आयल निगमले आईओसीलाई तिर्न सरकारसँग माग्यो ४ अर्ब

काठमाडौँ । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशन(आईओसी)लाई दिनु पर्ने भुक्तानीका लागि रकम अभाव भएपछि सरकारसँग मागेको छ । गत १५ दिनमा आयल निगमले खपत गरेको पेट्रोलियमको भुक्तानी ८ मार्चमा आईओसीलाई पठाउन रकम अभाव भएपछि निगमले सरकारसँग रकमको जोहो गरिदिन माग गरेको निगमका निमित्त उपप्रबन्ध निर्देशक नागेन्द्र साहले मकालु खबरलाई बताए ।

‘निगमले ८ तारिकमा आईओसीलाई करिब १४ अर्ब रुपैयाँ भुक्तानी दिनुपर्ने भएको छ,’ मकालु खबरसँग उनले भने, ‘तर निगमको खातामा पेट्रोलियम बिक्रीबाट करिब १० अर्ब रुपैयाँ मात्रै संकलन भएको छ । बाँकी रकमको जोहो गरिदिन वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निगमले बुधबार लिखित पत्राचार गरिएको हो ।’ निगमले मूल्य स्थिरिकरण कोषबाट रकमको जोहो गरिदिन पत्राचार गरेको हो ।

निगमले पेट्रोल, डिजेल, मट्टीतेल, हवाइ इन्धन र खाना पकाउने एलपी ग्यासमा घाटा सहँदै आएकोले निगमले दिनुपर्ने भुक्तानी भन्दा कम रकम बिक्रीबाट संकलन भएको साहले बताए ।

निगमले पेट्रोलियम खरिदबापतको भुक्तानी आईओसीलाई प्रत्येक अंग्रेजी महिनाको ८ र २३ तारिकमा दिँदै आएको छ । मार्च ८ को भुक्तानी दिन ४ अर्ब नपुगेको हो । २३ मार्चसम्ममा निगमले झण्डै २५ अर्ब रुपैयाँ आईओसीलाई भुक्तानी दिनुपर्ने हुन्छ । यसअघि पनि जनवरी महिनाको भुक्तानी दिन निगमले मूल्य स्थिरिकरण कोषबाट १ अर्ब ८० करोड रुपैयाँ रकम लिएको थियो ।

मंगलबार मात्रै निगमलाई आईओसीले सबै किसिमका पेट्रोलियम इन्धनमा मूल्य बढेको नयाँ मूल्य सूची पठाएको छ । उक्त नयाँ मूल्यसूची अनुसार निगमलाई १५ दिनमा ३ अर्ब ९ करोड रुपैयाँ घाटा हुने भएको छ । नयाँ मूल्यसूची अनुसार खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ५६५ रुपैयाँ, पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल र मट्टीतेलमा प्रतिलिटर १६ रुपैयाँ घाटा हुने जनाइसकेको छ ।

नयाँ मूल्य सूची

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *