एमसीसी टेबल गर्ने तयारी, काठमाडौँ ‘हाइ अलर्ट’मा

काठमाडौँँ। अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी आज संसदमा टेबल गर्ने तयारी भइरहँदा काठमाडौँको सुरक्षा व्यवस्था कडा पारिएको छ । एमसीसी विरोधी गतिविधि हुन सक्ने भन्दै सुरक्षा व्यवस्था कडा पारिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीले मकालुखबरलाई जानकारी दिए ।

उनले भने, ‘अहिलेसम्म अवस्था शान्तिपूर्ण छ । एक जना पनि पक्राउ परेको छैन । तर हामी सम्भावित सुरक्षा खतराबारे अलर्ट छौँ । प्रहरी परिचालित भएको छ । गस्ती बढाएका छौँ ।’

यस्तै आज हुने कुनै प्रदर्शन वा अन्य कार्यक्रमहरूको औपचारिक जानकारी प्राप्त नभएको उनले बताए । आज बिहान कलंकीमा भेटिएको शंकास्पद वस्तु नुनको पोका र खाली कुकर रहेको भन्दै उनले यस्ता प्रकारका भ्रममा परेर त्रसित नहुन पनि आग्रह गरेका छन् ।

एमसीसी संसदमा टेबल गर्ने नगर्नेबारे अहिले केही बेरमा सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच छलफल हुँदैछ । । बिहीबारको बैठकमा सहभागी नेताहरू आफ्नो पूर्ववत् अडानबाट टसमस नभएपछि निष्कर्ष ननिस्किएको हो ।

बैठकमा प्रधान मन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी संसद्‌मा टेबल गरेरै संसदीय प्रक्रियाबाट टुङ्गो लगाउनुपर्नेमा जोड दिएका थिए । जवाफमा नेकपा (माओवादी केन्द्र)का नेताहरूले पहिले संसद् विनाअवरोध सञ्चालन हुनुपर्ने अडान राखेका थिए ।

आजको बैठक अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्‌मा टेबल गर्ने/नगर्ने विषयमा निर्णायक हुनेछ । त्योसँगै गठबन्धनको भविष्य पनि तय हुने भएकाले आजको बैठक ‘निर्णायक’ मानिएको छ ।

यसैबीच प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक पनि आज बस्दैछ । बैठक बिहान साढे ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा बस्ने भएको हो । समितिको बैठकले प्रतिनिधि सभा बैठकको कार्यसूची निर्धारण गर्नेछ । बैठकमा सभामुखसहित संसद्‌मा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक, सचेतकलगायत सहभागी हुन्छन् ।

आजै दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । आजको संसदमा एमसीसी सम्झौता टेबल हुने बुझिएको छ । यसबारे सरकारले तीव्र पहल गरिरहेको छ । यता सत्ता गठबन्धनमा एमसीसीलाई लिएर खटपट चलिरहेका बेला प्रधा नमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग संवाद बढाएका छन् ।

बिहीबार दिउँसो आफू निकट पार्टीका नेताहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवादका लागि बालकोट पठाएका प्रधान मन्त्री देउवाले राति नै आफूले समेत भेटवार्ता गरेका छन् ।  सरकारमा रहँदा एमसीसीका पक्षधर मानिएका अध्यक्ष ओलीसँग सहकार्य गरी संसदबाट एमसीसी पास गर्ने दाउमा प्रधान मन्त्री देउवा देखिन्छन् । यद्यपि हिजोको भेटवार्तामा के के विषयमा कुुराकानी भयो भन्नेबारे खुलाइएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *