कोशी अस्पतालमा बेवारिसेलाई उपचार पाउनै कठिन

विराटनगर । विराटनगरमा रहेको कोशी अस्पतालको कोभिड आइसोलेसन भवनको बरण्डामा एक पुरुष गत बिहीबार अलपत्र अवस्थामा भेटिए ।  कोही त्यहीँ हिँडिरहेका व्यक्ति र अस्पताल भित्रैका  कर्मचारीले ती व्यक्तिलाई देखे तर उपचार गरिदिनको लागि कोही अग्रसर भएन । अस्पतालको परिसर भित्रै छटपटाएर बसेका उनको अवस्था गम्भीर प्रकृतिको थियो ।

शरीरको भागहरू जलेको अवस्थामा त्यहाँ पुगेका उनको शरीरको भागहरू कुहिएर झर्न थालेका थिए । कोशी अस्पतालभित्र थुप्रै इकाईहरू छन्, जसले सामाजिक सेवामा काम गर्नु पर्ने हुन्छ तर कसैको आँखा त्यहाँ पुग्न सकेन । भुईँमै ढलेका व्यक्तिलाई पनि उपचारको लागि पहल गर्ने काम कसैबाट पनि भएन ।

अस्पताल भित्रैका प्रहरीहरूले व्यक्तिको बारेमा सबै शाखा, मेडिकल सुपरिटेन्डेन्टलाई पनि समस्याको बारेमा जानकारी गराए त्यहाँ पनि सुनुवाइ भएन । पछि  आइसोलेसनमा राख्ने व्यवस्था मिलाए ।  दुङ्दुङी गन्हाएको शरीरलाई उपचार गर्न थालिए पनि हेरालु कोही भएन । आफन्तहरू पत्ता लाग्न नसक्दा लामो समयदेखि उनी अप्ठेरो अवस्थामा उपचाररत छन्  ।

महानगरपालिकाले उपचार अवधिभरको लागि अस्पताल भित्रकै एक जना कार्यालय सहयोगीलाई हेरचाहको लागि रकम दिए पनि ती व्यक्तिले उपचारमा ध्यान अस्पताल प्रशासनले नदिएको स्थानीय स्वस्तिका पोखरेल बताउँछिन् ।  ‘शरीरका भाग कुहिएको अवस्थामा थियो, उनले भनिन्, कसैले छुन समेत मानेनन्, पछि मात्र इमर्जेन्सीमा गएर ड्रेसिङ पछि भर्ना भएको थियो ।’


उपचार गर्न थालेको केही दिन पछिदेखि उनले आफ्नो नाम गोविन्द श्रेष्ठ  बताए । पाख्रिवास नगरपालिका वडा नम्बर ९ घर बताउने उनको बुबा हरि प्रधान भएको सुनाए  । उनकै भनाईलाई आधार मान्ने हो भने उनी पाख्रिवास नगरपालिका तथा हिलेका हुन् । मानसिक रूपमा केही विक्षिप्त देखिएका उनलाई अस्पतालसम्म छाड्ने काम गाउँकै रातमाटेका भिनाजु पर्ने बुढाथोकी थरका व्यक्तिले ल्याएको उनले सुनाए ।  शरीरका सबै भागहरू जलेको अवस्थामा छ ।

उनी कसरी त्यस्तो अवस्थामा पुगे भन्ने बारेमा स्पष्ट बताउन नसक्ने उनले खयर लोड गर्ने क्रममा बालिएको आगोमा परेको सुनाए ।  उनी अहिले पनि बेवारिसे अवस्थामा उपचाररत छन् । उनको अभिभावक अहिलेसम्म पनि नआएको अस्पताल प्रशासन बताउँछ ।

कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा यज्ञ खरेलले  बेवारिसे अवस्थाको बिरामी भएकोले उपचारमा समस्या भएको बताए । बेवारिसे अवस्थाका बिरामीलाई अस्पतालको सामाजिक सुरक्षा इकाई मार्फत उपचार चराउन सक्ने अवस्था नभएको उनले सुनाए । ‘सामाजिक सुरक्षा इकाई मार्फत नाम वतन खुलेका व्यक्तिको विवरण उल्लेख गरेपछि मात्र सहयोग हुने गरेको छ’, उनले भने,   ‘नाम वतन नखुलेका व्यक्तिको हकमा स्थानीय तहले सहयोग गर्नु पर्ने कानुनी व्यवस्था छ ।’

ती बिरामीको उपचारको काम शुरु भए पनि अभिभावक पत्ता नलाग्दासम्म समस्या हुने उनको भनाई छ। औषधीमा अभाव नहुने उनको दाबी छ। ‘बिरामीलाई जिम्मा लिइदिने मान्छे भए सहज उपचार हुने थियो, उनले भने, उपचार गराउने पक्षको अभाव देखिएको छ, हामी उपचार गर्ने पक्ष पर्‍यौँ ।’

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले अस्पताल भित्रै पनि मानवीयता नदेखिएको गुनासो गरे । संघीय सरकार मातहतको यति ठूलो अस्पतालमा एक जना बिरामी आफन्तविहीन उपचारको लागि आउँदा सहज उपचार पाउन नसक्नु विडम्बना रहेको उनले भनाई छ ।

‘हामीले हेरालु राख्नको लागि पैसा दिँदा पनि उ बसेर हेर्ने वातावरण पनि अस्पताल बनाएको छैन’, मेयर पराजुलीले भने, ‘भित्रैको कर्मचारीलाई पनि स्थानीय तहले हेर्न पैसा दिँदा समेत बसेर बिरामीको सेवा गरेको देखिएन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *