प्रियदर्शन : प्रेमको आदर्श अभिव्यक्ति

अक्सर लेखनमा कुनै न कुनैरूपमा प्रेमको चर्चा हुन्छ । पात्रको भावनाको रूपमा होस वा समाजिक प्राणीको जीवनको अंशको रूपमा नै किन नहोस् । अधिकांश लेखनमा प्रेमको विषयले केही न केही अंश समेट्छ । तर पुरै प्रेमको विषयमा लेखिएको किताब भने बिरलै हुन्छन् । यस्तै बिरलै हुने किताबमा पर्छ बालिका थपलियाको – प्रियदर्शन ।

प्रियदर्शनसँगको यात्रा गजबको रह्यो । गजब यो अर्थमा कि मेरो लागि परिस्थिति सुहाउँदो किताब बन्न गयो प्रियदर्शन । यसपालिको हिउँदको लामो समय काठमाडौँ बाहिरको यात्रामा बित्यो । उदयपुर, संखुवासभा, तेह्रथुम र धनकुटाका केही ठाउँमा गरेर महिना दिनभन्दा बढी समय बित्यो । यो बेला गहनपनि लाग्ने, अनि पढ्दा रमाइलोपनि लाग्ने पुस्तक चाहिएको थियो । जसले हरेक दिन थोरै थोरै पढेर मजा लिन सकियो । यसको लागि गजबको खुराक बन्यो प्रियदर्शन ।

प्रियदर्शन अरूका लागि पनि मीठो खुराक हुन सक्छ । विशेष गरेर माया, प्रेम के हो ? कसरी अरूप्रति सकरात्मक रोच र विचार निर्माण गर्न सकिन्छ ? त्यसले जीवनमा कसरी एउटा व्यक्ति विशेषलाई फाईदा गर्छ ? यी प्रश्नको उत्तर र प्रेमको वकालत गर्दै सकरात्मक सोच निर्माण गर्ने खुराक यो पुस्तकले दिन सक्छ ।

प्रेम एउटा अनुभुति मात्र होइन एउटा दृष्टिकोण पनि हो, एउटा सोच पनि हो । माया भावना अभिव्यक्ति गर्ने शब्दावली मात्र हैन । मानवता र महानताको विनिमय गराउने माध्यम पनि हो । निश्चय नै शब्दहरू शब्दकोशमा कुनै न कुनै अर्थ बोकेर बसेका हुन्छन् । माया, प्रेमले पनि शब्दकोशमा खास अर्थ बोकेका छन् । तर शब्द आफैँमा सम्झनाको स्राेत पनि हो । शब्द आफैँमा भावना र अनुभूतिको भण्डार पनि हो । माया, प्रेमका शब्द सम्झनाका मीठा घटनाहरू लिपिबद्ध गर्न प्रयोग गरिएको छ । यी शब्दले अनुभवका मीठा पलहरूलाई उजागर गरेको छ । अर्थात् प्रेम त्यो दृष्टिकोण पनि हो, जसले घटनालाई सुन्दर बनाउने सामर्थ्य राख्छ । कुनैपनि भेटलाई सकरात्मकरूपले व्याख्या गर्न सक्छ ।

मानिस सामाजिक प्राणी भएकाले समाजको एक सदस्य पनि हो । समाजको एक सदस्यको हिसाबले समाजको नियम, संस्कार पालना गर्नुपर्छ । एउटा स्वतन्त्र र स्वच्छन्द जीवन बाँच्न खोज्दा संस्कार बन्धन जस्तो लाग्न थाल्छ । तर त्यहि समाजभित्रको संस्कारगत यात्रा र घटनालाई प्रेमिल नजरले सुन्दर बनाउन पनि सकिन्छ । प्रिय दर्शनमा, चिनाजानी, विवाह र घर गृहस्थीलाई आफ्नो जीवन यात्राको रूपमा सुन्दर ढंगले व्याख्या गरेका छन् । तर यो यात्राको बयानभन्दा बढि त्यसप्रतिको दृष्टिकोणहरू महत्वपुर्ण छन् ।

जीवन यात्राका कुरा मात्र हैन । इतिहासमा भएका विभिन्न घटना, साहित्यमा उल्लेख भएका लोकप्रीय कथाहरू अनि प्रेमका बारेमा निर्माण भएका विभिन्न बिम्बको सिंहाबलोकन पनि छ प्रियदर्शनमा । कति प्रेमका कथाहरू दुखान्त मोडमा टुंगिएका हुन्छन् । अक्सर हामीले पढेका चर्चित प्रेम कथाको अन्त्य अत्यन्तै दुखद छन् । प्रेमका बिम्बहरू जो यथार्थभन्दा बढी आदर्श हुन सक्छन् । प्रेमका कथाहरू कल्पनामा मात्र बाँच्न सक्ने पनि हुन्छन् । यथार्थमा सामना गर्न जटिल पनि हुन सक्छ । तर प्रेम एउटा स्वार्थको साँगुरो ढोका होइन सोचको फराकिलो मैदान हो । तसर्थ, प्रेममार्फत विविध घटनामाथि सकारात्मक अभिव्यक्ति प्रियदर्शनले दिएको छ । प्रेमपथमा पनि दुःखका पहाडहरू खडा हुन्छन् । समस्याका तगारो लाग्छ । यस अर्थमा प्रेमको कुनैपनि कथा वा यात्रा सुरम्य हुदैन । यद्यपि हरेक माया, प्रेमको लक्ष्य जीवनलाई सार्थक बनाउन हुन्छ । सम्बन्धलाई दीगो र बलियो बनाउनमा केन्द्रित हुन्छ । यसको लागि प्रेम र प्रेमप्रतिको फराकिलो सोच हुनुपर्छ । त्याग र सर्मपणको भावना हुनुपर्छ । जीवनमा चुनौतीहरू आउँछन् । विछोडका पलहरू टुट्दैनन । तर मनमा माया भएपछि, विछोडलाई वियोगमा परिणत हुन दिँदैन । तसर्थ प्रेमले युक्त सकारात्मक सोच एक सफल र सुखी जीवन बाँच्नको लागि चाहिन्छ ।

प्रियदर्शन एउटा निबन्धपरक सानो किताब हो । यसले हरेक जीवनका हरेक पल र घटनालाई प्रेमल दृष्टिकोणबाट चिहाउन सिकाउँछ । कतिपयले प्रेमलाई अति आदर्शको रूपमा प्रस्तुत गरेको ठान्न सक्छन् । तर यो एक दृष्टिकोण हो, जो आफैँमा खराब हुँदैन । प्रियदर्शनको मुख्य तत्व नै प्रेम हो, प्रेमिल दृष्टिकोण हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *