इन्धनमा जनप्रतिनिधिकाे रजाइँ, ७ महिनामा १८ लाख खर्च

विराटनगर । मोरङको बुढिगंगा गाउँपालिकाले अढाई वर्षमा इन्धनमा मात्र ७१ लाख ९ हजार ६१६ रुपैयाँ खर्च गरेको छ । ३ वटा सवारी साधन रहेको यो पालिकाले इन्धनमा अढाइ बर्षमा मात्र ७१ लाख ९ हजार ६१६ रुपैयाँ खर्च गरेको हो । मकालुखबरको तर्फबाट माग गरिएको सूचनामा २०७६ साउन १ गतेदेखि २०७८ माघ २३ गतेसम्म यतिको रकम खर्च गरेको तथ्य बाहिर आएको हो ।

मकालुखबरले प्राप्त गरेको सूचना अनुसार २०७६ साउन १ गतेदेखि २०७७ असार ३१ गतेसम्म इन्धनमा १२ लाख २५ हजार रुपैयाँ खर्च गरिएको छ । सो समयमा कार्यालय प्रयोजनका लागि भन्दै १४ लाख ४७ हजार ११७ रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ। एकै वर्ष कार्यालय सञ्चालन शीर्षक र पदाधिकारीको लागि भन्दै फरक फरक शिर्षकमा २६ लाख ७२ हजार ११७ रुपैयाँ खर्च भएको कार्यालयको हिसाबमा देखिन्छ ।

२०७७ साउन १ गतेदेखि २०७८ असार ३१ गतेसम्म १२ लाख २५ हजार रुपैया पदाधिकारीको इन्धनमा खर्च गरेको उल्लेख गरिएको छ । यो समयमा कार्यालयको नाममा १३ लाख ८५ हजार ८३५ रुपैयाँ खर्च गरिएको छ ।

चालु आर्थिक वर्षको २०७८ साउन १ गतेदेखि माघ २३ गतेसम्म कार्यालय प्रयोजनको इन्धनमा ९ लाख १२ हजार ८ सय ३३ रुपैयाँ र पदाधिकारीको इन्धनमा ९ लाख १३ हजार ८ सय ३१ रुपैयाँ खर्च गरिएको छ ।

७ महिनामा १८ लाख खर्च
चालु आर्थिक वर्षमा गाउँपालिकाका अध्यक्षको आदेश र निर्देशनमा मनपरी इन्धन बाँडिएको छ । बाँडिएको इन्धन कार्यालय प्रयोजन र पदाधिकारीको इन्धन शीर्षकबाट खर्च भएको छ। २०७८ साउन १ गतेदेखि माघ २७ गतेसम्मको इन्धन खर्चको विवरण यस्तो छ ।पदाधिकारी शीर्षकको अधिकांश इन्धनमा अध्यक्षको आदेशले रकम भुक्तानी भएको देखिन्छ । पदाधिकारीले २०७८साउन १ गतेदेखि माघ २७ गतेसम्मको ७ महिनाको बिचमा मात्र ९ लाख १३ हजार ८ सय ३१ रुपैयाँको इन्धन खर्च गरेका छन् । पालिकाको कार्यालय प्रयोजनको लागि भनेर ९ लाख १२ हजार ८ सय ८८ रुपैयाँको इन्धन खर्च भएको छ । यो अवधिमा कार्यालय प्रयोजन र पदाधिकारीको इन्धन प्रयोजनलाई आधार मान्ने हो भने ७ महिनामा १८ लाख २६ हजार ७१९ रुपैयाँको इन्धनमा खर्च गरेको छ ।

यो बिचमा गाउँपालिका अध्यक्षको आदेशमा मात्र मितेरी ईन्टरप्राईजेजलाई इन्धनको नाममा २ पटक गरि ३ लाख ५४ हजार ५ सय ३६ रुपैयाँ भुक्तानी भएको देखिन्छ । अध्यक्षको लिखित र मौखिक दुबै आदेशमा इन्धनमा रकम खर्चेको गाउँपालिकाले जनाएको छ ।

बुढिगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द माझीले इन्धनमा कुनै गलत प्रयोजन नभएको बताए । कार्यालय प्रयोजन, पदाधिकारी र वार्डको इन्धनको खर्च हुने गरेको उनको भनाई छ । उनले कार्यालयमा रहेको तीनवटा सवारी साधन प्रयोग रहेकाले त्यसमा जनधन प्रयोग हुने गरेको बताए । ‘कार्यालय प्रयोजन, अनुगमन र बाहिर जाँदाको इन्धन प्रयोग बढी हुने गरेको छ, उनले भने, डंग्राहा, कोयलपुर र नेमुवा प्रहरीलाई इन्धन १०-२० लिटर इन्धन दिने गरिएको छ ।’ इन्धनको दुरुपयोग नगरेको तर चुनावको मुखमा आएर बदनाम गराउन खोजिएको उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *