सरकारले चाहे एमसीसी पास हुन्छ : महेश बस्नेत

धनगढी । नेकपा एमालेका युवा नेता एवम् पूर्वमन्त्री महेश बस्नेतले सरकारले चाहेमा एमसीसी पास गर्न सक्ने बताएका छन् । राष्ट्रिय युवा संघको कार्यक्रममा सहभागी हुन धनगढी पुगेका उनले मंगलबार धनगढीमा प्रेस चौतारीद्वारा आयोजित पत्रकार सम्मलनमा बोल्दै यस्तो धारणा राखेका हुन् ।

नेता बस्नेतले गठबन्धन सरकारसँग एमसीसी पास गर्ने बहुमत रहेको बताए । एमसीसी पास गर्ने बहुमत हुँदाहुँदै पनि सरकारले एमालेको साथ खोजेको बताए । यद्यपि एमालेले यसबारे आधिकारिक धारणा सार्वजनिक नगरेको बताए ।

एमसीसी र प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउने विषयमा माओवादी केन्द्र र एकीकृत समाजवादीले देखाएको दोहोरो चरित्रको विरोध गरे ।

उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल चार मुखे समेत भएको आरोप लगाए । मुलुकका निम्ति यो गठबन्धन आवश्यक नरहेको समेत नेता बस्नेतको भनाइ छ ।

साथै एमाले नेता डा. भीम रावलले पनि पार्टी पद्धति र दलीय व्यवस्थालाई स्वीकार गर्न नसकेको र हिरो बन्ने शैली अपनाएको भन्दै उनले पार्टीले रावललाई स्पष्टीकरण सोध्ने बताए ।

उनले सभामुखको कार्यशैलीको पनि विरोध गरे । एमालेले संसदमा अवरोध गरिरहेको बेला संसदीय दलको स्वीकृती बिना सभामुखले डा. रावललाई बोल्न दिएको आरोप लगाए । संसदीय पद्धति र बहुदलीय व्यवस्था भन्दा बाहिएर गएर सभामुखले आफूलाई गुरिल्ला प्रमाणित गराएको बताए ।

‘पार्टीले अब सभामुखसँग पनि यसको बारेमा एक्सन लिने छ, भीम रावलसँग पनि स्पष्टीकरण सोध्छ भन्ने लाग्छ’, उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *