गिदी बिनाका मान्छेहरू

गिदी बिनाका मान्छेहरू

पूँजीवादले
पृथ्वीको पश्चिमी गोलार्धबाट,
पूर्वतिर फर्केर
हस्तमैथुन गरेर झरेको‌ वीर्यलाई
आधुनिकताको ल्याबमा लगेर
सत्ताले कोरलेपछि
जन्मिएका हुन्
गिदी बिनाका, ती विकासे मान्छेहरू ।

ती विकासे मान्छेहरूको व्यवहारमा लेखिएको छ
‘डिजाइन्ड बाइ यूरोप एन्ड अमेरिका
म्यानुफ्याक्चर्ड बाइ क्यापिटलिजम् ।’

त्यसैले त मिल्दैन,
तिनीहरूको दृष्टिकोण,
आम मान्छेहरूसँग ।

जस्तैकी
तिनीहरूको दृष्टिकोणमा
कालिगण्डकी जस्तो नदी,
मात्रै ढुङ्गा, बालुवा बोक्ने भरिया हो ।
तमोर नदीका जस्ता किनारहरू,
मात्रै पागल डोजर दौडाउने उपयुक्त ठाउँ हो ।
तर
आम मान्छेहरूको दृष्टिकोणमा
कालिगण्डकी जस्ता नदीहरू,
तमोर नदीका जस्ता किनारहरू,
मानव सभ्यताहरूका उद्गम बिन्दुहरू हुन् ।
मुन्धुमहरूको सत्य पुष्टि गर्ने प्रमाणहरू हुन् ।

ती विकासे मान्छेहरूले लगाएका छन्,
डुप्लिकेट उत्तरआधुनिकताको कालो चस्मा ।

त्यसैले त
मुक्कुमलुङजस्ता पहाडहरूलाई
असहजताको हिमालमात्रै देख्छन्
र मौलिकतालाई कुल्चने
केबलकारको योजना बनाउँछन् ।

त्यसैले त
टेम्केजस्ता अग्ला डाँडाहरूबाट तल हेर्दा
देख्दैनन्, सुन्दर दृश्यहरू
र बनाउँछन्,
अग्लो डाँडाहरूमाथि, अग्लै भ्यू टावरको योजना ।

गिदी बिनाका, ती विकासे मान्छेहरूको टाउकोमा
सेट गरिएको छ,
हाफ जीबीकाे मेमोरी ।
जसभित्र छ, ’नयाँ नेपाल परियोजना’ नाउँ गरेको फोल्डर ।

जहाँ
थुप्रै कुमारी गाउँहरूलाई निर्मम बलत्कार गर्ने, योजनाहरू छन् ।
थुप्रै चुरेहरूको अपहरण गर्ने, डेमोहरू छन् ।

त्यसैले त मिल्दैन, तिनीहरूको काम,
आम मान्छेहरूको अनुकूलतासँग ।

प्रकृतिको चिहानमाथि इँटाको जीवन रोप्न खोज्ने
तिनीहरूको चर्तिकलाले आक्रान्त भएर,
कुनैदिन विद्रोहमा निस्किनेछ, प्रकृति ।

त्यतिबेला तिनीहरूले भोग्न निश्चित छ,
पहिलो तर अन्तिम
मृत्युभन्दा क्रूर सजाय ।
किनकी
‘सोधुङ्गेन लेप्मुहाङ’को डुङ्गामा
तिनीहरूको कुनै स्थान रहने छैन ।

प्रतिक्रिया

One thought on “गिदी बिनाका मान्छेहरू

  1. प्रखर युवा कवि प्रदीप यङहाङका हरेक कविताहरु चाख लाग्दा र नयाँ स्वादका हुन्छन्। लेखन निरन्तर चलिरहोस। प्रगतिको कामना।

Leave a Reply

Your email address will not be published. Required fields are marked *