प्रदेश १

कांग्रेस संसदीय दलको निष्कर्ष : सरकारको काम चित्तबुझ्दो भएन

विराटनगर । कांग्रेस संसदीय दलले प्रदेश नम्बर १ सरकारको तीन महिने कार्यकालको समीक्षा गर्दै कामको प्रभावकारिता चित्तबुझ्दो र परिणाममुखी नदेखिएको निष्कर्ष निकालेको छ ।

संसदीय दलका नेता राजीव कोइरालाको अध्यक्षतामा बसेको बैठकले गठबन्धन सरकार मूल मर्ममा गठन भएको थियो त्यसअनुसार अघि बढ्न नसक्दा गठबन्धनको संस्कृति र मूलआत्माबाट नै विमुख भएको देखिएको ठहर गरेको छ । बैठकले दलहरूको बिचमा सहमति हुनुपर्ने, मन्त्रीहरूको बीचमा समन्वय हुनुपर्ने, मन्त्री तथा मुख्यमन्त्रीबीच सरसल्लाह हुनुपर्ने, दल दलहरुबीच अनि नेता नेताहरुबीच पनि समन्वयको अभाव देखिएको कांग्रेस सचेतक सूयर्माराज राईले बताए । ‘सरकारले सामान्य काम पनि गरेको छैन गम्भीरता देखिएको छैन,’ उनले भने, ‘अब सरकार गम्भीर हुनुपर्छ ।’

बैठकमा प्रदेश नामकरणको विषय सरकारले तुरुन्त प्रस्ताव टेबुल गर्नुपर्ने विषयमा पनि छलफल भएको थियो । नेपाली कांग्रेसको संसदीय दलको नेता राजीव कोइरालालाई उच्चस्तरीय संयन्त्रको संयोजक तोकिएको तर त्यहाँ जुन तहमा समन्वय र सरसल्लाह गर्नुपर्ने त्यो नदेखिएको कांग्रेस संसदीय दलको निष्कर्ष रहेको सचेतक राईले बताए ।

मुख्यमन्त्री कार्यालयबाट अनौपचारिक रूपमा कर्मचारीलाई तर्साउने, धम्क्याउने र गैरआधिकारिक व्यक्तिबाट सरुवा गरिदिन्छु भन्दै आतंकित गर्ने काम गरिएको बारे पनि छलफल भएको छ । कांग्रेसले यस विषयमा सरकारको ध्यानाकर्षण गराउने पनि जनाएको छ ।

सरकारले तीन महिनाको अवधिमा जनता सामु जान नसकेको र खासै उपलब्धिपूर्ण काम गर्न नसकेको कांग्रेस संसदीय दलको ठहर भएको बताए । प्रदेश १ मा गत कात्तिक १६ गते नेकपा एकीकृत समाजवादीका राजेन्द्रकुमार राईको नेतृत्वमा पाँच दलीय गठबन्धनको सरकार बनेको छ । सरकारभित्रको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *