संघीय सरकारकै कारण प्रदेश संरचनाप्रति गलत धारणा बन्यो : मुख्यमन्त्री भट्ट

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संविधान अनुसार प्रदेश सरकार अघि नबढ्दा प्रदेश सरकारप्रति जनताको धारणा नकारात्मक बन्दै गइरहेको बताएका छन् । ७२ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले शनिबार धनगढीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले संघीय सरकारप्रति यस्तो आरोप लगाएका हुन् ।

प्रदेश सरकार गठन भएको चार वर्ष भइसक्दा समेत संघीय सरकारले साझा अधिकारका कानून नबनाउँदा प्रदेशले काम गर्न नसकेपछि जनतामा गलत सन्देश गइरहेको उनले बताए  । ‘साझा कानून नबन्दा प्रदेश सरकारलाई केही काम गर्न असहज भइरहेको छ,’ उनले भने, ‘यसैलाई आधार मानेर प्रदेश सरकारको काम नै छैन भनेर जनतामा प्रदेश सरकारप्रति नकारात्मक धारणा बनेको छ । यसमा संघीय सरकार जिम्मेवार छ ।’

‘प्रहरी समायोजन अहिलेसम्म हुन सकेको छैन,’ उनले भने ‘संघीय निजामती ऐन नआएको कारणले हामीले कर्मचारी पनि भर्ना गर्न सकेका छैनौँ ।’ कयौँ साझा अधिकारका विषयहरू संघीय कानून नबनेका कारण अगाडि बढ्न नसकेको बताए । ‘एकात्मक सोचको अन्त्य नगरीकन हामीले आम नागरिकलाई सेवा र सुविधा दिन सक्दैनौँ,’ उनले भने, ‘अहिलेसम्म एकल अधिकारकै भरमा सरकार चलाउनुपर्ने अवस्था छ । साझा अधिकारलाई प्रयोग गर्ने वातावरण बनाउन संघीय सरकारले ध्यान दिनुपर्छ ।’

साथै उनले प्रदेश सरकारका मन्त्रालय कार्यरत कर्मचारी पनि मनलाग्दो तरिकाले सरूवा हुने गरेकोप्रति पनि उनले आक्रोश पोखे । ‘प्रदेश सरकारका मन्त्रालयमा सचिवलगायतका कर्मचारी कतिखेर सरुवा भएर जान्छन् हामीलाई थाहा नै हुँदैन,’ उनले भने, ‘संघीय सरकार जे चाह्यो त्यही गरिरहेको छ, यसले गर्दा संघीयता झन् कमजोर हुँदै गइरहेको छ ।’

संघीयताको कार्यकाल पूरा नहुँदै यसको आयुबारे समीक्षा शुरू संघीयताप्रति नै जनविश्वास कम हुनु रहेको मुख्यमन्त्री भट्टको भनाई छ । संघीयताका पछाडिका कारणहरूलाई मध्यनजर गरेर यसलाई लागु गर्नु नै सबैभन्दा उचित हुने बताए । ‘नेपालको संविधान र व्यवस्था उत्कृष्ट छ,’ उनले भने, ‘यदि यसलाई सफल रूपमा कार्यान्वयन गर्न सकिएन भने जनता अर्को व्यवस्था रोज्नतिर लाग्छन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *