सिंगो बुटवल एक विद्यालय अवधारणा अघि बढ्दै

रूपन्देही । बुटवल उपमहानगरपालिकाले शिक्षाको गुणस्तर सुधार्न नयाँ अभ्यास शुरू गरेको छ ।

शैक्षिक गुणस्तर मापनमा उत्कृष्ट भएपछि बुटवल उपमहानगरले शैक्षिक गुणस्तर सुधारमा नौलौ अभ्यास शुरूवात गरेको हो । बुटवलका सबै विद्यालयको गुणस्तर अभिवृद्धि गराउँदै कमजोर विद्यालयको गुणस्तर वृद्धि गर्न सिंगो बुटवल एक विद्यालय अवधारणा अगाडि सारिएको मेयर शिवराज सुवेदीले बताए ।

अहिले यो अवधारणा कार्यान्वयनको चरणमा रहेको कार्यान्वयनका लागि कस्ता कार्यक्रम तय गर्ने भन्ने विषयमा सूचक बनाएर विषय विज्ञहरू मार्फत् नियमित अनुगमन भइरहेको मेयर सुवेदीको भनाइ छ । यसका लागि शिक्षाविद्, योजनाकार र विज्ञहरूलाई जुटाएर शैक्षिक संगोष्ठि गर्ने, स्थानीय पाठ्क्रम निर्माण गर्ने, ललितकला शिक्षा पढाउने र इन्जिनियरिङका उच्च तहका कक्षासमेत सञ्चालन गर्ने लगायतका काम भइसकेका छन् ।

नगरभित्रका सामुदायिक विद्यालयहरूमा भौतिक पूर्वाधार, सेवा सुविधा, शिक्षक उपलब्धता, शिक्षण विधि, नतिजा, पाठ्यक्रम, शिक्षक विकास र व्यवस्थापन, मूल्यांकन पद्धति, कक्षा सञ्चालन समय, विदा आदिमा एकरूपता ल्याउन यो अवधारणा ल्याइएको प्रमुख सुवेदीको भनाइ छ ।

‘सिंगो बुटवलः एक विद्यालय’ अवधारणा कार्यान्वयनपछि सबै विद्यालयको भौतिक, आर्थिक, मानवीय प्रशासनिक एवं अन्य प्रकारका साधन स्रोतको उच्चतम प्रयोग भइ अपेक्षित नतिजासमेत हासिल गर्न सकिने बुटवल उपमहानगरले दाबी गर्दै आएको छ । २०७४ सालमा नगर शिक्षा योजना र नयाँ ऐन लागू गरेको उपमहानगरको यो अवधारणा कार्यान्वयन सफल भएमा बुटवल शैक्षिक क्षेत्रमा नमूना बन्ने यस क्षेत्रका शिक्षा विद्हरूले समेत दाबी गर्दै आएका छन् ।

नगरभित्रका सबै सामुदायिक विद्यालयमा शिक्षाको समानस्तर कायम गरी विद्यार्थीलाई नजिकैको विद्यालयमा अध्ययन गर्ने वातावरण तयार गर्न यस्तो अवधारणा अगाडि बढाइएको सुवेदीको भनाइ छ । बुटवलभित्रका जुनसुकै सामुदायिक विद्यालयमा अध्ययन गरे पनि शैक्षिकस्तर एउटै हो भन्ने मान्यता स्थापित गर्न सबै विद्यार्थीलाई समान शैक्षिक क्रियाकलाप प्रदान गर्न ‘सिंगो बुटवलः एक विद्यालय अवधारणा’ बनाएर कार्यान्वयन भइरहेको उनले बताए ।

विद्यालयमा आर्थिक स्तरका आधारमा विद्यालय र पढाई छनोट गर्नुपर्ने, पोशाकका आधारमा विभेद महसुस गर्नुपर्ने र बालसुलभ मष्तिस्कमै अपहेलना अनुभूति हुने विभेदकारी अवस्थालाई बदल्दै बुटवलका सबै विद्यालयमा गुणस्तरीय शिक्षाको समानस्तर स्थापित गर्न मुलुकमै पृथक र नौलो अवधारणा ल्याइएको भन्दै विज्ञहरूले समेत प्रशंसा गर्ने गरेका छन् ।

उपमहानगरका शिक्षा तथा स्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनाल, शिक्षा शाखा प्रमुख टिकाराम पन्थीसहित महाशाखा अन्तर्गत रहेका कर्मचारी र शिक्षाविद्हरूले अवधारणा कार्यान्वयनको नियमित अनुगमन गरिरहेका छन् । पहिलो चरणमा विनियोजन गरिएको ४० लाख रूपैयाँ बजेट बराबरको कार्यक्रम सफलतापूर्वक कार्यान्वयन भइरहेको महाशाखा प्रमुख खनालले बताए ।

बुटवल उप महानगरपालिकाले चालू आर्थिक वर्षमा शिक्षाका लागि ९ करोड बजेट विनियोजन गरेको थियो । भौतिक पूर्वाधार विकासमा भने थप बजेटको ब्यवस्था गरिएको छ । गत आर्थिक वर्ष २०७७/७८ देखि शिक्षा कार्यनीतिमा सबै बालबालिकालाई गुणस्तरीय शिक्षाको समान अवसर उपलब्ध गराउने नीति बनाएको थियो । पालिका भित्र ३८ वटा सामुदायिक विद्यालय छन् । ती मध्ये आधारभूत १२, माध्यमिक २२, विशेष १ र मदरसा ३ वटा छन् भने संस्थागत विद्यालयको संख्या ५७ छ ।

शैक्षिक गुणस्तर सुधार्ने बुटवलको नवीन अवधारणा
नगरभित्रका सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार, सेवा सुविधा, शिक्षक, शिक्षण विधि, नतिजा, पाठ्यक्रम, शिक्षक विकास र व्यवस्थापन, मूल्यांकन पद्धति, कक्षा सञ्चालन समय, बिदा आदिमा एकरूपता नहुँदा सामुदायिक विद्यालयको गुणस्तरमै समरूपता आउन नसेकाले कतै विद्यार्थीको धेरै चाप र कतै विद्यालय नै खाली हुने अवस्था छ । जसले गर्दा विद्यार्थी घर पायकको विद्यालय छोडेर धेरै टाढासम्म ८–१० वटा सडकका चोक पार गरेर पनि विद्यालय जाने गरेको पाइएकाले यो अवधारणा लागू भए शिक्षाको स्तरमात्र सुधार गर्ने नभई विद्यार्थीलाई यति टाढासम्म जानुपर्ने अवस्था पनि अन्त्य गर्ने उपमहानगरपालिकाको भनाइ छ ।

यो अवधारणामा निश्चित मापदण्डको आधारमा नगर भित्रका सामुदायिक विद्यालयलाई ८ वटा समूह (क्लष्टर) मा विभाजन गरिएको छ । ती समूहमा पर्ने कमजोर विद्यालयको नेतृत्व शैक्षिकस्तर राम्रो भएको विद्यालयलाई अभिभावक विद्यालयको रूपमा तोकिएको छ ।

सबै क्षेत्रमा परिवर्तन गर्न सबैभन्दा पहिले शिक्षामा सुधार गर्नुपर्ने भन्दै यो अवधारणा कार्यान्वयन भए १० वर्ष पछिको बुटवलको अवस्थामा उल्लेख्य सुधार हुनसक्ने विश्वास गरिएको छ ।

स्थानीय सरकार गठनपछि शिक्षा ऐन नियमावली निर्माण, छात्रवृत्ति वितरणसम्बन्धी नीति कार्यविधि, स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण, शिक्षक दरबन्दी वितरण, विद्यालयको भवन, प्रयोगशाला जस्ता भौतिक पूर्वाधार निर्माण भईरहेको र यो योजनाले शैक्षिकस्तर सुधारमा सघाउ पुग्ने उपमहानगरले विश्वास गरेको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मी बताउँछन् ।

अवधारणा कार्यान्वयनको अवस्था
विद्यालयहरूमा एउटै प्रकारको रङ लगाउने काम भइरहेको छ । हालसम्म १ दर्जन विद्यालयमा नयाँ रङरोगन गरिसकिएको छ । यस्तै अभिभावक विद्यालय छनौटका लागि बनाइएको मापदण्ड अनुसार काम भए नभएको बारेमा विषयविज्ञहरूले नियमित अनुगमन गरी प्रतिवेदन तयार पारेका छन् । अवधारणा कार्यान्वयनका लागि यसअघि नै नगर शिक्षा समितिको बैठकबाट अभिभावक विद्यालय छनौट गरिएको थियो । नगर कार्यपालिकाले यसको अनुगमन गर्नेछ भने अनुगमनका लागि सूचकसमेत तय गरिएको छ ।

अवधारणाका सम्बन्धमा सरोकारवालाहरूलाई अभिमुखीकरण गराउने काम पनि भएको छ । विद्यालयका प्रअ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रतिनिधि र शिक्षा सम्बन्धी सरोकारवालाहरूलाई विषयविज्ञहरूमार्फत् अभिमुखीकरण गराइएको शिक्षा शाखा प्रमुख टिकाराम पन्थीले जानकारी दिए ।

यसैगरी अभिभावक विद्यालयमा विषयगत विभागहरू गठन गरिएको छ । विषयगत शिक्षक प्रमुख सदस्य रहनेगरी गत माघमा विभागहरू गठन गरिएको छ । यसको पनि मासिक रूपमा प्रतिवेदन तयार पारेर समीक्षा भइरहेको छ । अभिभावक विद्यालयका शिक्षकबीच मासिक रूपमा अन्तरक्रिया तथा कार्यशालासमेत सञ्चालन भइरहेका छन् । ती सबै शिक्षक र कर्मचारीका लागि आवश्यक झोला, स्टेशनरीलगायतको समेत प्रबन्ध गरिसकिएको छ ।

अहिले विज्ञ समूहको प्रतिवेदनका आधारमा विद्यालयमा न्यूनतम भौतिक तथा शैक्षिक मापदण्ड तयार गर्न विज्ञ समूहको कार्यशाला सञ्चालन गर्ने तयारी भइरहेको छ । यसैगरी फिडर विद्यालयको भौतिक तथा शैक्षिक मापदण्ड सम्बन्धी अध्ययन प्रतिवेदन तयार भइरहेको छ ।

यस्तै सबै विद्यालयमा शिक्षकले नेपाल सरकारले तोकेको पोशाक लगाउने र विद्यार्थीका लागि फिडर विद्यालयबाट निर्धारण गरिएको पोशाक कार्यान्वयन शुरू भएको छ । साथै शिक्षा नियमावलीमा भएको व्यवस्था अनुसार सबै विद्यालयहरूमा प्रतिस्पर्धाका आधारमा प्रअको व्यवस्थापन गरिएको छ । अहिलेसम्म भएका कामको अनुगमन तथा निरिक्षण र सुपरीवेक्षणका लागि समेत विषय विज्ञहरूलाई खटाइएको उपमहानगरले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *