प्रदेश १ को पर्यटन प्रवर्द्धन गर्न नेपालका व्यवसायी भारतमा

विराटनगर । सुनसरीको धरानमा आयोजना हुने इष्ट टुरिजम मार्ट २०२२लाई प्रवर्द्धन गर्न पर्यटन व्यवसायीको प्रतिनिधि मण्डल भारतको पश्चिम बंगाल र विहार पुगेको छ। सिलिगुडीमा शनिबारदेखि तीन दिनसम्म आयोजना हुने बंगाल ट्राभल मार्टमा पूर्वका व्यवसायीहरू पर्यटन प्रवर्द्धन गर्न पुगेका हुन् ।

मार्टमा विराटनगर, धरान, इटहरी, काकरभिट्टा, दमक, बिर्तामोडलगायत स्थानबाट पर्यटन व्यवसायीहरू सहभागी भएका छन् । मार्टमा नेपाल पर्यटन बोर्डले नेपाली व्यवसायीहरूका लागि स्टल उपलब्ध गराएको छ । बंगाल ट्राभल मार्टमा भएको सहभागिताले पूर्वी नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने  इष्ट टुरिजम मार्टका संयोजक भविष श्रेष्ठले जानकारी दिए ।

बंगाल ट्राभल मार्टमा पूर्वी नेपालका मुख्य ग्राहकहरू हुनसक्ने बंगाल सिक्किम र उडिसाका ट्राभल एजेन्टहरूसँगको प्रवर्द्धनले आफूहरू उत्साहित भएको श्रेष्ठले जानकारी दिएका छन् । बंगाल ट्राभल मार्टमा सहभागी भएको प्रदेश १ को नेपाली पर्यटन व्यवसायीको टोली इष्ट टुरिजम मार्टको प्रचार र प्रवर्द्धन गर्न विहारको किशनगञ्ज पूर्णिया कटिहार र दरभंगा जाने छ ।

विहारका ती स्थानहरूमा गएर त्यहाँका व्यवसायीहरूलाई मार्टको निम्तो दिने र पूर्वको प्रवर्द्धन गरिने नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाटा)का प्रदेश अध्यक्ष उदय श्रेष्ठले बताए । इष्ट टुरिजम मार्ट २०२२ आगामी चैत ११, १२ र १३ गते धरानमा हुन लागेको छ ।

मार्टको यो तेस्रो संस्करण हो । सन् २०१८ र २०१९ मा आयोजना भएको मार्ट कोरोनाका कारण बीचका वर्षमा आयोजना हुन सकेको थिएन । कोरोनाको कारण ठप्प भएको पर्यटन व्यवसाय मार्ट जस्ता क्रियाकलापले गति लिन सक्ने संयोजक श्रेष्ठका भनाई छ । बंगाल र विहार भ्रमण कार्यक्रमको संयोजन नेपाल पर्यटन बोर्डले गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *