डा. बस्नेतले उकेराकर्मीलाई धम्क्याएकोप्रति पत्रकार महासंघले भन्यो- ‘धम्क्याउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो’

काठमाडौँ । कोभिड-१९ केन्द्रीय युनिफाइड अस्पताल (वीर अस्पताल) का निमित्त प्रमुख प्रशासकीय अधिकारी डा. भूपेन्द्र बस्नेतले उकेराकर्मी उपेन्द्र खड्कालाई धम्क्याउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले जनाएको छ ।

महासंघ केन्द्रीय समितिका महासचिव रोशन पुरीले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘नागरिकलाई सुसूचित गर्ने दायित्व निर्वाहमा जुटेका पत्रकारलाई कुनै पनि पक्षबाट धम्क्याउनु निन्दनीय हुनुका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हो ।’

प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न र प्रेस स्वतन्त्रता विरोधि यस्ता हर्कत नियन्त्रणमा गम्भीर हुन महासंघ केन्द्रीय समितिले ध्यानाकर्षण समेत गराएको छ । आफ्नो बारेमा समाचार लेखेको तथा समाचारलाई सामाजिक सञ्जालमा सेयर गरेकाले साइबर क्राइमको मुद्दा लगाउनले भन्दै डा. बस्नेतले धम्की दिएका थिए ।

महासंघ काठमाडौँ शाखा र उपत्यका प्रदेश समितिले समेत बस्नेतले धम्क्याएकोप्रति भर्त्सना तथा निन्दा गर्दै प्रेस विज्ञप्ति जारी गरेका छन् । महासंघ काठमाडौँ शाखाले बिहीबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘प्रकाशित समाचारका विषयमा असन्तुष्टि रहे कानुनी उपचार खोज्ने प्रशस्त आधार र बाटो हुँदाहुँदै पत्रकारलाई धम्क्याउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कार्य हो ।’

महासंघ काठमाडौँ शाखाका अध्यक्ष सूर्य सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पत्रकारको सुरक्षा र स्वतन्त्रतामा गम्भीर बन्न र निर्बाध रूपमा समाचार संकलनको वातावरण बनाउन हामी सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछौ ।’

नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले भर्त्सना गरेको छ । महासंघले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रेस विरोधी यस घटनाको उपत्यका प्रदेश समिति कडा भर्त्सना गर्दै पत्रकारको सुरक्षा र स्वतन्त्रतामा गम्भीर बन्न र निर्बाध रूपमा पत्रकारलाई समाचार संकलनको वातावरण तय गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछौँ ।’

समाचार लेखेमा नराम्रो हुने धम्की दिनु र सामाजिक सञ्जालमा समाचार लिंक सेयर गरेको बहाना बनाएर पत्रकारलाई धम्क्याउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र वाक स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको महासंघ प्रदेश समितिले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + twelve =