सुत्केरीलाई न्यानाे बनाउन बालिएको कोइलाले निस्सासिएर एकै परिवारका ५ जनाको मृत्यु

काठमाडौँ । ललितपुरमा दुई दिने शिशुसहित एकै परिवारका ५ जनाको मृत्यु भएको छ । ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४ नल्लुमा आइतबार राति ५ जनाको मृत्यु भएको घटनाको प्रारम्भिक अनुसन्धानबाट उनीहरूको निस्सासिएर मृत्यु भएको निष्कर्ष निकालिएको ललितपुरका एसपी सिद्धिविक्रम शाहले मकालुखबरलाई जानकारी दिए ।

उनले भने, ‘यो घटना कार्बन प्वाइजनिङका कारण भएको देखिन्छ । घटनाको प्रकृति हेर्दा राति घरभित्र आगो बालेर सुतेको अवस्थामा निसास्सिएर मृत्यु भएको देखिएको छ । हामी थप अनुसन्धान गर्दैछौँ ।’

मृत्यु हुनेहरूमा ५५ वर्षीया काइँली स्याङ्तान, ९ वर्षीय आशिष स्याङ्तान, २३ वर्षीया सुष्मा स्याङ्तान र ७ वर्षीय आस्मास्याङ्तान छन् । उपचारको क्रममा दुई दिनको नाबालकको पनि मृत्यु प्रहरीले जनाएको छ । गम्भीर अवस्थाका २२ वर्षीय सुभास स्याङ्तानको पाटन अस्पतालमा उपचार भइरहेको छ । नाबालकको पनि पाटन अस्पतालमै उपचारका क्रममा मृत्यु भएको हो ।

कोन्ज्योसोम गाउँपालिका अध्यक्ष गोपीलाल सिंतानले पनि उनीहरूको निसास्सिएर मृत्यु भएको पाइएको बताए । राति सुत्केरीलाई सेकाउन घरमा बालेको गोलको धुवाँले निसास्सिएर उनीहरूको मृत्यु भएको अध्यक्ष सिंतानले बताए ।

उनले भने, ‘घरमा सुत्केरीलाई सेकाउन गोल बालेका रहेछन् । राति झ्याल ढोका बन्द भएका कारण उनीहरूको निसास्सिएर मृत्यु भएको देखिन्छ । ८० प्रतिशत कारण यही नै हो । तर पोस्टमार्टम र प्रहरीको अनुसन्धानले के देखाउला त्यो त भन्न सकिँदैन ।’

सम्बन्धितः

कोठा न्यानो बनाउन आगो र हिटर बाल्दा कसरी सावधानी अपनाउने ?

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 19 =