हिमचितुवामा ‘रेडियो कलर’ बाँध्दा देखिएका चुनौती

हिमाली क्षेत्र, कञ्चन नदीहरू र हरियाली जंगल डोल्पा जिल्लाका मुख्य विशेषता हुन् । विशाल हिमालयको काखमा अवस्थित डोल्पाको उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बत पर्छ । नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज शे–फोक्सुन्डो यही जिल्लामा पर्छ । यस क्षेत्रमा हाब्रे (रेड पान्डा), हिमाली ब्वाँसो, नाउर, कस्तुरी मृग र झारलजस्ता विविध प्रकारका र देख्नै मुश्किल पर्ने वन्यजन्तु पाइन्छन् । बिरलै देखिने हिमचितुवा समेत आवतजावत गर्ने क्षेत्र हो यो ।

सन् २०२१ फेब्रुअरी महिनामा म शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जसँग एक प्रशिक्षार्थीको रूपमा जोडिने अवसर पाएँ । त्यतिबेला सो राष्ट्रिय निकुञ्जले डोल्पाको निस्यालमा ‘टेलिमेट्री एक्सपेडिसन’ सुरुवात गर्ने तयारी गरिरहेको थियो । त्यसका लागि हिमचितुवाको गर्धनमा रेडियो कलर बाँध्नुपर्थ्यो । त्यसको उद्देश्य जंगली जनावरको ओहोरदोहोरबारे जानकारी संकलन गर्नु हो । त्यसका आधारमा वैज्ञानिकहरूले जंगली जनावरको वासस्थानको रोजाइ तथा अन्तर्राष्ट्रिय सीमामा उनीहरूले गर्ने यात्राबारे राम्रो जानकारी प्राप्त गर्छन् । यसबाट जंगली जन्तुबाट घरपालुवा जनावरमाथि हुने आक्रमण रोक्न पनि सहयोग पुग्छ । यो कार्यक्रमका हरेक चरणमा स्थानीयवासीलाई सहभागी गराउने अवधारणासहित यसको सुरुवात गरिएको थियो । जसअनुसार सो एक्सपेडिसन (अभियान)का क्रममा स्थानीयवासीको समितिका लागि तालिम पनि समेटिएको थियो, ता कि उनीहरूले कलर बाँधेपछि हिमचितुवाको आवतजावतबारे अनुगमन गर्न सकून् ।

यो अभियान वन्यजन्तु संरक्षण कोष (डब्लूडब्लूएफ) नेपाल, राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) र निस्याल हिमचितुवा संरक्षण समिति (एसएलसीसी)का सदस्यहरूसँगको साझेदारी र नेपाल सरकारको नेतृत्वमा सञ्चालन गरिएको थियो । सचेतना अभियान, हिमचितुवा अनुगमन र हिमचितुवाले खाएका घरपालुवा जनावरको क्षतिपूर्ति प्रदान गर्नेलगायतका गतिविधिमा संलग्न स्थानीयहरू एसएलसीसीमा आबद्ध छन् ।

सो टोलीमा वन तथा वातावरण मन्त्रालयका कर्मचारीहरू पनि सहभागी हुने तय भएको थियो तर पछि कोभिड महामारीका कारण मन्त्रालयका कर्मचारी सहभागी हुन नसक्ने जानकारी दिइयो । निकुञ्जका तीन जना कर्मचारीसँगै सो कार्यक्रममा सहभागी हुन पाउनु मेरा लागि एउटा सुनौलो अवसर बन्यो ।

निस्यालसम्मको लामो यात्रा
१ मेका दिन हामी डोल्पाको सदरमुकाम दुनईबाट प्रस्थान गर्यौं । हाम्रो टोलीमा डब्लूडब्लूएफ नेपाल, एनटीएनसी र एसएलसीसीका नागरिकस्तरका वैज्ञानिकहरूसहित २४ जना थियौँ । ३० वटा खच्चडलाई हाम्रा कपडा, उपकरणलगायतका सामग्री बोकाएर हामी गन्तव्य निस्यालतर्फ लाग्यौँ । त्यहाँ पुग्न सात दिन पैदल हिँड्नुपर्थ्यो । निस्यालमा पुगेपछि दुईवटा हिमचितुवालाई लठ्याएर तिनको गर्धनमा रेडियो कलर बाँध्ने टोलीको योजना थियो ।

तराईमा हुर्केको मजस्तो व्यक्तिका लागि कठिन पहाड र हिउँले छोपिएका हिमालका भञ्ज्याङ पार गरी निस्याल पुग्नु निकै चुनौतीपूर्ण बन्यो । रात परेपछि तापक्रम स्वाट्टै घट्यो र हिउँ पर्न थाल्यो जसले गर्दा हाम्रा टेन्टहरू भिजे । सुत्ने बेलामा जाडोले लगलगी कमाएको थियो । तर, त्यो यात्रा जति कठिन थियो, उत्तिकै रोमाञ्चक पनि किनभने हामी हाम्रो गन्तव्यनजिक पुग्दै गर्दा उत्साहित बनिरहेका थियौँ ।

५ हजार १ सय २५ मिटर उचाइमा अवस्थित झ्यांग्ला पास । एक्सपेडिसन टोली यो ठाउँ पार गरेर निस्याल पुगेको थियो (तस्वीर : डीएनपीडब्लूसी⁄डब्लूडब्लूएफ)

ट्रयाप जडान
दुनईबाट हिँडेको एक सातापछि हामी ३८ घरधूरी भएको निस्याल गाउँ पुग्यौँ । एक्सपेडिसन सुरु हुनुभन्दा एक वर्षअघि नै त्यहाँ क्यामेरा ट्र्यापहरू जडान गरिएको थियो । त्यहाँ पुग्नासाथ वैज्ञानिकहरूले तिनै क्यामराबाट प्राप्त विवरणलाई केलाउन थाले । क्यामेराबाट प्राप्त तस्बिर तथा भिडिओहरू अध्ययन गरेर हिमचितुवाहरूले बनाएको बाटो पहिल्याइएको थियो । जंगली जनावरहरूले बाटोमा हिँड्दा पिसाब गरेर र ठाउँ–ठाउँमा खोस्रेर आफ्नो क्षेत्रमा चिह्न बनाएका हुन्छन् ।

हिमचितुवालाई कब्जामा लिएर लठ्याउनका लागि एउटा डोरीलाई ट्रिगर थिच्ने बटनमा जोडिन्छ र त्यो जनावरलाई कुनै चोट नलाग्ने गरी पञ्जा बाँधेर नियन्त्रणमा लिने गरी डिजाइन गरिएको हुन्छ । कसरी ट्रयाप जडान गर्ने र सुरक्षितरूपले जनावरको गर्धनमा कलर बाँध्ने भनी डब्लूडब्लूएफ नेपालका फिल्ड रिसर्च अफिसर समुन्द्र सुब्बाले संक्षिप्तरूपमा जानकारी गराए । ट्र्यापबाट सिग्नल (संकेत) प्राप्त गरी बेसक्याम्प (आधारशिविर)मा पठाउनका लागि अग्लो ठाउँमा एउटा रेडियो टावर स्थापना गरियो ।

निस्यालमा रहेको मुख्य आधारशिविर (तस्बिर : डीएनपीडब्लूसी⁄डब्लूडब्लूएफ)

ट्र्याप ठ्याक्कै कहाँ बिछ्याउने भनी पहिल्याउनका लागि हामीले हिमचितुवा हिँड्डुल गरेका प्रमाणहरू पत्ता लगाउनुपर्ने थियो । यो काम ‘पार्कमा टहलिएजस्तो सजिलो’ भने थिएन । हामीले निरन्तर हिमचितुवाका पदचाप, खोस्रिएका चिह्नहरू वा डुङडुङती गन्हाउने उसको पिसाब भएका ठाउँ पत्ता लगाउन खोजिहिँड्यौँ । हिमचितुवा हुने ठाउँ पत्ता लगाउन सजिलो पक्कै थिएन ।

अन्ततः हाम्रो टोलीले विभिन्न स्थानमा २३ वटा ट्र्याप बिछ्यायो । क्यामरा ट्रयापबाट प्राप्त जानकारी तथा संकेतहरू र स्थानीय एसएलसीसीका सदस्यहरूसँग पर्याप्त छलफल गरेपछि त्यसका आधारमा सो काम गरिएको हो । प्रत्येक ट्र्यापमा एउटा ट्रान्समिटर जोडिएको थियो जसले कुनै कुरा ‘क्याप्चर’ गर्नासाथ रेडियो टावरमार्फत मुख्य क्याम्पमा सिग्नलहरू पठाउँथ्यो ।

त्यसपछि हामीले स्थानीयवासीलाई ट्र्यापहरू जडान गरिएका ठाउँमा नजान आग्रह गर्यौँ र त्यहाँ हिँड्डुल गर्दा ‘अलार्म’ बजेर झुक्याउन सक्ने हुँदा केही दिनका लागि ती ठाउँमा नगइदिन अनुरोध गरियो । कुनै पनि एक्सपेडिसनमा हिमचितुवा भेटिन्छ नै भन्ने निश्चित हुँदैन । हामीले आफ्नो तर्फबाट गर्नुपर्ने काममा कुनै कसर बाँकी राखेनौँ । त्यसपछि निकै आशा र धैर्यसाथ प्रतीक्षा गरिबस्यौँ ।

लक्ष्यमा केन्द्रित ध्यान

ट्र्यापबाट प्राप्त रेडियो सिग्नल हेर्दै लेखक (तस्बिर : डीएनपीडब्लूसी⁄डब्लूडब्लूएफ)

हामीले दिनको चार पटक रेडियो सिग्नलमार्फत ट्र्यापहरू हेर्थ्यौं । दुई दिनपछि बिहान करिब ६ बजे बेसक्याम्पमा अलार्म थिचियो । त्यसपछि हामीले हेर्दा सो अलार्म राप्का क्षेत्रबाट आएको थाहा भयो । त्यहाँ दुई दिनअघि ट्र्याप जडान गरिएको थियो । केही स्थानीयवासी र निकुञ्जका कर्मचारी ट्रिगर थिचिएको ठाउँमा हेर्न पुगे । उनीहरू टेलिमेट्री टोलीभन्दा पनि पहिले नै त्यहाँ पुगेका थिए । आधा घण्टापछि वाकीटकीको सेटबाट एउटा खुसीको खबर आयो– त्यो अलार्म सही थियो किनभने त्यहाँ जडान गरिएको ट्रयापमा एउटा हिमचितुवा परेको थियो ।

त्यहाँ टोली पुगेको १० मिनेटमा सो जनावरलाई लठ्याउनका लागि त्यसको अनुमानित तौल आकलन गरियो । डार्ट गन भनिने बन्दुकमार्फत लठ्याउने डोज लगाएको १० मिनेटमै सो हिमचितुवा लठ्ठियो । त्यसपछि स्ट्रेचरमा सुताएर सुरक्षित ठाउँतर्फ लगियो । त्यसो गर्दा उसको अनुहार छोप्यौँ किनभने औषधिले लठ्ठिए पनि उसले देख्न र सुन्न सक्ने हुँदा जोखिम हुनसक्थ्यो ।

एक जना पशु चिकित्सकले जनावरको समग्र स्वास्थ्य अवस्था अध्ययन गर्नुका साथै त्यसको जिउको आकार र तौल नाप लिए भने समुन्द्र सुब्बाले गर्धनमा एउटा जीपीएस कलर बाँधे । यी सबै काम पूर्वयोजनाका साथ तय भएअनुसार अत्यन्त व्यवस्थितरूपमा सम्पन्न गरिएको थियो किनभने सो जनावर निकै छोटो समयका लागि मात्र लठ्याइएको थियो । विज्ञहरूले त्यसलाई नियालेपछि सो जनावर भाले र ६ देखि ७ वर्ष उमेर भएको ठहर गरे । यी सबै गतिविधिहरू नजिकबाट नियालिरहँदा म भने अवाक् भएको थिएँ । लामो पुच्छर र मेरो अनुहार जत्तिकै ठूलो पञ्जा भएको त्यो सुन्दर प्राणीलाई मैले यति नजिकबाट नियालिरहेको छु भन्ने कुरा आफैँलाई विश्वास लागिरहेको थिएन ।

गर्धनमा कलर बाँधिसकेपछि पशु चिकित्सकले ब्युँझिने सुई लगाए । त्यसपछि हिमचितुवा विस्तारै ब्युँझियो । लठ्ठिइरहेको हिमचितुवा नदीमा नपसोस् भनी हामी सबै जना त्यहाँको एउटा नदीअगाडि उभियौँ । एक घण्टाजति पर्खेर अब ऊ आफ्नो बाससस्थानतर्फ जानलाई सुरक्षित छ भन्ने ढुक्क भएपछि मात्र त्यहाँबाट फर्कियौँ ।

६ दिनपछि अर्को एउटा हिमचितुवाको गर्धनमा पनि कलर बाँधियो । त्यो पनि भाले र उस्तै उमेरको थियो । कलर बाँधिएका ती दुई हिमचितुवाको पछि स्थानीय भिक्षुहरूले नामकरण गरे– एउटाको नाम घांग्री गापी ह्युल (जसको अर्थ हिमालले घेरिएको अत्यन्तै सुन्दर गाउँ भन्ने हुन्छ) र अर्कोको ल्यांगेन (उच्च हिमालय) राखियो ।

यस्ता एक्सपेडिसनबाट हिमचितुवालाई कसरी सहयोग पुग्छ ?
यी कलरहरूबाट प्राप्त हुने जानकारी हिमचितुवाको क्षेत्रगत पर्यावरण बुझ्न र पश्चिमी हिमालयन क्षेत्रसम्बन्धी जानकारीको अभावपूर्ति गर्नका लागि निकै महत्वपूर्ण हुनेछ । कलर बाँधिएका यी हिमचितुवाहरूलाई अब सरकार, जीवशास्त्रीहरूले निरन्तररूपमा अनुगमन गर्नेछन् । उनीहरूले त्यसकै सहयोगमा हिमचितुवाले सीमा वारपार गर्ने ओहोरदोहोर र वासस्थानबारे अध्ययन गर्नेछन् । सन् २०१३ मा यो कार्यक्रम सुरु गरेयता नेपालमा हालसम्म ८ वटा हिमचितुवालाई यस्ता कलर बाँधिसकिएको छ र नेपालमा हिमचितुवा रहने सबै क्षेत्रमा यो अभियान गर्ने योजना पनि रहेको छ ।

नेपाल सरकार, डब्लूडब्लूएफ, राष्ट्रिय निकुञ्ज र स्थानीय समुदायहरूको प्रयासका बाबजुद पनि आफ्ना वस्तुभाउ खाएपछि स्थानीयवासीले प्रतिवाद गरेर हिमचितुवा मार्ने गर्छन् । यस्ता गतिविधि न्यूनीकरण गर्नका लागि वस्तुभाउका लागि सुरक्षित स्थान छुट्याउने, राम्रो राहत कोषको व्यवस्था गर्ने र वस्तुभाउको बीमा गर्ने पहलहरू भइरहेका छन् ।

प्रतिवादमा हिमचितुवा मार्ने गतिविधि रोक्न पनि टेलिमेट्री अध्ययनबाट सहयोग पुग्छ । उदाहरणको लागि यदि कलर बाँधिएको जंगली जनावर गाउँबस्तीतर्फ आउँदै छ भन्ने जानकारी भयो भने एसएलसीसीजस्ता स्थानीय समूहले सो सूचना समुदायमा प्रसारण गर्छन् र गाउँलेले आआफ्ना वस्तुभाउलाई सुरक्षित राख्ने कदम चाल्न सक्छन् ।

हिमालय क्षेत्रमा संरक्षणको आवश्यकता टड्कारो छ । चुनौतीपूर्ण भूगोल र दुर्गम स्थानका कारण त्यस्ता क्षेत्रमा संरक्षणका काम गर्न निकै कठिन हुन्छ । तर एसएलसीसीका सदस्यहरूको समर्पण र संरक्षण अभियानप्रति स्थानीयहरूको सकारात्मक धारणाका कारण एक्सपेडिसन भने सफलतापूर्वक सम्पन्न भयो । हिमालय क्षेत्रमा हिमचितुवालाई संरक्षण गरी आगामी कैयौँ वर्षसम्म पनि ती जीवहरूको अस्तित्व जोगाउनका लागि यस्ता पहलकदमीलाई निरन्तरता दिनुपर्छ ।

(द थर्ड पोलमा प्रकाशित यो आलेख क्रिएटिभ कमन्स लाइसेन्सअन्तर्गत पुन: प्रकाशित ।)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.