्भावना

काठमाडौँ । किया र हुण्डाई गाडीका पार्टस् उत्पादन र भित्री प्रणाली जडान गर्दै आएको दक्षिण कोरियाली कम्पनी मोट्रेक्स कम्पनी लिमिटेडले नेपालमै चारपाङ्ग्रे गाडी उत्पादन गर्न फेरि चासो देखाएको छ ।

उक्त कम्पनीले नेपालमा ‘भेइकल म्यानुफ्याक्चरिङ एन्ड एसेम्लिङ प्लान्ट’ स्थापनाका लागि लगानी बोर्डसँग २०७६ मंसिरमा प्रारम्भिक परियोजना लगानी सम्झौता(पिआइए) गरेको थियो ।

उक्त प्रारम्भिक सम्झौता अनुसार ३६ महिना(३ वर्ष)भित्रैमा नेपालमा उक्त प्लान्ट स्थापना गरी गाडी उत्पादन सुरु गर्ने भनिएको थियो । बोर्डले पनि नेपालमा १०५ मिलियन अमेरिकी डलर (त्यसताको विनियमय दर अनुसार १० अर्ब ५४ करोड रुपैयाँ) उक्त परियोजना लगानी गर्न स्वीकृति दिएको थियो ।

त्यसअघि नै २०२० को जनवरीभित्रै प्लान्ट स्थापना गर्ने सर्तसहित उसको लगानी प्रस्ताव २०७५ चैतमा बोर्डले स्वीकृत गरिसकेको थियो । तर, नेपालका गाडी उत्पादकहरुको दबाब, प्रभाव, कोरोना महामारी जस्ता अनेक कारण उक्त परियोजनामा कुनै काम हुन सकेको थिएन ।

प्रारम्भिक परियोजना लगानी सम्झौता गर्दै लगानी बाेर्डका तत्कालिन सीईओ महाप्रसाद अधिकारी र काेरियाली कम्पनी माेट्रेसक्सका अधिकारी ।

अब विद्युतीय गाडीसमेत उत्पादन गर्ने र अन्य केही सर्तसहित उक्त कम्पनीले उक्त प्रारम्भिक सम्झौता अघि बढाउन ८ मंरिसमै लगानी बोर्ड स्रोतले जनाएको छ ।

‘अहिले हामी नेगोसियसनको चरणमा छौं,’ बोर्ड कार्यलयका एक अधिकारीले भने, ‘एक महिनाभित्रै नेगोसिएसन सकेर परियोजना अघि बढाउन ठोस सम्झौता हुनसक्ने सम्भावना छ ।’

खासगरी कम्पनीले नेपालमा उत्पादन प्लान्ट वा उद्योग सञ्चालनमा रहँदासम्म महसुलमा छुट पाउने पर्ने, अन्य सवारी पार्टपूर्जाले पाएको भन्सार महसुलभन्दा कम महसुल आफूलाई लगाउनु पर्ने, अन्य कुनै महसुल वा शुल्क लगाउनु नहुने, औद्योगिक व्यवसाय ऐन २०७६ अनुसार नै सेवा सुविधा पाउनुपर्ने जस्ता सर्त उसले राखेकाे बाेर्डले जनाएकाे छ ।

यसबारे छलफल चालिरहेकोले एक महिनाभित्रैमा टुंगो लाग्न सक्ने सम्भावना रहेकाे बोर्डका अधिकारीले बताएका छन् ।

उक्त कम्पनीले यसअघिको प्रारम्भिक सम्झौता अनुसार सम्झौता भएको ३ वर्षमा प्लान्ट स्थापना गर्ने, उत्पादन सुरु गरेको ५ वर्षभित्रमा २० हजार थान गाडी उत्पादन गर्ने र प्लान्टलाई पूर्ण क्षमतामा विस्तार गरी वार्षिक ५० हजार थानसम्म गाडी उत्पादन गर्ने जनाएको थियो । सुरुमा गाडीका पार्टस् आयात गर्ने र आफैंले पार्टस् उत्पादन गर्न थालेपछि विस्तारै कम गर्दै लाने योजना उसले बोर्डलाई सुनाएको थियो ।

प्लान्ट स्थापना गरेको सुरुमै एक हजार जनाले प्रत्यक्ष रोजगारी पाउने अनुमान गरिएको थियो । प्लान्ट विस्तार गर्दै जाँदा रोजगारी संख्या बढ्दै जाने बताइएको थियो ।

कम्पनी स्थापनाका लागि बुटवलको मोतिपुर औद्योगिक क्षेत्रको १०० रोपनीभन्दा बढी जग्गा उपयुक्त हुने बताइएको थियो ।

यसबार बोल्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टले बुधबार अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा बसेको अनुगमन तथा सहजीकरण समितिको सातौँ बैठकमा अटोमोबाइल उद्योग स्थापनाका लागि दक्षिण कोरियाली कम्पनी मोटे«क्सले प्रस्ताव गरे पनि उद्योग स्थापनाका लागि स्थान छनौट गर्न नसकेको बताए ।

‘विशेष आर्थिक क्षेत्र (सेज) मा जानलाई निर्यातमा आधारित हुनुपर्ने मापदण्डले असर गरेको छ,’ बैठकमा उनले भने, ‘त्यसैले बोर्डमार्फत आउने परियोजनालाई उद्योग स्थापनाका लागि सहजीकरणा गर्न विशेष नीतिगत व्यवस्थाहरु गर्नुपर्ने देखिएको छ ।’

मोट्रेक्सलाई उद्योग स्थापनाका लागि बुटवल औद्योगिक क्षेत्रभित्र रहेको बुटवल धागो कारखानाको जग्गा दिन उपयुक्त देखिएको अध्ययनमा भेटिएको थियो तर सो उद्योगमा रहेका पुराना मेसनरी प्रतिस्थाापनलगायतका बिषय झन्झटिलो भएको कारण स्थान दिन नसक्ने सरकारले जवाफ दिएको बोर्डले जनाएको छ ।

अहिले मोतिपुर औद्योगिक क्षेत्रमा उक्त उद्योग राख्ने विषयमा छलफल भइरहेको समेत सीईओ भट्टले अर्थमन्त्रीलाई बताएका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *