युक्रेन युद्ध प्रभावितलाई सहयाेग गर्न चेल्सी क्लब बेच्दै अब्रामोभिच

काठमाडौँ । विश्वका धनी व्यक्तिहरूकाे सूचीमा रहेका रोमन अब्रामोभिच रसियन व्यापारी हुन् । उनकाे परिचय रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका नजिकका साथीका रूपमा समेत दिइन्छ ।

यिनै धनाढ्य अब्रामोभिचले भर्खरै एउटा सनसनीपूर्ण घोषणा गरेका छन् । रुसको आक्रमण खेपिरहेको युक्रेन युद्ध प्रभावितलाई सहयाेग गर्न उनले आफ्नो स्वामित्वको इंग्लिस फुटबल क्लब चेल्सी बिक्री गर्ने निर्णय गरेका छन् । उनकाे याे निर्णय अहिले विश्वभरि चर्चामा छ । क्लब बेचेर आउने पैसाले रसिया युक्रेन युद्ध प्रभावित तथा घाइतेहरूको उपचार गर्ने उनले बताएका छन् । बुधबार राति विज्ञप्ति जारी गर्दै उनले ‘दुःखका साथ क्लब बेच्ने निर्णयमा पुगेको’ जनाएका छन् ।

उनले एफ ए कपको पाँचौँ चरणमा लुटन टाउनसँगको खेल शुरू हुनु ६२ मिनेट अगाडि क्लब बेच्ने विज्ञप्ति सार्वजनिक गरेका थिए । यो खेल ३-२ ले जित्दै चेल्सी क्वाटरफाइनलमा पुगेको छ ।

अब्रामोभिचले सन् २००३ को जुलाईमा चेल्सी क्लब किनेका हुन् । त्यसयता क्लबले १७ वटा महत्वपूर्ण ट्रफी जितेको छ । उनले चेल्सीलाई ‘क्लबको पावरहाउस’को रूपमा स्थापित गर्दै नयाँ युगमा प्रवेश गराएको जस पाउने गरेका छन् ।

समर्थनमा नारा
चेल्सीको खेलका क्रममा अब्रामोभिचको समर्थनमा समर्थकले नारा लगाएका थिए । उनले क्लबलाई सुधार गरेको र चेल्सीलाई उपाधि दाबेदारीमा सधैँ शीर्ष स्थानमा राखेको भन्दै उनको समर्थनमा क्लबका समर्थकले नारा लगाएका थिए । उनले क्लबको हितलाई ध्यानमा राखेर चेल्सी बेच्ने निर्णय गरेको र यो क्लबका समर्थक र क्लबको हितमा भएको जनाएका छन् ।

रुसी राष्ट्रपति पुटिनका साथी भएका कारण पछिल्लो समय उनीमाथि बेलायतमा विभिन्न प्रतिबन्ध लगाइएको छ भने आउजाउमा कडाइ गरिँदै आएको छ । केही समयअघि उनलाई बेलायतमा बस्न प्रतिबन्ध लगाइएको थियो । उनी ‘इन्भेष्टर भिसा’मा बेलायत बस्दै आएका थिए । अहिले उनको भिसाको अवधि सकिएको छ ।

क्लबको मूल्य कति ?
अब्रामोभिच क्लबलाई ३ अर्ब पाउन्ड (करिब ४.८६ खर्ब)मा बेच्ने जनाएका छन् । क्लब बेच्दा आएकाे सम्पूर्ण रकम ट्रस्ट बनाएर युद्धमा घाइते भएकाको उपचारमा लगाउने उनले बताए । ‘म १९ वर्ष अघि यो क्लबमा जोडिएको थिएँ । यो मेरो लागि निकै भावुक क्षण हो । मैले क्लब बेच्ने प्रक्रिया चाँडो टुग्याउन टिमलाई निर्देशन दिएको छु ।’

१४ अर्ब डलरका मालिक अब्रामोभिच
फोर्ब्स पत्रिकाको रिपोर्ट अनुसार रुसका अर्बपति अब्रामोभिचसँग करिब १४ अर्ब डलर सम्पत्ति छ । फोर्ब्सले सार्वजनिक गरेको २०२१ को अर्बपतिको लिस्टमा उनी १४२ औँ स्थानमा छन् । उनको साथमा प्राइभेट जेट विमान र धेरै विलाशी कारको कलेक्सन छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *