प्रदेश १ काे नामकरणमा दलहरूको अलमल

विराटनगर । प्रदेश १ को नामको बारेमा दलहरूको फरक-फरक प्रस्ताव अघि सारेका छन् । प्रदेश १ काे मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित सर्वदलीय बैठकमा दलहरूले फरक-फरक नामहरू सार्वजनिक गरे भने केही दलहरू एकअर्काकाे मुख ताकेर बसेका छन् ।

अधिकांश दलहरूले पहिचानको पक्षमा कुरा गरेपनि कस्तो पहिचान हुने भन्ने उल्लेख गरेनन् । नेकपा एमाले प्रदेश १ का अध्यक्ष तुलसीप्रसाद नेउपानेले गठबन्धनको तर्फबाट साझा धारणा आउला र त्यो विषयमा छलफल हुनुपर्नेमा त्यस्तो नभएको बताए । नेकपाकाे सरकार भएको बेलामा दुई तिहाइले नै यो विषय निर्णय गरेर जानसक्ने भएपनि सबैलाई समेटेर लग्नका लागी ढिला गरेको बताए । ‘त्यो बेला पनि विभिन्न छलफल भए, सहमतिको आधारमा जाने र,नामको बारेमा साझा धारणाा बनाउने भनेर निर्णय भएको थियो, त्यो सम्भव भएन’, उनले भने, ‘अहिले सरकारसँग भएको बहुमतले साझा प्रस्ताव ल्याउनु पर्छ त्यसमा निष्कर्षमा पुर्याउन सक्नुपर्छ ।’

एमालेसँग बहुमत नभएकोले एमाले यस बारेमा तत्कालै यसो गरौँ भन्ने ठाउँमा नभएको उनले बताए । ‘बहुमत भएको दलको सरकारले साझा नाम ल्याउनु पर्यो’, उनले भने, ‘गठबन्धनभित्रका ५ दलका ५ थरी कुराले निचोडमा पुग्न सकिँदैन ।’ उनले विविधताको बिच, सद्भाव खल्बलिन नदिन र सद्भावलाई अझ बलियो बनाउने र सबैले शिर ठाडो पार्ने खालको नाम ल्याउनुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेसका प्रदेश सभापति उद्वव थापाले पार्टीभित्र नामको बारेमा कुर्नै धारणा बनिनसकेको बताए । यो विषय सजिलो नभएकोले एकै पटक निचोडमा पुग्न नसकिने उनले बताए । ‘आजै निचोडमा पुग्न सकिन्न, सबैलाई समेटेर जानुपर्छ’, उनले भने, ‘जटिल र गम्भीर विषय भएकोले सुझबुधका साथ निर्णय लिनु पर्छ ।’ अब नेपाली कांग्रेसले पार्टीभित्र छलफल शुरू गर्ने र अन्य दलहरूलाई पनि छलफलमा राखेर अघि बढ्ने उनले बताए ।

नेकपा एसका प्रदेश अध्यक्ष बलदेव चौधरीले बहस र छलफल गरेर साझा नाम बनाउन उनले सुझाव दिए । जीतको आधार तय गरौँ । उनले भने, ‘सबैले हित हुने खालको नाम तय गरौँ ।’ मेची कोशी सगरमाथाभित्र रहेका भाषाभाषी र समुदाय र संस्कृति भनेको प्रदेशको सम्पत्ति भएको सुनाए ।

नेकपा माओवादीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले ४ वर्ष बितेर ७/८ महिना मात्र बाँकी रहँदा भएको छलफल ढिलागरी आएपनि सकारात्मक भएको बताए । नाम दिन सकिएन भने सरकार र संसद नै असफल हुने उनको तर्क छ । नेकपा माओवादीको प्रस्ताव पहिचानसँग जोडेर आएको बताए ।

जसपा प्रदेश उपाध्यक्ष राजकुमार यादवले पहिचानका आधारमा नाम ल्याउन बताए । उनले प्रदेश १ कको नाम किरात, लिम्बूवान, मधेश, सेर्पालुङ हुनुपर्ने जिकिर गरे । संघीय लिम्बुवान राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले प्रदेश १ को नाममा लिम्बूवान नै हुनुपर्ने बताए । उनले नामको विषय छलफल हुनु सकारात्मक भएकोले यसले सबैका भावना राख्ने मौका दिएको बताए । मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश १ को नाम यसै अधिवेशनबाट अघि बढाउने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *