राष्ट्रियसभा अध्यक्षकाे जिपलाइन अनुभव : ‘रमाइलो भयो’ (भिडिओसहित)

पर्वत । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले साहसिक खेल ‘सुपरम्यान जिपलाइन’मा सहभागी भएका छन् । कार्यक्रमको सिलासिलामा गृह जिल्ला पर्वत पुगेका अध्यक्ष तिमिल्सिनाले कुस्माबजार नजिक कालीगण्डकी नदीको खोँचमा बनेको जिपलाइनमा सयर गरेका हुन् ।

हार्नेस जिपलाइन प्रालि कुस्माले सञ्चालनमा ल्याएको सुपरम्यान जिपलाइन विश्वकै दोस्रो लामो भएको कम्पनीको दाबी रहेको छ । कालीगण्डकी नदीको सतहदेखि झन्डै २५० मिटरको उचाइबाट शुरू हुने जिपलाइन १४ सय ८० मिटर लामो रहेको छ ।

अध्यक्ष तिमिल्सिनाले सोही सुपरम्यान जिपलाइनबाट १४ सय ८० मिटर दूरीको रिसोर्टमा ल्याण्ड गरेका छन् । जिपलाइन गरेपछि प्रतिकृया दिँदै उनले एकदमै रमाइलो र साहसिक अनुभव भएको बताए ।

‘आफ्नै ठाउँमा भएको साहसिक खेलको अनुभव र आनन्द लिँदा धेरै राम्रो हुन्छ’, उनले भने, ‘अहिले रमाइलो गर्ने साहसिक खेलमा सहभागी हुनेक्रम बढेको छ । एकपटक हार्नेस जिपलाइनमा आएर अनुभव लिन म अनुरोध गर्दछु ।’

सुपरम्यान जिपलाइनमा बालबच्चादेखि वृद्धवृद्धासम्मको आकर्षण बढेको र पोखरालगायत देशभरबाट धेरै पर्यटकले आउने इच्छा राख्दै समय बुक गराउने गरेको कम्पनीका प्रबन्ध निर्देशक सुनिलसिंह बानियाँले जानकारी दिए । ‘बन्जी, स्वीङ लगायतका साहसिक खेलभन्दा जिपलाइनमा कम डर लाग्ने भएकाले पनि आकर्षण बढेको छ’, उनले भने । जिपलाइनका लागि ३५ सय रुपैयाँ शुल्क तोकिएको छ ।

नेपालकै पहिलो स्काइब्रिजको उद्घाटन

यसैबीच अध्यक्ष तिमिल्सिनाले नेपालमै पहिलो पटक बनेको सिसाको पुल (स्काइब्रिज) उद्घाटन गरेका छन् । हार्नेस जिपलाइन प्रालि कुस्माले निर्माण गरेको स्काईब्रिज उद्घाटन गरेपछि अध्यक्ष तिमिल्सिनाले जिपलाइन सयर गरेका छन् ।

आन्तरिक र बाहिय पर्यटकलाई लक्षित गरी विभिन्न साहशिक खेलसँगै स्काईब्रिज निर्माण गरेको कम्पनीका निर्देशक राजकुमार बस्नेतले जानकारी दिए । कालीगण्डकी नदीको सतहदेखि झन्डै २५० मिटरको उचाइमा रहेको पुलबाट नदी र भीरको दृश्य छर्लङ देखिन्छ । पुलमा एकैपटक एक सय जना सम्मले स्काईब्रिज चढ्न सक्ने क्षमता रहेको कम्पनीले जनाएको छ ।

अहिले निर्माण भएको छोटो स्काइब्रिजको सफलता र प्राविधिक पक्ष हेरेर भविष्यमा विश्वकै लामो सिसाको पुल बनाउने योजना रहेको बताइएको छ ।

हार्नेस प्रालिले कुस्माबजारमा नै पहिलो पटक ज्वाइन्ट स्विङ पनि सञ्चालनमा ल्याएको छ ।

कुश्मामा सुपरम्यान जिपलाइन नजिकै विश्वकै दोस्रो अग्लो बञ्जी तथा अग्लो स्विङ रहेका छन् । त्यसैगरी लामा र अग्ला झोलुङ्गे पुलले पनि पर्वत आन्तरिक तथा बाह्य पर्यटकको आकर्षको केन्द्र बन्दै गएको छ ।

भिडिओः

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *