यौनिक तथा लैङ्गिक अल्पसंख्यककाे तथ्यांक संकलन गरिने

काठमाडाैँ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको वास्तविक तथ्यांक संकलन गरिने बताएका छन् । .
मंगलबार मन्त्रालयले काठमाडौंमा आयोजना गरेको यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय र अन्य सरोकारवालाबीचको अन्तर्क्रिया कार्यक्रममा उनले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले धेरै समस्या भोग्नुपरेको भन्दै वास्तविक तथ्यांक संकलन गरेर समस्या समाधानको प्रयास गरिने बताएका छन् ।
उनले आफ्नो पहिचान सहितको नागरिकता नपाउने अवस्थालाई समेत अन्त्य गरिने प्रतिवद्धता जनाए । मन्त्री रेग्मीले आफ्नो अधिकार प्राप्तीका लागि संघर्ष गर्नुपर्नेमा जोड दिए । उनले संगठित भएर आवाजलाई बुलन्द बनाएर अघि बढे अधिकार प्राप्तिमा सहज हुने बताए ।
उनले मुलुकका सबै नागरिकको अधिकार प्रत्याभूत गर्ने जिम्मेवारी राज्यको भएपनि विभिन्न कारणले यसमा पर्याप्त ध्यान पुग्न नसकेको उल्लेख गरे ।
कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका प्रतिनिधिहरूले राज्यले आफूहरूको समस्यमाका बारेमा गम्भीरता दिन नसकेको गुनासो गरेका थिए ।








