नेपालले संसदबाट एमसीसीसँगै पारित गरेको ‘व्याख्यात्मक घोषणा’ हेरेका छाैँ : चीन

काठमाडाैँ । संसदबाट अमेरिकी सहयाेग परियाेजना पारित भएसँगै चीनले प्रतिक्रिया दिएकाे छ ।
एमसीसी पारित भएपछि नेपालबारे पहिलाे प्रतिक्रिया दिँदै चीनले नेपालकाे संसदले एमसीसीसँगै पास गरेकाे व्याख्यात्मक घाेषणापत्र हेरेकाे बताएकाे हाे । सोमबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा बाेल्दै चिनियाँ परराष्ट्र प्रवक्ता वाङ वनपिनले यस्ताे बताएका हुन् ।
‘चीनले नेपालको संसदबाट एमसीसीसँगै पारित गरेको ‘व्याख्यात्मक घोषणा पत्र’ हेरेको छ । अन्तर्राष्ट्रिय विकास र सहकार्यले पारस्परिक समानता र समानताको सिद्धान्तको पालना गर्नुपर्ने, सम्बन्धित मुलुकको सर्वभौमिकता र जनताको इच्छालाई सम्मान गर्नुपर्ने, अरु मुलुकको आन्तरिक मामिलाको हस्तक्षेप गर्न नहुने, कुनै पनि राजनीतिक पूर्वशर्त नथप्ने, आफ्नो हितका लागि अरु मुलुकको सर्वभौमिकता र हितलाई हानी नपुर्याउनुपर्ने कुरामा चीनले धेरै पटकमा जोड दिँदै आएको छ’, उनले पत्रकार सम्मेलनमा भने ।
त्यस्तै, उनले अगाडि भनेका छन्, ‘नेपाली संसदको व्याख्यात्मक घोषणा अनुसार नेपालको संविधानको प्रभाव एमसीसीभन्दा उच्च हुन्छ । एमसीसीका कारण अमेरिकाको ‘हिन्द प्रशान्त रणनीति’को सैन्य र सुरक्षा गठबन्धन नेपाल बन्ने छैन । नेपालले एमसीसी समस्यामा मात्रै अमेरिकाको नीति र कानूनलाई सम्मान गर्ने छ । नेपालमा अमेरिकाको कारवाही नेपालको कानुनद्वारा नियन्त्रण र अनुगमन गरिने छ’, भन्ने जानकारी हामीले पाएका छौँ ।’
त्यस्तै, उनले एक मित्रवत् छिमेकी र विकास साझेदारका रूपमा चीनले नेपाली जनताको विकासको छनोटलाई समर्थन गर्ने समेत बताएका छन् ।
चीनले एमसीसीबारे यसअघि पनि पटकपटक प्रतिक्रिया सार्वजनिक गर्दै आएको छ ।








