स्थानीयको उजुरीपछि रोकियो निर्माणाधीन सडक

काठमाडौँ । उदयपुरको रौतामाई गाउँपालिकामा निर्माणाधीन सडक स्थानीयहरूको उजुरीपछि रोकिएको छ । गाउँपालिकाको वडा नं. ४ मा पर्ने भगवती सामुदायिक वनको झिल्के पाखा (पाखाल्नी) हुँदै बनिरहेको भाते–निगाले–रुवाला सडकखण्ड स्थानीयहरूको उजुरीपछि रोकिएको हो ।
सम्बन्धित निकायको अनुमति तथा सल्लाहबिना बाटो खनिएको र बढी रुखहरू ढालिएपछि उजुरी गरिएको एक स्थानीयले बताए । ‘सडक डिभिजन तथा सामुदायिक वनका सम्बन्धित व्यक्तिकाे अनुमतिसमेत नलिइ बाटो निर्माण गरिएको र बढीभन्दा बढी वन फँडानी भएपछि स्थानीयहरूले उजुरी गरेका हुन्,’ उनले भने, ‘अहिले सडक रोकिएको छ ।’
अहिले भने सडक डिभिजनकै निर्देशनमा निर्माण कार्य रोकिएको हो । अनुमतिबिना सडकको काम थालिएको उक्त स्थानमा साना–ठूलागरी झन्डै १०० को हाराहारीमा रुखविरुवाहरू ढालिएको उनकाे भनाइ छ ।
यससँगै गाउँपालिकाकै ५ लाख लगानीमा निर्माण भइरहेको सडक निर्माण अनिश्चित बनेको छ । त्यहाँ नजिकैबाट अर्कौ ट्र्याक ओपन गर्ने भनिएपछि भौगोलिक रूपमा कमजोर हुने प्राविधिकहरूले बताएका छन् । डिभिजन वन कार्यालय, त्रिवेणी कटारीका वन अधिकृत फणिन्द्र पोखरेलकाअनुसार दोषीमाथि चाँडै कारबाही प्रारम्भ हुने छ ।
उदयपुरको सुन्तलाका लागि प्रसिद्ध ठाउँ निगालेलाई सोही सडकले जोड्दछ ।








