कांग्रेस वाग्मती प्रदेशले एमसीसी सम्झौता जनतामाझ लग्ने

काठमाडाैँ । नेपाली कांग्रेस वाग्मती प्रदेशले एमसीसीलाई केन्द्रले उठाएको विषयवस्तु समावेश गरी बुझ्ने सरल र स्पष्ट भाषामा जनतासमक्ष लैजाने निर्णय गरेको छ ।

सिन्धुपाल्चोकको सुकुटेमा सोमबार सम्पन्न भएको कांग्रेस वाग्मती प्रदेशको दोस्रो पूर्ण बैठकले एमसीसीबारे विषयवस्तु तयार गरी, भ्रमलाई चिर्दै जिल्लामार्फत स्थानीय तहमा पठाइ जनतालाई बुझाउने निर्णय गरेको हो ।

त्यस्तै आसन्न स्थानीय तहको निर्वाचनमा अघिल्लो निर्वाचनमा भएको मतसङ्ख्यासहितको तथ्याङ्क सङ्कलन गरी आगामी दिनमा खेल्नुपर्ने भूमिकासहित प्रदेशले जिल्ला पार्टीमा १५ दिनभित्र पठाउने र जिल्लामार्फत स्थानीय तहमा पठाउने निर्णय गरेको सहमहामन्त्री हरिशरण श्रेष्ठले जानकारी दिए ।

बैठकले जगदिशनरसिं केसी, लामा कर्पु तामाङ, बलबहादुर दमाइँ, दीर्घमान श्रेष्ठ, दीपेन्द्र आचार्य, कल्पना खड्का र मसिना खड्का भण्डारीलाई कार्यसम्पादन समिति सदस्यमा मनोनित गरेको छ । बैठकले प्रदेश कार्यसमितिका पदाधिकारी, सदस्य र विभिन्न समिति र विभागका सदस्यको मासिक लेवीसमेत तोकेको छ भने कांग्रेस वाग्मती प्रदेश संसदीय दललाई प्रदेशसभा सदस्यबाट पार्टी केन्द्रमा बुझाउँदै आएको मासिक लेवी प्रदेश कार्यसमितिलाई बुझाउन पत्राचार गर्ने निर्णय भएको सहमहामन्त्री श्रेष्ठले जानकारी दिए ।

बैठकले प्रदेश कार्यालय हेटौँडा र सम्पर्क कार्यालय काठमाडौँमा नियमित सञ्चालन गर्ने, पार्टीको दैनिक राजनीतिक कार्यक्रम सुरु गर्ने, प्रदेश सदस्यको मर्यादाक्रम मिलाउन महामन्त्री कञ्चनचन्द्र बादे संयोजक र सहमहामन्त्री जीवन डङ्गोल एवम् ऋषिराम घिमिरेलाई सदस्य मनोनयन गर्ने निर्णय गरेको छ ।

कांग्रेस वाग्मती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षता तथा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा भएको बैठकमा प्रदेश पदाधिकारी, सदस्य, जिल्ला सभापतिले एमसीसी, स्थानीय तहको निर्वाचन र प्रदेश कार्यसमितिले आगामी दिनमा गर्नुपर्ने कार्यका बारेमा आ–आफ्नो धारणा राखेका थिए । -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *