तीन देशका विदेशमन्त्री यसै हप्ता युक्रेन जाने

रिगा । विभिन्न तीन देशका विदेश मन्त्रीहरूले यसै हप्ता युक्रेनको भ्रमण गर्नेभएका छन् ।
सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार इस्टोनीया, लाट्भीया र लिथुनियाका विदेश मन्त्री युक्रेन जान लागेका हुन् । युक्रेनलाई सहयोग र समर्थन गर्न ती देशका विदेश मन्त्रीहरू युक्रेन जान लागेका लाट्भीयाको विदेश मन्त्रालयले जनाएको छ । लाट्भीयाका विदेश मन्त्री एड्गार्स रिन्केभीस्कले पनि सामाजिक सञ्जाल ट्वीटरमार्फत आफुहरू युक्रेन भ्रमणमा जान लागेको पुष्टि गरेका छन् ।
उनले आफूसँगै लिथुनिया र इस्टोनियाका समकक्षी पनि सँगै जान लागेको उल्लेख गर्दै मित्र राष्ट्रहरूको दायित्वअनुसार आफूहरूले भ्रमण गर्न लागेको स्पष्ट पारे । उनीहरूले आगामी बुधबार वा बिहीबार सुरु भइ शुक्रबारसम्म युक्रेनको भ्रमण गर्ने अपेक्षा गरिएको समाचारमा जनाइएको छ । युक्रेनमाथि रुसले आक्रमण गर्न लागेको चर्चा चलिरहेका बेला उहाँहरूले युक्रेनको भ्रमण गर्न लागेका हुन् ।








