सत्तारूढ गठबन्धन तोडे अर्को गठबन्धन बन्ने भयमा देउवा

गठबन्धनभन्दा एमसीसी नै रोज्नुपर्नेमा कांग्रेसमा एकमत

काठमाडौँ । अमेरिकी परियोजना एमसीसीका विषयमा राष्ट्रिय राजनीतिको कचिङ्गल झन बढ्दो छ । अब कुनै न कुनै रूपमा निकास पाउला कि भन्ने समय अझ लम्बिँदै छ । सत्तारूढ दलहरूभित्र एमसीसीलाई हेर्ने दृष्टिकोण नमिल्दा सत्ता गठबन्धन नै धरापमा परेको छ ।

खासगरि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको असहमतिका कारण प्रधान मन्त्री देउवा पनि चेपुवामा परेका छन् । एमसीसी पारित गर्ने प्रतिवद्धतासहितको पत्र पठाएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेकै अवस्थामा पारित गर्न नसकिने भनेर कोल्टे फेरेपछि प्रधान मन्त्री देउवा सशंकित र आक्रोशित भएका छन् ।

एक दशकयता चर्चामा आउँदै सेलाउँदै गरेको एमसीसीले अहिले सत्ता गठबन्धन नै चर्काइदएिको छ, फुटिहाल्न मात्रै बाँकी छ ।
केपी शर्मा ओलीको बहिर्गमनपछि मिलेर सत्ताको खुड्किलो चढेका पाँच दल अहिले आ–आफ्नै बाटो हुँदै सत्ताबाट ओर्लिन तयार रहेको बताउन थालेका छन्, उही एमसीसीकै कारण ।

एमसीसी भिरको चिन्डो जस्तो अवस्थामा अल्झिएको छ— न माथि तान्न मिल्छ न फाल्न नै सकिहालिन्छ । यसलाई पार लगाउने जिम्मा प्रधान मन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको छ । सत्तारूढ गठबन्धनले यस विषयमा धारणा बदलेपछि देउवा यसलाई पारित गरिछाड्ने तयारीमा देखिन्छन् । तर यसका लागि कांग्रेससँग मात्र बहुमत पुग्दैन । यसका लागि कि सत्तारूढ दलहरूले कि त एमालेले समर्थन गर्नुपर्ने हुन्छ ।

एमसीसी जत्तिसक्दो चाँडै संसद्को विषय बनोस् भन्ने चाहना राख्ने प्रधान मन्त्री देउवाले तत्कालै कुनै कदम चालिहाल्नु अघि थप छलफल गरिरहेका छन् । यसै क्रममा उनी विहीबार साँझ पूर्व प्रधान मन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोटमा सपत्नी पुगे । एमसीसीबारे एकतर्फी रूपमा अघि बढे एकातिर बहुमत पुग्दैन भने अर्कातिर पुनः बाम दलको एकताका कारणले पनि उनलाई थप सशंकित बनाएको छ ।

विगतका राजनीतिक परिस्थिति र वर्तमान अवस्थासँग उनी शंसकित छन् । उनी एकातिर सरकार संकटमा पर्नसक्ने डरमा छन् भने अर्कातिर एमाले–माओवादी नेकपा एसलगायतबीच पुनःएकता हुनसक्ने अवस्थाको संशयमा पनि छन् । यही कारण एमसीसी संसद्मा टेबुल गर्ने आफ्नै मिति पनि दुई/दुईपटक सारिसकेका छन् ।

गठबन्धनमा रहेका खासगरी दुई दलहरू माओवादी केन्द्र र एकीकृत समाजवादीलाई जुनसुकै विकल्प दिएर भएपनि मनाउने र संसद्को अवरोध हटाएर एमालेको पनि स्वामित्व हुनेगरी एमसीसी पारित हुनुपर्छ भन्ने मान्यता प्रधान मन्त्री देउवा राख्छन् । भलै, प्रधान मन्त्री देउवाले माओवादी र एकीकृत समाजवादीलाई ‘मान्दैनौ भने जे पनि हुनसक्छ’ भन्ने सन्देश बालकोटसम्म गएर दिइसकेका छन् । आफ्नै निवास आएका प्रधान मन्त्री देउवालाई ओलीले पनि ‘गठबन्धन तोडेर आउनूस्’ भनेका छन् । देउवा सकेसम्म गठबन्धन तोडिहाल्ने मनसायमा छैनन् । किनपनि भने यताको गठबन्धन तोडे पुनः एमाले–माओवादी मिलेर ०७४ को जस्तै चुनावी नतिजा निस्कन्छ भन्नेमा उनी सचेत छन् ।

तर, एमसीसी पारित गर्ने कि गठबन्धन जोगाइराख्ने भन्ने विकल्पमा देउवा एमसीसीकै पक्षमा लाग्ने उनी निकट नेताहरू बताउँछन् । यसका लागि उनलाई पार्टी भित्रबाट पनि दरिलो साथ छ । यो विषयमा कांग्रेसभित्र मतैक्य देखिन्छ । देउवा इतर पक्षले पनि एमसीसी पारित गर्नुपर्नेमा सहमति जनाएको छ । महामन्त्री गगन थापाले माओावादीले एमसीसीमा कांग्रेसलाई धोका दिएको भन्दै एमसीसी पारित नभए गठबन्धन तोडिने बताएका छन् । ‘अब बसेर, उठेर, ढल्किएर जसरी संवाद गरे पनि गठबन्धनमा सहमति नजुट्ने’ उनको निष्कर्ष छ ।

नेता सशांक कोइरालाले पनि कांग्रेसलाई अब एमसीसी रोज्ने कि गठबन्धन भन्ने छनोट गर्ने अवस्थामा आएको बताएका छन् । उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेल, गठबन्धन निर्माणमा ठूलो योगदान गरेका कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, वरिष्ठ नेता कृष्णप्रसाद सिटौलालगायतका नेताहरू वर्तमान गठबन्धन जोगाउनुपर्छ भन्ने पक्षमा छन् । तर एमसीसीमा कुरा नमिले एमसीसी अस्विकृत गरेर पनि गठबन्धन जोगाउनुपर्छ भन्ने पक्षमा भने उनीहरू छैनन् ।

कांग्रेसभित्र एमसीसी संसदमा पेश गर्ने र त्यहीँबाट छिनोफानो गर्ने विषयमा नेताहरूबीच मतो मिलेको छ । तर एमालेको संसद् गतिरोध हटाउनुपर्ने अर्को चुनौती छ । संसद्को अवरोध हटाउनका लागि एमालेको ‘बटमलाइन’ एकीकृत समाजवादीका १४ जना सांसदलाई कारबाही गर्नुपर्ने छ । यो अहिल्यै सम्भव हुने कुरा होइन । त्यसो हुँदा एमालेलाई मनाएरै प्रधान मन्त्री देउवा अघि बढ्न खोजेको उनीनिकट एक नेता बताउँछन् । ‘उहाँ (देउवा) नाराबाजीकै बीच पारित गराउनेतिर पनि जानुहुन्न, जानु हुँदैन पनि । यसो हुँदा एमसीसीमा कुनै भूमिका नभएको भनेर एमाले र विपक्षमा रहेको भनेर माओवादीले यसलाई चुनावी एजेन्डा बनाउन सक्छन् । एमाले प्रक्रियामा सहभागी भैसकेपछि माओवादी अध्यक्ष प्रचण्ड एमालेसँग नजिकिने सम्भावना कम हुन्छ ।’ उनले मकालुखबरसँग भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *