कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनी चितवनमा हुँदै

काठमाडौँ । कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनी नेपाल एग्रिटेक एक्सपो चितवनमा आयोजना हुने भएको छ । १३ फागुन बिहीबारदेखि आयोजना हुने उक्त प्रदर्शनी १५ फागुनसम्म चल्ने भएको छ ।

कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्सले उक्त प्रदर्शनीको आयोजना गर्न लागेको हो ।

प्रर्दशनीमा स्वदेशी तथा विदेशी कृषि सम्बन्धी कम्पनीहरुका १५० भन्दा बढी स्टलहरु रहने आयोजकले जाएको छ ।

प्रर्दशनीमा कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैंसी पालन, डेरी लगायत कृषिका नविनतम औजार, उपकरण, केराखेती, थोपा सिचाई, र बिषादी रहित कृषिका बारेमा तालिम एवं गोष्ठी समेत सञ्चालन हुने छन् ।

निःशुल्क प्रवेशको व्यवस्था गरिएको उक्त प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्याउने साना साना औजार, मेशिनदेखी लिएर डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने ठूला–ठूला उपकरणको प्रदर्शनी लगायत डेमो पनि गरिने तथा नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा सहयोग पुग्ने आयोजकले जनाएको छ ।

नेपाल एग्रिटेक प्रदर्शनीसँगै नेपाल फुड एन्ड बेभेरेज एक्स्पो पनि आयोजना हुने भएको छ । यस प्रदर्शनीमा फुड एन्ड बेभेरेज एक्स्पो अन्तर्गत होटेल तथा रेस्टुरेन्ट, होस्टेल, क्याफे, क्याटेरिंग लगायत व्यवसायमा प्रयोग हुने विभिन्न खाद्यान्न सामग्री तथा उपकरणहरु समावेश हुने बताइएको छ ।

प्रदर्शनीमा कृषक तथा सरोकारवालालाई कृषि प्रविधि, कृषिका विभिन्न विधा बारे जानकारी गराउने कार्यक्रमसमेत रहेको जनाइएको छ । प्रदर्शनी अवधिमा पर्यटन, होटल तथा यातायात सेवा मार्फत देशको आर्थिक कारोबार बढ्ने हुँदा रोजगार तथा आय आर्जनमा सहयोगी भई दुई वर्षदेखि कोभिड १९ ले थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन समेत सहयोग पुग्ने बताइएको छ ।

प्रदर्शनीको उद्घाटन बागमती प्रदेशकी कृषि मन्त्री बसुन्धरा हुमागाईले गर्ने कार्यक्रम छ ।

यस प्रर्दशनीलाई सफल बनाउनका लागि कृषि तथा पशुपन्छी बिकाश मन्त्रालय, कृषि विभाग, पशु सेवा विभाग, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, राष्ट्रिय कृषक समूह महासंघ, नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड, नेपाल पोल्ट्री महासंघ, चितवन उद्योग संघ लगायतका विभिन्न संघ संस्थाले सहयोग गरेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *