संसद् भवनको सुरक्षामा कडाइ, बारमाथि लगाइयो काँडेतार

काठमाडौँ । एमसीसी संसद‍्मा पेस भएपछि बढेको प्रदर्शनलाई मध्यनजर गर्दै संसद् भवनको सुरक्षा थप बलियो बनाइएको छ । आज बस्ने प्रतिनिधिसभा बैठकको समयमा संसद् भवन क्षेत्रलाई केन्द्रित गरी प्रदर्शन हुन सक्ने भन्दै सुरक्षा थप बलियो बनाइएको हो ।

प्रहरीले संसद् भवनको बाहिरी घेरामा रहेको पर्खालमा काँडेतार लगाएको हो । प्रदर्शनकारी र प्रहरीबीच हुन सक्ने सम्भावित झडपलाई ध्यान दिएर पर्खाललाई तारले घेरिएको जनाइएको छ । एमसीसी प्रस्ताव टेबुल हुने भएपछि दिनभर नयाँ बानेश्वर र आसपासको क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच पटकपटक झडप भएको थियो ।

एमसीसी प्रस्ताव टेबुल हुनु एक हप्ताअघिदेखि नयाँ बानेश्वरसहित उपत्यकाका विभिन्न क्षेत्रमा विरोध प्रदर्शन हुँदै आएको छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनमोर्चालगायतका भ्रातृसंगठन आन्दोलनमा उत्रिएका छन् । उनीहरूले आजबाट आन्दोलन अझै चर्काउने घोषणा गरेका छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीले सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारेको बताएका छन् । ‘अहिलेसम्म अवस्था शान्तिपूर्ण छ तर, हामी सम्भावित सुरक्षा खतराबारे अलर्ट छौँ,’ उनले मकालुखबरसँग भने, ‘प्रहरी परिचालित भएको छ । गस्ती बढाएका छौँ ।’ विशेषगरी नयाँ बानेश्वर, बबरमहल, माइतीघर क्षेत्रमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी खटाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *