नेपालले युक्रेनकाे पक्ष लिएर गल्ती गरेको हो ?

नेपालको निर्णय सही छ : पूर्वपरराष्ट्र मन्त्री ज्ञवाली

काठमाडौँ । रसिया र युक्रेनबीचको तनाबले युद्धकै रूप लिएपछि अहिले विश्व नै विभाजित भएको छ । कोही युक्रेनको पक्षमा त कोही रसियाको पक्षमा खुलेका छन् । बाँकी कतै पनि नखुली मौन रहेका छन् । उसो त मौन रहनुलाई अहिले भइरहेको घटनालाई स्वीकार्नुका रूपमा पनि लिने गरिन्छ त्यसैले त भनिन्छ, मौन सम्मती लक्षणम्

नेपालले भने खुलेरै रसियाले गरेको आक्रमणको विरोध गरेको छ । रसियाको आक्रमणको लगत्तै फागुन १२ गते परराष्ट्र मन्त्रालयले युद्ध पिडित देश युक्रेनको पक्षमा विज्ञप्ति जारी गर्दै भन्यो–‘नेपालले कुनै पनि परिस्थितिमा सार्वभौमसत्ता सम्पन्न देशविरुद्ध कुनै पनि शक्तिको प्रयोगको विरोध गर्दछ र साथै कूटनीति र संवादबाट विवादको शान्तिपूर्ण समाधानमा विश्वास गर्दछ ।’

कतिपयले नेपालको यसो भनिहाल्न हुने थिएन भन्ने पनि धेरै निस्किए । यो नेपाल आफैँले अवलम्बन गरेको परराष्ट्र नीतिको विरुद्ध भएको विश्लेषण पनि गरियो । पूर्वप्रधान मन्त्रीसमेत रहेका सत्तारुढ दल एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले त नेपालले हतार गरेको टिप्पणी गर्दै भने, ‘नेपाल आफ्नो परराष्ट्र नीतिविपरीत गयो ।’

तर नेपाल सरकारले युक्रेनको पक्षमा आफुलाई उभ्याउने कुरामा पछि हटेन । बुधबार राति नेपालले संयुक्त राष्ट्रसंघको महासभामा यूक्रेनकै पक्षमा मतदान ग¥यो । नेपालका प्रतिनिधि अमृत राईले दुवै पक्षलाई निष्ठापूर्वक वार्ता जारी राख्न आग्रह गर्दै नेपालको धारणा राखे । उनले भनेका छन्, ‘अन्तर्राष्ट्रिय कानून, नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था र संयुक्त राष्ट्रसंघले शुरू गरेको सार्वभौमसत्ता, भू–भाग र राजनीतिक स्वतन्त्रताको सार्थकतामा नेपालको सिद्धान्तका आधारमा पेश भएको मस्यौदाको पक्षमा मत दिएको छ ।’

नेपालले युक्रेनको पक्ष लिँदै गर्दा नेपालका दुई छिमेकी देश भारत र चीन भने अनुपस्थित रहे । यसको मतलब उनीहरू तटस्थ रहे ।

यसपछि कतिपयले नेपालले ‘चीन र भारतले जस्तै तटस्थ बस्नुपर्ने थियो’ भनेर टिप्पणी गरिरहेका छन् । नेपालको यो कदमलाई पनि कतिपयले नेपालले पञ्चशिलको आफ्नो परराष्ट्र नीतिविपरीत मतदान गरेको दोहो¥याएका छन् भने कतिपयले नेपालको कदमलाई जायज मानिरहेका छन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारले ०७७ मंसिर २१ गतेसार्वजनिक गरेको परराष्ट्र नीतिमा ‘छिमेकीसँग स्वतन्त्र र सन्तलित सम्बन्ध बनाउने र असंलग्न नीतिमा दृढ रहने’ भनिएको छ । सरकारले यो नीतिविपरीत यूक्रेनको पक्षमा मतदान गरेको आलोचकहरूको तर्क छ ।

‘नेपालको कदम ठिक छ’

पूर्वपरराष्ट्र मन्त्री रहेका नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवाली नेपालको यो निर्णय सही भएको बताउँछन् । ‘अहिले नेपालले जे गरेको छ त्यो ठिक छ,’ ज्ञवालीले मकालुखबरसँग भने, ‘हामी यूक्रेन र रसियाको अहिलेको सन्दर्भमा नेपालको कदमलाई ठिक भन्छौँ, यही नै हुनुपर्थ्याे ।’

आफैँ परराष्ट्रमन्त्री हुँदा नयाँ परराष्ट्र नीति सार्वजनिक गरेको स्मरण गराउँदै उनले भने, ‘हामीले असंलग्न भनेका छौँ, यो भनेको भाग नै नलिने भन्ने मात्र अथवा कुनै पक्षमै नलाग्ने भन्नेचाहिँ होइन । असंलग्नको अर्थ साना र निर्धाहरूको संरक्षण पनि हो, पीडितको पक्षमा उभिनु पनि हो ।’

भारतका लागि पूर्वराजदूत निलाम्बर आचार्यको पनि नेपालको यो निर्णय आफ्नो परराष्ट्र नीतिविपरीत नभएको विश्लेषण छ । आचार्यले मकालुखबरसँग भने, ‘रुस–यूक्रेनको सम्बन्धमा नेपालले चालेको कदम एकदम सराहनीय छ । यसमा हुनुपर्ने यस्तै थियो ।’

नेपालले संयुक्त राष्ट्रसंघको महासभामा गरेको मतदानलाई रुसको विरुद्धमा भन्न नहुने उनको भनाइ छ । उनी भन्छन्— ‘यसलाई सञ्चारमाध्यमहरूले पनि रुसविरुद्ध भनेर नलेख्नुस् । यो भनेको सार्वभौमिकताको पक्षको मतदान हो । स्वाधीनता र स्वतन्त्रताको पक्षमा गरिएको मतदान हो ।’

नेपालले सही समयमा सही निर्णय लिएको र नेपालको यो कदमको सराहना गर्नुपर्ने आचार्यले बताए । ‘नेपालले चालेको कदमको जसरी ज–जसले व्याख्या गरेपनि नेपालले सही गरेको छ । यो विशेष परिस्थितिमा नेपालले राम्रो गरेको छ ।’

यस्तै पूर्वपरराष्ट्र सचिवसमेत रहेका परराष्ट्र नीतिका जानकार मधुरमण आचार्य पनि रसिया–यूक्रेन युद्धको नेपालको कदमलाई गलत नभन्न सुझाव दिन्छन् । नेपालको कदम आफूले अवलम्बन गरेको परराष्ट्र नीतिअन्तर्गत नै रहेको उनको दाबी छ । ‘असंलग्न नीति भनेको कुनै पक्ष नै नलिनु मात्रै होइन,’ आचार्यले भने, ‘असंलग्न भनेको ठिक/बेठिक, न्याय/अन्याय र गुण/दोष छुट्याउने काम पनि हो ।’

नेपालले पीडित यूक्रेनका पक्षमा बोल्नु गलत नभएको दोहो¥याउँदै उनी प्रश्न गर्छन्-‘तपाईं नै भन्नुस् त के बलियाले दुब्लालाई ड्याम्मै ठोक्नुचाहिँ पञ्चशीलअन्तर्गत भयो त ?’

अहिलेको परिस्थितिलाई ‘विशेष’ मान्नुपर्ने र यसमा नेपालले जे गर्नुपर्ने थियो, त्यही गरेको आचार्यको बुझाइ छ । ‘यसमा नेपाललाई दोषी देखाउनुपर्ने कुनै कारण छैन,’ उनले भने, ‘राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्नुपर्छ । नेपालको अहिलेको नीति राम्रो छ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *